८ वैशाख २०८१ शनिबार
खेल

एन्फाको आकस्मिक बैठक शुक्रबार: प्रशिक्षकको राजीनामा घोषणा प्रकरणमा छलफल

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामाको विषयमा छलफल गर्न शुक्रबार कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।  

प्रशिक्षक अब्दुल्लाहले आइतबार सामाजिक सन्जालमा एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले विगत तीन सातादेखि आफ्नो काममा अवरोध गरेको आरोप लगाउँदै राजीनामा बुझाउन जान लागेको उल्लेख गरेका थिए। यद्यपि उनले एन्फामा राजीनामा भने बुझाइसकेका छैनन्। एन्फा प्रवक्ता किरण राईले आइतबार प्रशिक्षक अब्दुल्लाह तनावमा रहेकाले केही दिन आराम दिइएको प्रतिक्रिया दिएका थिए।

यता नेम्वाङले भने आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नभएको भन्दै छानबिनको माग गरेका थिए। नेम्वाङले आफूमाथि व्यक्तिगत आक्षेप लगाउने उद्देश्यले प्रशिक्षकलाई समेत एन्फा राजनीतिमा संलग्न गराइएको भन्दै मंगलबार यस घटनाको सत्यतथ्य छानबिनको माग गर्दै एन्फामा निवेदन दर्ता गराएका थिए। नेम्वाङको निवेदनपछि एन्फाले शुक्रबार कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको हो। एन्फाले अहिलेसम्म प्रशिक्षक अब्दुल्लाह र वरिष्ठ उपाध्यक्ष नेम्वाङबीचको विवादका बारेमा औपचारिक धारणा सार्वजनिक गरेको छैन। 

प्रकाशित: १४ श्रावण २०७८ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App