coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘संक्रमित बढ्नुमा ओलम्पिकको सम्बन्ध छैन’

टोकियो ओलम्पिक आयोजकले जापानमा हालैका दिनमा कोभिड १९ संक्रमितको संख्या वृद्धि हुनुमा जारी टोकियो ओलम्पिकको कुनै सम्बन्ध नै नभएको बताएका छन्।बिहीबार मात्र ओलम्पिक भिलेजमा २४ जना कोभिड १९ संक्रमित भएका थिए। हालसम्म खेलाडी, सञ्चारकर्मी र ओलम्पिक कर्मचारी गरी १ सय ९३ जनामा कोभिड १९ संक्रमित भएका छन्। यद्यपि विमानस्थल र प्रशिक्षण क्याम्पमा संक्रमितको संख्या यसमा समावेश गरिएको छैन।  

बुधबार जापानभरि कोभिड १९ संक्रमितको संख्या ९ हजार ५ सय ८३ थियो जुन एकै दिन थपिएका संक्रमितमध्येकै सर्वाधिक हो।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का प्रवक्ता मार्क एडम्सले कोभिड १९ संक्रमितको संख्यामा वृद्धि हुनु र जारी टोकियो ओलम्पिकमा कुनै सम्बन्ध नै नभएको बताएका छन्।

‘ओलम्पिक भिलेजमा कोभिड १९ संक्रमित नभेटिएका होइनन् तर उनीहरूबाट जापानका अन्य सर्वसाधारणमा कोभिड १९ संक्रमण फैलिएको छैन,’ एडम्सले भने, ‘हामीले परीक्षणको दायरा बढाइरहेका छाैँ। ओलम्पिक भिलेजमा रहेका कोही पनि आफूखुसी बाहिर जान पाउँदैनन्। उनीहरूमाथि कडा निगरानी राखिएको छ।’  

साथै आयोजकहरूले टोकियो ओलम्पिकका कारण जापानको स्वास्थ्य क्षेत्रमाथि दबाब थपिएको भन्ने आरोप पनि निराधार रहेको बताएका छन् । जापानका स्वास्थ्य अधिकारीहरूले अहिले कोभिड १९ संक्रमितको संख्या बढ्दै गएकाले स्वास्थ्य संकट आउने चेतावनी दिइरहेका छन्।

१ सय ९३ जनामा कोभिड १९ संक्रमण पुष्टि भए पनि ओलम्पिकसँग सम्बन्धित दुई जनालाई मात्र अस्पताल भर्ना गरिएको छ। अन्य संक्रमित भने ओलम्पिक भिलेजमै आइसोलेसनमा छन् र सुरक्षित छन्। १ सय ९३ संक्रमितमध्ये १ सय ९ जना जापानी रहेका छन्। ‘हालसम्म ३ लाख १० हजार पिसिआर परीक्षण भएका छन् र तीमध्ये संक्रमित हुनेको संख्या ०.०२ प्रतिशत रहेको छ,’ एडम्सले भने।

टोकियोमा प्रतियोगिता जारी भए पनि अझै पनि स्वास्थ्य संकटकाल जारी छ। टोकियोमा प्रतियोगितादौरान निश्चित समयका लागि रेस्टुरेन्ट खोल्ने स्वीकृति दिइए पनि मादक पदार्थको बिक्रीवितरणमा भने पूर्ण रूपमा रोक लगाइएको छ। अन्य तीन राज्यमा समेत यही नियम लागू गर्ने तयारी गरिएको छ। तर स्वास्थ्य अधिकारीले भने निषेधाज्ञाले मात्र कोभिड १९ संक्रमणको दरमा कमी नआउने बताइरहेका छन्।

प्रकाशित: १५ श्रावण २०७८ ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App