८ वैशाख २०८१ शनिबार
खेल

प्रवक्ताबाट राईको राजीनामाः एन्फाभित्र गलत नजिर बसाउन लागेको आरोप

अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र गलत नजिर स्थापित हुन लागेको भन्दै स्वतन्त्र तरिकाबाट खबरदारी गर्न प्रवक्ता किरण राईले सोमबार आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।  प्रवक्ताबाट राजीनामा दिए पनि केन्द्रीय सदस्य रहिरहने जानकारी गराएका राईले संघको मध्यावधि चुनावलाई समाधानको मध्यमार्गी प्रस्तावका रूपमा अघि सारेका छन्। 

सोमबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामापत्र बुझाएका प्रवक्ता राईले पत्रकार सम्मेलनमार्फत वर्तमान फुटबलको समाधान चुनावबाट मात्र निस्कने दाबी गर्दै फुटबलभित्र गिजोलिएको राजनीति रोक्न सबै पक्षसँग आह्वान गरेका छन्। ‘एन्फामा विवाद र शक्तिसंघर्ष चरम रूपमा हुन थालेको छ। यो समाधान हाम्रो हातमा छैन। एन्फाभित्र जुन शक्तिसंघर्ष चलेको छ, यसको समाधान अहिलेको अवस्थामा सम्भव छैन,’ राईले भने, ‘छिटोभन्दा छिटो जिल्ला र प्रदेश अधिवेशन सकेर ६–७ महिनाभित्र अर्ली चुनाव गर्नुपर्छ। राजीनामा दिएर म उम्किन लागेको होइन। विकल्पका रूपमा अर्ली चुनवाको प्रस्ताव गरेको छु। कुनै कित्ताकाट गर्न खोजेको पनि होइन।’

राईले फुटबलमा पछिलो समय जालझेल र षड्यन्त्र उत्कर्षमा पुगेको बताउँदै यस्तो कार्य रोक्नुपर्ने धारणा राखेका हुन्। एन्फाभित्र अध्यक्ष र वरिष्ठ उपाध्यक्षको विवादले फुटबललाई राम्रो नगर्ने भन्दै मुख्य प्रशिक्षक र उपाध्यक्षबीचको समस्या समाधान गर्न आकस्मिक कार्यसमिति बैठकले नसकेकोमा राईले आलोचना गरे। फुटबलभित्रको विवाद एन्फाभित्रैबाट समाधान खोजिनुपर्नेमा युवा तथा खेलकुद मन्त्रालयलाई छानबिनका लागि सिफारिस गर्ने बैठकको निर्णय गलत नजिर भएको भन्दै यसको आलोचना गरेका हुन्।  

‘मन्त्रालयलाई छानबिनका लागि सिफारिस गर्ने निर्णयमा गल्ती भयो। त्यो गल्ती मेरो भागमा जति पर्छ म लिन तयार छु। राष्ट्रिय र अन्तर्राष्ट्रिय नियम र फुटबलको मर्मअनुसार फुटबलभित्रको समस्या यसभित्रैबाट हल गर्नुपर्छ भन्ने मान्यता छ,’ एन्फा आकस्मिक बैठकबाट भएको निर्णयलाई कटाक्ष गर्दै राईले भने, ‘फुटबलभित्रको विवाद संस्थाले नै मिलाउनुपर्ने हो। आवश्यक परेको अवस्थामा विशेषज्ञ तथा कोही पदाधिकारीलाई छानबिन गर्न जिम्मा दिनुपर्ने हो। बैठकले तेस्रो व्यक्तिको हातमा जिम्मा दिनु खराब नजिर बस्यो। यदि फुटबलको विषय हो भने मन्त्रालयले हल गर्न सक्दैन। राखेप हुँदै पुनः एन्फामै सो विवाद आउँछ। यसले विवाद जटिलतातर्फ गएको म स्पष्ट देख्छु।’

पछिल्लो पटक बसेको एन्फा कार्यसमितिको आकस्मिक बैठकमा उनले संघभित्र समस्याको समाधान खोजिनुपर्ने धारणा राखेका थिए।  बैठकमा यो उनको भिन्न मत थियो। एन्फा विवाद मन्त्रालयमा लग्नु गलत भएको भन्दै जिम्मेवारीमा बसेर स्वतन्त्रपूर्वक धारणा राख्न नसकिने भएकाले राजीनामा दिन पुगेको राईले बताएका हुन्।  

‘पदमा रहेर संस्थाले गरेका गतिविधिलाई आलोचना गर्नु ठीक लागेन। स्वतन्त्रपूर्वक विचार राख्नुपर्ने भएकाले राजीनामा गरेको हुँ,’ ३ वर्ष ३ महिना प्रवक्ताको कार्यभार सम्हालेका उनले भने,‘यसमा कसैलाई दोषारोपण गर्न चाहन्नँ। फुटबलभित्रको राजनीतिक अन्तरसंघर्षले फुटबललाई असर पार्नु हुँदैन भन्ने मेरो धारणा हो। राजनीति र फुटबल विपरीत तरिकाले दुई पोलबाट अगाडि बढ्नुपर्छ। फुटबल पदाधिकारी तल्लो स्तरको गालीगलौजमा जानु हुँदैन। फुटबलभित्र जे जालझेल भइरहेको छ, त्यो गम्भीर छ।’

तीन वर्षअगाडि राई अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट एन्फाको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। जिम्मेवारी हेरफेरको क्रममा शेर्पाले राईलाई प्रवक्ताको जिम्मेवारी दिएका थिए।एन्फाको नयाँ नेतृत्व चयनका लागि आगामी वैशाखमा निर्वाचन हुँदै छ। निर्वाचन नजिक आउँदै गर्दा अहिले एन्फामा अध्यक्ष कर्माछिरिङ पक्ष र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको मतभेद चुलिँदै गएको स्पष्ट देखिन थालेको छ। जुन संकेत मुख्य प्रशिक्षक र उपाध्यक्षबीचको दोषारोपणबाट झल्किन थालेको छ।  

प्रकाशित: १९ श्रावण २०७८ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App