८ वैशाख २०८१ शनिबार
खेल

विद्रोहीको दोस्रो इनिङ: सशंकित अफगानी खेलक्षेत्र

‘म निदाउनै सकिनँ, रातभर रोइरहें। असहायजस्तो महसुस भयो।’ अफगानिस्तान राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वकप्तान खालिदा पोपलको भावपूर्ण अभिव्यक्ति हो यो। २० वर्षपश्चात् देशको सत्तामा फर्किएको विद्रोही समूह तालिवानको शासनपछि अफगानिस्तानका खेलक्षेत्रमा यस्तै आशंका र चिन्ता गुन्जिरहेका छन्। खालिदाले भनेजस्तै अफगानिस्तानको अवस्था अहिले त्रासपूर्ण र दयनीय छ। खेलक्षेत्रमा पनि त्यसको ठूलो असर देखिन थालेको छ। त्योभन्दा ठूलो प्रश्न एसियामा उदाउँदो उनीहरूको खेलक्षेत्रले फेरि पनि पतनकै बाटो समात्ने त होइन ? 

पछिल्ला समय अफगानिस्तानमा बिस्तारै महिला अधिकारका विषयमा केही सुधार भएका छन्। त्यसैले गर्दा महिलाले पनि खेल्ने वातावरण सिर्जना हुँदै थियो। तर, प्रगतिपथमा बादल मडारिएको आभास भइरहेको छ। अफगानिस्तानको पुरुष टोलीले त क्रिकेट, फुटबल र तेक्वान्दोमा धेरै नै प्रगति गरिसकेको छ। तेक्वान्दोबाट ओलम्पिकमा दुईवटा कांस्य पदक नै जितिसकेको छ। फुटबलमा पुरुष टोली दक्षिण एसियाली च्याम्पियनसिप (साफ) मा सन् २०१३ को च्याम्पियन नै हो।

त्यतिबेला भारतजस्तो फुटबलमा अनगिन्ती पैसा खर्चिएको बलियो टोलीलाई नै हराएर अफगानिस्तानले त्यो सफलता पाएको थियो। फुटबलमा आफ्नो प्रदर्शनको सुधार देखेरै अफगानिस्तानले पछि सेन्ट्रेल एसियाबाट खेल्न थाल्यो। क्रिकेटमा त झन् उसले चमत्कार नै  गर्‍यो। क्रिकेटको महारथी भारतलाई हम्मेहम्मे नै पारेको उदाहरण पनि छ। विश्वकप विजेता वेस्ट इन्डिजलाई त विश्वकपमा नै हरायो। सन् २००१ मा मात्र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट आबद्धता पाएको अफगानिस्तान त्यसपछि २० वर्षमा विश्वकप नै खेल्न सफल भयो। 

सन् २०१६ को ट्वान्टी–२० र सन् २०१५ को एकदिवसीय विश्वकपमा अफगानिस्तानले राम्रै प्रदर्शन पनि देखाएको थियो। सबैभन्दा रोचक सन् २०१६ कै ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानले समूहचरणमा वेस्ट इन्डिजलाई हराएर क्रिकेटमै आशाको नयाँ रेखा कोरेको थियो। त्यही विश्वकपमा नै हो वेस्ट इन्डिज च्याम्पियन बनेको। अफगानिस्तान सन् २०१७ देखि आइसिसीको पूर्ण सदस्य राष्ट्र बन्न सफल भएको छ। जहाँ उसले टेस्ट मान्यता पाइसकेको छ। अफगानिस्तान क्रिकेटका रासिद खान र मोहम्मद नाबी अहिले विश्वका फ्रेन्चाइज क्रिकेटमा सबैभन्दा सफल क्रिकेटरका रूपमा परिचित छन्।

तेक्वान्दोबाट अफगानिस्तानका रोहुल्लाह निकपाईले सन् २००८ को बेइजिङ र ०१२ को लन्डन ओलम्पिकमा लगातार कांस्य पदक जिते। कयौं राष्ट्रले खेलक्षेत्रमा अर्बौं लगानी गरेर पनि त्यो सफलता पाउन सकिरहेका छैनन्। तर, अफगानिस्तानको खेलक्षेत्रले देशभित्रको अशान्ति, विद्रोह, हिंसा र हत्यालाई जितेर विश्व खेलकुदका कयौं मैदानमा ऐतिहासिक जित रच्यो। कयौं राष्ट्रले सहानूभूतिस्वरूप उनीहरूको खेलकुद विकासमा सहयोग पनि गरे। अफगानीको मिहिनेत पनि उस्तै थियो। तर, अहिले खेलकुदमा विकासको नयाँ रेखा कोरेको अफगानिस्तानमा अँध्यारो छाउने अवस्था सिर्जना भएको छ। कयौं खेलाडीहरू त्रसित छन्। यसैबीच अफगानिस्तानको खेलकुद संघले १७ वर्षे फुटबलर जाकी अनवारीको जहाजबाट खसेर मृत्यु भएको बिहीबार फेसबुकमार्फत सार्वजनिक गरेपछि अफगानी खेलकुदमा अर्को तरंग सिर्जना भएको छ। गत सोमबार अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको कार्गो जहाजबाट झरेर मृत्यु हुनेमा एक किशोर फुटबलर अनवारी रहेको पुष्टि गरेपछि देशको शासनसत्ता परिवर्तनका क्रममा त्यहाँको खेलक्षेत्रले क्षति बेहोर्नुपरेको छ।

काबुलको एक गरिब परिवारका अनवारीको राष्ट्रिय फुटबलर बन्ने सपना थियो। उनी निकै मिहिनेती थिए। उनले पढाइसँगै फुटबल करियरलाई पनि अघि बढाइरहेका थिए। राष्ट्रिय युवा फुटबल टोलीमा उनी १० नम्बरको जर्सी लगाउँथे। तर, अब उनको भौतिक शरीरसँगै सपना पनि अस्ताएको छ। सन् १९९६ देखि २००१ मा शासन गर्दा तालिवानले महिलालाई शिक्षा लिनबाट निषेध गरेका थिए। पुरुष नातेदारबिना महिला घरबाट समेत बाहिर निस्कन पाउँदैनथे। अहिले तालिवानले महिला अधिकारको सम्मान गर्ने बताइरहेका छन्। तर, खेल संघहरू ढुक्क छैनन्। न त खेलाडी नै विश्वस्त छन्। महिला खेलाडीहरू त झन् निकै सशंकित देखिएका छन्। यसैबीच अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले महिला राष्ट्रिय क्रिकेट टिम निर्माण अभियान रोकिने संकेत गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को स्थायी सदस्यको महिला टिम हुनै पर्ने प्रावधान छ। सोही नियमअनुसार अफगानिस्तानले पनि महिला टोली निर्माण गरिरहेको र हाल २५ महिला क्रिकेटरसँग केन्द्रीय सम्झौता गरिएको थियो। अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले अब महिला क्रिकेट टोली निर्माण प्रक्रिया अन्योलपूर्ण रहेको संकेत गरिरहेको छ। त्यो अन्योलपूर्ण अवस्था टोकियोमा हुने पारा ओलम्पिकमाको तयारी गरिरहेका दुई अफगानी पारा खेलाडीमा पनि परेको छ। यसअघि टोकियोमा खेल्ने पक्का भएकी पारा तोक्वान्दो खेलाडी जाकिया खुददादीले सहयोग गर्न अपिल गरिरहेकी छिन्। काबुलबाट एउटा भिडिओ सार्वजनिक गर्दै उनले सो अपिल गरेकी हुन्। स्थानीय भाषामा रहेको उक्त भिडिओ सामाचार संस्था रोयटर्सले अंग्रेजीमा अनुवाद गरेको छ। ‘म अहिले एउटा घरभित्र कैद छु। घरबाहिर आत्मविश्वासका साथ जान सक्दिनँ,’ उनले भनेकी छन्। अफगानिस्तानले आगामी अक्टोवरमा संयुक्त अरब इमिरेट्स (युएई) मा हुने ट्वान्टी–२० विश्वकप खेल्दै छ। तर, उक्त विश्वकपमा उसको सहभागी हुनेमा  अझै पनि अन्योल छ। त्यो विश्वकप गुमाए अफगानिस्तान क्रिकेटले ठूलो क्षतिमा नै बेहोर्नुपर्नेछ। तथापि, समय अझै   बाँकी रहेकाले बोर्डले आशा भने देखाइरहेको छ।

बिहीबार नै तालिवानका लडाकूहरू देशका ६ वटा प्रमुख क्रिकेट स्टेडियममा पुगेर अवलोकन गरे। अफगानिस्तानकै अन्तर्राष्ट्रिय पूर्वक्रिकेटर अब्दुल्लाह मजारीले तालिवानलाई क्रिकेट बोर्डमा लिएर गएका थिए। त्यसलगत्तै बोर्डका सिइओ हामिनद सिनवारीले तालिवानीहरू क्रिकेटलाई प्रेम गर्छन् भन्दै ट्विट गर्दै विश्वकप यात्रा जारी रहने संकेत गरेर आशाको किरण जगाएका छन्। तर, बिहीबार नै अफगानिस्तानको स्वतन्त्रता दिवसको अवसरमा अफगानी क्रिकेटर रासिद खानले देशवासीलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै देशमा शान्ति कायम राख्न र सबै मिलेर देश विकासमा सहयोग गर्न आह्वान गरेका छन्। तर पनि विद्रोही समूहको शासनपछि अहिले अफगानिस्तानको खेलक्षेत्र कस्तो हुने हो भन्ने सर्वत्र चासोको विषय बनिरहेको छ। साथै अनगिन्ती चिन्ता पनि। यसैबीच अफगानी महिला फुटबल टोलीकी पूर्वकप्तान खालिदा पोप फुटबल विकासमा बाधा पुग्ने र महिलाहरूका अधिकार खोसिन सक्नेबारे सशंकित देखिएकी छन्। उनले आफ्नो ज्यानको रक्षा गर्न सबै महिला खेलाडीलाई सामग्री जलाइदिन र सामाजिक सन्जालमा रहेका आफ्ना तस्विर डिलिट गर्न आग्रह गरेकी छन्।

तालिवानले पहिलेको शासन कालमा कयौं महिलालाई हत्या, बलात्कार गरेको र उनीहरूमाथि ढुंगा बर्साउने गरेको उनको आरोप छ। अफगानी महिला फुटबल लिगकी संस्थापक खालिदा अहिले डेनमार्क बस्छिन्। अफगानको महिला फुटबललाई एउटा उचाइमा लाने उनको लक्ष्य छ। तर, देशमा विद्रोही समूहको शासनपछि महिलामाथि तालिवानको व्यवहार कस्तो हुनेछ भन्ने चिन्ता उनमा छ। अन्य खेलाडीहरू पनि डराएर सन्देश पठाउने गरेको अनुभव उनले भोगिरहेकी छन्। ‘अफगानिस्तानमा रहेका महिला खेलाडीहरूले दुःखी हुँदै मलाई म्यासेज पठाइरहेका छन्। हामी फेरि घरमै थन्किनेछौं र निषेधित हुनेछौं भन्दै उनीहरू डराइरहेका छन्,’ ३४ वर्षीया खालिदाले भनिन्, ‘हाम्रा सबै सपनाहरू गए, जुन खराब थिए।’

अफगानिस्तानका खेलाडीले भिडियो सन्देशमार्फत सास फेर्न नै गाह्रो हुने र निकै त्रासपूर्ण वातावरण सिर्जना भइरहेको पठाउने गरेको खालिदाको भनाइ छ। ‘उनीहरू मैले अब सास फेर्न नै पाउँदिनँ र निकै डर लागिरहेको छ भन्छन्। उनीहरूले आफूलाई असुरक्षित महसुस गरिरहेका छन्। आफ्नो भविष्य अन्योल देखेको सुनाउँछन्,’ खालिदाले भनिन्, ‘तर, वास्तवमा त्यहीं बसेका मेरो साथीलाई कति गाह्रो भइरहेको होला ? अब सबै सकियो भन्ने लागेको छ।’ उनले आफ्ना पूर्वखेलाडी र वर्तमान टोलीका सदस्यको पहिचान नहोस् भनेर राष्ट्रिय टोलीको ट्विटर एकाउन्ट नै बन्द गरिदिइन्। साथै सबै खेलाडीलाई सामाजिक सन्जालका एकाउन्ट बन्द गर्न पनि उनले सुझाइसकिन्। ‘हामी महिलालाई प्रोत्साहित गरिरहेका छौं। युवतीहरूलाई खडा हुन र दरिलो बन्न आग्रह गरिरहेका छौं। तर, अहिले म  आफैं उनीहरूलाई सामाजिक सन्जालबाट उनीहरूको फोटो हटाउन लागिपरेको छु। उनीहरूको आवाज रोक्ने प्रयास गरिरहेको छु। यसले मलाई निकै दुखित बनाएको छ,’ खालिदाले थपिन्, ‘उनीहरू महिला अधिकारका लागि लड्ने गर्थे। तर, अहिले उनीहरू नै खतरामा छन्।’ सन् २०११ मा अफगानिस्तान छोडेर उनी डेनमार्कमा नै बस्छिन् । देशभित्र आफूलाई असुरक्षित महसुस गर्दै उनी त्यहाँ बसेकी हुन्। अमेरिकी र बेलायती सेना त्यहाँ बस्दा कयौं महिलाहरूले आफूलाई सुरक्षित महसुस गरेको खालिदाको भनाइ छ। किनकी सन् १९६६–२००१ सम्मको शासन कालमा तालिवानले महिलालाई पढ्न वञ्चित गरेको थियो। 

खेलमैदानमा त परै जाओस् हिँड्नमा समेत पुरुष नातेदारबिना रोक लगाइएको थियो। अनुहार पूर्णरूपमा बुर्कामा ढाकिएको हुनुुपर्ने उनीहरूको कडा नियम थियो। उनी अफगानिस्तानको पहिलो महिला फुटबल टोलीकी सदस्य हुन्। तर, अब अफगानिस्तानको खेल गतिविधिमा महिलाको सहभागिता बन्द हुने चिन्ता उनमा छ। त्यसका लागि देशभित्र कसैले पनि तालिवानसामु आवाज उठाउने साहस नगर्ने उनी बताउँछिन्। खालिदाले भनेजस्तै अब फेरि अफगानिस्तानको खेलकुदमा महिलाको सहभागितामा रोक लाग्ला ?

उनीहरू फेरि चार कुनामै नै सीमित हुन्छन् त ? विश्व खेलक्षेत्रमा स्थापित हुँदै गरेको अफगानिस्तानको खेलकुद पुनः अँध्यारोमै धकेलिन्छ त ? क्रिकेटर, फुटबलर र अन्य कयौं अफगानी खेलाडीले भनेजस्तै विश्वकप यात्रा, ओलम्पिकमा पदक र अप्रत्याशित सफलता पाएको अफगानिस्तानको खेलकुद अधोगतितिर पुग्ने संकेत देखिएकै हो त ? प्रश्नहरू कयौं सिर्जना भइरहेका छन्। २० वर्षपछि तालिवानको सोच, विचार, धर्म, संस्कार र कुरीति फेरिएका होलान् त ? यसको जबाफ भने स्वयम् विद्रोही तालिवानले नै सत्ताको आफ्नो दोस्रो इनिङमा दिनेछन्।

प्रकाशित: ५ भाद्र २०७८ ०४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App