भारतले विश्वकप ट्वान्टी–२० को आफ्नो पहिलो खेलमा चिर परिचित प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ। अक्टोवर २३ मा हुने उद्घाटन खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिका र वेस्ट इन्डिजले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गरेको भोलिपल्ट नै दुई कट्टर प्रतिद्वन्द्वी आमनेसामने हुन लागेका हुन्। भारत र पाकिस्तानले समूह ‘टु’ को पहिलो खेलमा नै प्रतिस्पर्धा गर्नेछन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मंगलबार विश्वकप ट्वान्टी–२० को खेलतालिका सार्वजनिक गरेको हो। कोभिड–१९ को महामारीका कारण भारतमा हुने विश्वकप संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा सारिएको थियो। सन् २०१४ को विश्वकप च्याम्पियन श्रीलंकाले भने पहिलो चरण पार गर्नुपर्नेछ।
दुई समूहमा रहेको पहिलो चरणबाट चार टोलीले सुपर १२ मा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्। श्रीलंका समूह ‘ए’ मा छ भने बंगलादेशले समूह ‘बी’ बाट सुपर १२ को लागि चुनौती प्रस्तुत गर्नेछ। पहिलो चरणमा प्रत्येक दिन दुई खेल हुनेछन् र जुन ओमान, आबुधाबी र सारजहाँमा सञ्चालन हुनेछन्। समूहको शीर्ष दुई स्थानमा रहने टोलीले आयोजक भारत र अन्य सात टोलीसँगको सुपर १२ मा प्रतिस्पर्धा गर्न पाउनेछन्। पहिलो चरणको खेल अक्टोबर १७ देखि २२ सम्म हुनेछ। सुपर १२ का खेल भने अक्टोबर २३ देखि ८ सम्म तय छ। सुपर १२ बाट समूहका शीर्ष दुई राष्ट्रलेसेमिफाइनलमा स्थान बनाउनेछन्।
सेमिफाइनलका खेल आबुधाबीमा नोभेम्बर १० र दुबईमा नोभेम्बर ११ मा हुनेछन्। नोभेम्बर १४ मा भने यस संस्करणको ट्वान्टी–२० विश्वकपले नयाँ विजेता पाउनेछ। समूह ‘वान’ मा डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजसहित अस्ट्रेलिया, सन् २०१० को च्याम्पियन इङ्ल्यान्ड र दक्षिण अफ्रिका छन्। अर्को समूहमा भने भारत र पाकिस्तानसँगै न्युजिल्यान्ड र अफगानिस्तानले शीर्ष दुईका लागि प्रतिस्पर्धा गर्नेछन्। वेस्ट इन्डिजका कप्तान कायरन पोलार्डले एक वर्ष ढिला गरी आयोजना भएको विश्वकपको उपाधि रक्षा गर्न तयार रहेको बताए। ‘हामी सबै यो क्षणको पर्खाइमा छौं,’ उनले भने, ‘वेस्ट इन्डिजका क्रिकेटर पनि क्रिकेटकै ब्रान्ड ट्वान्टी–२० विश्वकप खेल्न आतुर छन्।’
पोलार्डले समग्र विश्व नै ट्वान्टी–२० विश्वकपको व्यग्र प्रतीक्षामा रहेको विश्वास व्यक्त गरे। ‘क्यारेबियन समर्थक र समग्र विश्व नै यो खेलको प्रतीक्षामा छन् भन्नेमा विश्वस्त छु,’ पोलार्डले भने। पछिल्ला समय विराट कोहली नेतृत्वको भारत लगातार प्रतियोगिता खेल्नमा व्यस्त छ। हाल भारत इङ्ल्यान्डमा टेस्ट शृंखला खेलिरहेको छ। त्यसपछि सबै जसो भारतीय क्रिकेटर बाँकी रहेको इन्डियन प्रिमियर लिग (आइपिएल) को बाँकी सिजनका लागि युएई फर्कनेछन्। आइपिएल पनि युएईमा नै अर्को महिनादेखि सुरु हुँदै छ। भारतमा कोरोना महामारी फैलिएपछि गत मेमा आइपिएल स्थगित भएको थियो।
प्रकाशित: २ भाद्र २०७८ ०१:३८ बुधबार