४ आश्विन २०७८ सोमबार
खेल

झ्यालबाटै ओलम्पिकको मज्जा लिँदै जापानी

जापानी नागरिकको विरोध र विभिन्न दुबिधाका बीच जारी टोकियो ओलम्पिक २०२० मा समर्थकहरूले केही खेलको मात्र मज्जा लिन पाइरहेका छन् । कोभिड १९ संक्रमणको दर नघटेको भन्दै ओलम्पिक खेल आयोजना स्थलमध्ये धेरै स्थानमा दर्शक प्रवेशमा रोक लगाइएको छ। रंगशालामा प्रत्यक्ष उपस्थित भएर खेल हेर्न नपाए पनि स्थानीय समर्थक खेलाडी मैदान जाने क्रममा सडकमा उनीहरूको समर्थन गरिरहेका छन्।  

कोभिड १९ महामारीका कारण एक वर्ष पर धकेलिएको टोकियो ओलम्पिक २०२० सुरु भएको ६ दिन बितिसकेको छ। यसबीच आयोजक जापानले पदकतालिकामा आफ्नो दरिलो उपस्थितिको संकेत गरिसकेको छ। समर्थकको अनुपस्थितिमा पनि जुडोबाट सुरु भएको आयोजक जापानको स्वर्ण यात्रा स्केटबोर्डिङसम्म पनि जारी छ। समर्थकहरू मैदानमा प्रत्यक्ष उपस्थित नभई रोड रेसबाटै भए पनि ओलम्पिकको मज्जा लिइरहेका छन्। 

सरकारको रोकविपरीत सडकबाटै भए पनि जापानी तथा विदेशी खेलाडीको समर्थनमा उत्रिएका स्थानीय समर्थकले ओलम्पिक खेलप्रति प्रतिबद्ध रहेको संकेत दिएका छन्। ‘सडकमा खेलाडी ओहोरदोहोर गरिरहँदा तथा रेड रोसमा दौडिरहँदा हामीले उनीहरूको नजिक जान सक्दैनाैँ तर यसले हाम्रो समर्थनमा कुनै कमी आउँदैन,’ वर्षाका बीच घरको झ्यालबाट महिला ट्रायथोलन हेरिरहेका ४२ वर्षीय हेरोसिका ताकेडाले भने, ‘मैले पनि ओलम्पिक आयोजनाप्रति प्रश्न उठाएको थिएँ। तर जब प्रतियोगिता सुरु भयो, म यसबाट पर भाग्न सकिनँ।’  

शुक्रबारबाट टोेकियोमा सुरु भएको ओलम्पिकमा सहभागी हुन विश्वभरबाट खेलाडी, प्रशिक्षक, व्यवस्थापक र सञ्चारकर्मी गरी १० हजारभन्दा बढी ओलम्पिक भिलेजमा जम्मा भएका छन्। कोभिड १९ संक्रमणको त्रासकै कारण टोकियोमा स्वास्थ्य संकटकाल जारी रहँदा ओलम्पिक भने सञ्चालन भइरहेको छ। विदेशी समर्थकमाथि प्रतिबन्ध लगाएको जापानले कोभिड १९ संक्रमण फैलने त्रासका कारण स्थानीय समर्थकमाथि समेत रोक लगाएको थियो। 

शुक्रबार भएको ओलम्पिकको उद्घाटनमा करिब १ हजार जना मात्र रंगशालामा उपस्थित थिए,जुन समारोह ५० प्रतिशत जापानीले टिभीमा हेरेका थिए। टोकियो ओलम्पिका खेल स्थलअघि सञ्चालनको तयारीमा रहेको स्टल ग्राहकहरूको अनुपस्थितिमा प्रायः बन्द अवस्थामा थिए। अहिले भने ती स्टल पुनः सञ्चालनमा आइरहेका छन्। जापानले बुधबारसम्म कुल १३ स्वर्ण पदक जितिसकेको छ। सरकारको रोकका बावजुद पनि मंगलबार भएको महिला ट्रायथोलन हेर्न सयांैको संख्यामा जापानीहरू सडकमा उपस्थित भएका थिए।

प्रकाशित: १४ श्रावण २०७८ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App