coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बितेका कुरा बिर्सिदेऊ: राष्ट्रपति

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुतेर्तेले आफ्नै सरकार ढाल्न भूमिका खेलेको आरोप लगाइएकी टोकियो ओलम्पिककी स्वर्ण विजेता हिडिलेन डियाजलाई बितेका घटना बिर्सन सुझाव दिएका छन्।

डियाजले यसै ३२औं ग्रीष्मकालीन टोकियो ओलम्पिकमा तीन दिनअगाडि मात्र आफ्नो देशलाई भारोत्तोलनतर्फबाट पहिलो स्वर्ण दिलाएकी थिइन्। त्यो स्वर्ण फिलिपिन्सको ९७ वर्षे ओलम्पिक यात्रामा पहिलो थियो। तर, उनै डियाजले दुई वर्षअघि मात्र राष्ट्रपति रोड्रिगो सरकारविरुद्ध काम गरिरहेको आरोप खेप्नुपरेको थियो। रोड्रिडोलाई फ्याँक्ने योजनामा संलग्न रहेको भन्दै उनले ज्यान मार्ने धम्कीसमेत सामना गरेकी थिइन्। ऐतिहासिक सफलतापश्चात् मनिला आएपछि राष्ट्रपति रोड्रिगोले जुममार्फत डियाजसँग कुराकानी गरेका थिए, जसलाई राज्यको टेलिभिजनबाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो।  

त्यस क्रममा उनले डियाजलाई सफलताका लागि बधाई दिँदै व्यक्तिगत रूपमा ६० हजार अमेरिकी डलर पुरस्कार दिए र बितेका खराब घटनालाई बिर्सनसमेत आग्रह गरे। त्यो समय डियाजमाथि सरकारलाई अस्थिरतामा धकेल्ने भूमिका खेलेको आरोप लागेको थियो। त्यति बेला उनी एयरफोर्समा कार्यरत थिइन्। राष्ट्रपतिका कानुनी सल्लाहकारले पनि राष्ट्रपतिलाई फ्याँक्न डियाजको संलग्नता रहेको जिकिर गरेका थिए। त्यो आरोप खेप्ने उनी मात्र एक खेलाडी थिइनन्, भलिबलकी स्टार एवम् टिभी पर्सनालिटी ग्रेचेन होले पनि उक्त आरोपको सामना गर्नुपरेको थियो।

तथापि, उनले यो आरोप खण्डन गरे पनि केहीले उनलाई राष्ट्रको खलपात्रका रूपमा पनि चित्रित गरे। तर, गत सोमबार देशका लागि ऐतिहासिक सफलता दिलाएसँगै उनी अहिले पनि स्वतः ‘राष्ट्र नायक’ बनेकी छन्। ‘तिमीसँग स्वर्ण पदक छ, त्यो नै तिम्रा लागि राम्रो कुरा हो। अब ती पुराना कुरा बिर्सिदेऊ,’ रोड्रिगोले ३० वर्षीया डियाजलाई सुझाव दिए। त्यस क्रममा फिलिपिन्स एयर फोर्सको युनिफर्म लगाएकी डियाजको घाँटीमा स्वर्ण झुन्डिएको थियो। एयरपोर्टको एक कोठामा बसेकी थिइन्, जहाँ उनले डियाजलाई धन्यवाद दिँदै सलुट गरिन्।  

रोड्रिगोकै प्रवक्ताले सन् २०१९ को रियो ओलम्पिकमा रजत विजेता डियाजसँगै दर्जनौ व्यक्ति देशलाई अस्थिरतामा धकेल्न भूमिकामा संलग्न रहेको आरोप लगाएका थिए। उक्त आरोपमा विपक्षी दलका नेता, निर्वासित कम्युनिस्ट नेता, पत्रकार र अन्य केही व्यक्ति समावेश थिए। ‘म निकै आश्चर्यमा परेको छु। म र मेरो परिवारले अब असुरक्षाको महसुस गरिरहेको छ,’ त्यस बेला डियाजले भनेकी थिइन्। त्यस समय रोड्रिगोकै प्रवक्ता साल्भाडोर पानेलो थिए। जो अहिले राष्ट्रपतिका प्रमुख कानुनी सल्लाहकार पनि छन्।  

उनै साल्भाडोरले सरकार ढाल्ने षड्यन्त्रमा डियाजको संलग्नता नरहेको पहिल्यै स्पष्ट पारेको यसै हप्ता मात्र बताएका छन्। मनिला एयरपोर्टमा डियाजको आगमन हुँदा फिलिपिन एयर फोर्सका अफिसरले राष्ट्रको झन्डा हल्लाउँदै स्वागत गरेका थिए। उनले सात दिन होटलमा क्वारेन्टिना पूरा गर्नेछिन्। अहिले डियाजलाई बक्सिङको लिजेन्ड मन्नी पाक्वेजस्तै नायकका रूपमा चित्रित गर्न थालिएको छ। त्यसैले देशभित्र उनको जीवनमा ठूलो परिवर्तनसमेत ल्याउनेछ। पूर्वी आइसल्यान्ड मिन्डानाओमा रिक्सा चालककी छोरी डियाजको सफलताको कथा अहिले देशभरि गुन्जिरहेको छ।

सरकारले पुरस्कारका रूपमा उनलाई ६ लाख ५० हजार अमेरिकी डलर र घर प्रदान गर्ने घोषणा गरिसकेको छ। निजी क्षेत्रबाट पनि उनलाई घर र कयौं नगद पुरस्कारको घोषणा भइसकेको छ। एयर फोर्समा पनि उनले पाउँदै आएको मासिक तलब र पदमा वृद्धि हुने फिलिपिन्सको सशस्त्र बलले जनाएको छ। 

प्रकाशित: १५ श्रावण २०७८ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App