५ वैशाख २०८१ बुधबार
खेल

मनको क्रिजमा ‘नटआउट’ पारस

‘जति समय नेपाली क्रिकेटलाई दिनुभयो त्यसले नेपाली क्रिकेटको उचाइ बढाएको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट मंगलबार सन्यासको घोषणा गरेलगत्तै विक्रम बराल नाम गरेका समर्थकले प्रतिक्रिया जनाए,‘टिममा रहँदा तपाईले हामीलाई दिएको खुसी सधैं मनमा रहने छ।’  

बरालजस्तै थुप्रै नेपाली फ्यानले खड्काको अप्रत्यासित सन्यासबारे आआफ्नो प्रतिक्रिया जनाएका छन्। कसैले यो निर्णय चाँडो भयो। बदल्नुस् भनेका छन् त कसैले आगामी दिनका लागि शुभकामना व्यक्त गरेका छ्न्। पारसको सन्यासको निर्णयसंगै उनका प्रशंसकहरू सामाजिक सन्जालमा तरंगित  भएका छन्।  

नहुन पनि किन? डेढ दशकभन्दा बढी समय क्रिकेटसँग साइनो गाँसेका ‘पारस’ले नेपाली क्रिकेटलाई  सुनौला अवस्थामा लाउन  महत्वपूर्ण भूमिका खेलेका छन्। उनको कप्तानीको समयमा नेपाली क्रिकेटले सफलताका धेरै छक्का प्रहार गरेको छ। उनकै कप्तानीमा  सन्  २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप पनि खेल्ने मौका पाएको नेपालले २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता नेपालले पायो। ‘अन्तर्राष्ट्रिय खेलमा नेपालको झण्डा उँचो पार्ने काममा उनको ठूलो भूमिका रह्यो,’ हरि भण्डारीले प्रतिक्रिया जनाएका छन्, ‘उनको उचाइ कहिल्यै घट्ने छैन।’  

डेढ दशकभन्दा बढी समय क्रिकेटसँग साइनो गाँसेका  ‘पारस’ले नेपाली क्रिकेटलाई सुनौलो अवस्थामा लाउन महत्वपूर्ण भूमिका खेलेका छन्। त्यसैले सन्यासपछि पनि क्रिकेटका यी ‘मणि’  नेपाली मनको क्रिजमा सधैं नटआउट रहने छन्।  

सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका अलराउन्डर पारसले सन् २००९ मा नेपाली टोली सम्हाल्ने जिम्मा पाएका थिए । झन्डै १० वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेर २०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका  खड्काकै भूमिकाकै कारण नेपाल यतिबेला विश्व वरियतामा बाह्रौं स्थानमा छ।  नेपालले एक दिवसीय मान्यता समेत  पाएको छ। नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा ल्याउन कप्तानको जिम्मेवारी सम्हालेका खड्का सर्वाधिक सफल खेलाडी पनि हुन्।‘क्रिकेटलाई मात्र हैन नेपाली सपनालाई पनि सजाए,’ रेशम नराल लेख्छन्, ‘उनीसंगै हामीले पनि क्रिकेटको सफलताका सपना देख्न थाल्यौ ।’

यति मात्र हैन, उनी  एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय दुवैमा नेपालका लागि शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। २०१९ मा यूएईविरुद्धको खेलमा पारसले करियरको पहिलो एकदिवसीय शतक प्रहार गरेका थिए। सोही वर्ष सिंगापुरविरुद्ध टी–२० आन्तर्राष्ट्रियमा शतक प्रहार गर्दै पहिलो खेलाडी बनेका थिए। उनले हानेका चौका र छक्काले नेपाली फ्यानलाई खुसीको वर्षा गराउँथ्यो। ‘ टिम हारे पनि उनको खेल हार्दैन्थ्यो,’ नवराज घिमिरेले लेखेका छन्,’ त्यसैले उनी टिमले गेम  हार्दा पनि मन जितेर फर्कन्थे।’

पारसले नेपाली टोलीबाट १० वटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका छन्। खड्काले १० खेलबाट ३ सय १५ रन जोडेका छन्। अर्को फ्रम्याट टी–२० अन्तर्राष्ट्रियमा ७ सय ९९ र ट्वान्टी–२० मा ५६ खेल खेल्दा १ हजार ३ सय ७७ रन बनाएका छन। ‘जति खेलाडी आउट भए पनि पारस रहँदासम्म खेलाडीसंगै फ्यानको पनि मनोबल उचो रहन्थ्यो,’ नविन सत्यालले प्रतिक्रिया जनाएका छन्, ‘उनी भरोसाका खम्बा थिए। ’  

सन्यासको घोषणा गर्दै पारसले भनेका छन्– ‘अन्तर्राष्ट्रिय क्रिकेटकालागि मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै बामे सर्दै छन् ।’ सायद त्यसैले पनि होला बरालले भनेजस्तै उनी सन्यासपछि पनि नेपाली मनमा बस्ने छन्। क्रिकेटका यी ‘मणि’  नेपाली  मनको क्रिजमा ‘नटआउट’ रहनेछन्।

प्रकाशित: २० श्रावण २०७८ ०८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App