५ आश्विन २०७८ मंगलबार
खेल

डियाजको ऐतिहासिक स्वर्ण

फिलिपिन्सकी भारोत्तोलक हिडिलिन डियाजले निर्वासन, त्याग र प्रशिक्षणमा भोगेका कष्ट भुल्नेछिन्, किनकि उनले ओलम्पिकबाट देशलाई पहिलो स्वर्ण दिलाएकी छन्। फिलिपिन्सको ९७ वर्षे ओलम्पिक यात्रामा डियाजले पहिलो स्वर्ण दिलाएकी हुन्। 

टोकियो ओलम्पिकमा भारोत्तोलनतर्फ महिला ५५ केजी तौलसमूहमा डियाजले १ सय २७ केजी तौल उचाल्दै राष्ट्रलाई पहिलो स्वर्ण दिलाइन्। उनले चीनकी विश्व कीर्तिमानी लियाओ किउयुनलाई हराउँदै आफ्नो देशलाई ऐतिहासिक सफलता दिलाएकी हुन्। त्यो पदक ओलम्पिकमा फिलिपिन्सका लागि ११औं हो। स्वर्ण भने पहिलो पटक। 

उनी देशका लागि ओलम्पिकमा दुईभन्दा बढी पदक जित्ने पहिलो खेलाडीसमेत भइन्। हातमा स्वर्ण पदक लिनेबित्तिकै उनका आँखा रसाएका थिए, त्यो खुसीको आँसु थियो र देशको ऐतिहासिक सफलता। ‘साँच्चै नै आज राति धेरै खानेछु,’ मुस्कुराउँदै ३० वर्षीया डियाजले भनिन्, ‘किनकि मैले धेरै खाने कुरा त्यागेको थिएँ। तर, अब मेरो सफलताको पछाडि रहेका साथीसँग उत्सव मनाउनेछु।’ पाँच फिट एक इन्च उचाइ भएकी डियाजले यसअघि नै इतिहास रच्ने आश्वासन दिएकी थिइन्। 

फिलिपिन्सका दिग्गज बक्सर मन्नी पाकिओसँगै सफलतामा डियाजको नाम पनि जोडिएको छ। पाँच वर्षअगाडि नै रियो ओलम्पिकमा अप्रत्याशित रूपमा उनले रजत जितेकी थिइन्। यस पटक भने उनले ओलम्पिकमा देशका लागि पहिलो स्वर्ण नै दिलाइन्। सन् १९२४ को पेरिसदेखि ओलम्पिक यात्रा थालेको फिलिपिन्सलाई त्यस प्रतिस्पर्धामा २० वर्षदेखिको पदक भोट मेटाइन्, जहाँ उनले रियो ओलम्पिकमा रजत पदक जितेकी थिइन्।  

चीनकै गाओ काइवेनको प्रशिक्षणमा उनले सन् २०१८ को एसियाडमा भारोत्तोलनबाट फिलिपिन्सलाई पहिलो स्वर्ण दिलाइसकेकी छन्। ‘उनले (गाओ) मेरो प्रदर्शनमा निकै सकारात्मक परिवर्तन ल्याइदिए,’ डियाजले भनिन्, ‘उनी मेरो साथ हुँदा निकै खुसी हुने गरेको छु।’ गाओले चीनका कयौं ओलम्पिक पदक विजेतालाई प्रशिक्षण गराएका छन्। जसमध्ये एक सन् २०१२ को ओलम्पिकमा सुपर हेभिवेट स्वर्ण विजेता झोउ लुली पनि हुन्। फिलिपिन्स एयरफोर्समा काम गर्ने डियाजको भारोत्तोलन करियरले अब उचाइ लिइसकेको छ, जहाँ उनले सन् २००८ र २०१२ मा यादगार बनाउन सकेकी थिइनन्।  

तर, चाइनिज प्रशिक्षकको नेतृत्वमा उनले धेरै सुधार गरिन्। डियाजले तीन वर्षअगाडिको एसियन गेम्समा स्न्याचमा ९२ केजी र क्लिन एन्ड जर्कमा १ सय १५ केजी भार उचालिन्, जुन रियो ओलम्पिकमा रजत पदक जित्दाको भन्दा ७ केजीले बढी हो। यस पटक भने उनले स्न्याचमा ९७ केजी र क्लिन एन्ड जर्कमा लगातार १ सय १९ केजी, १ सय २४ केजी र १ सय २७ केजी उचालिन्। उनको यो सफलताका पछाडि गत वर्षदेखि निर्वासनमा गरेको संघर्ष पनि एक थियो। कोभिड महामारीका कारण उनले गत वर्षको फेब्रुअरीदेखि मलेसियामा बिताएकी थिइन्। खेल करियरकै लागि उनले आफ्नो परिवार, एयर फोर्सको करियर र पढाइ सबै त्याग्नुपरेको थियो। उनी फिलिपिन्सको दक्षिण टापु मिन्डानाओ निवासी हुन्।

त्यहीं रहेका आफ्ना परिवारलाई भेट्न उनी व्यग्र प्रतीक्षामा छिन्। ‘मेरो जीवनको खुसीको बारेमा सोचिरहेको छु, किनकि पछिल्ला समय म मलेसियामा थिएँ। तर अब म परिवारलाई भेट्न जाँदै छु र त्यहाँ धेरै उत्सव मनाउनेछु,’ स्वर्ण जितेपछि उनले भनिन्। उनको पिता रिक्साचालक हुन्। उनले सन् २०१९ को डिसेम्बरदेखि पितालाई भेट्न पाएकी छैनन्। तर, अब उनको प्रतीक्षाको घडी नजिकिएको छ। सन् २०२० फेब्रुअरीमा पनि गाओले उनलाई प्रशिक्षणका लागि मलेसिया लगेका थिए।

टोकियो ओलम्पिकको छनोट चरणमा ध्यान केन्द्रित गर्न गाओ मलेसियामा नै प्रशिक्षण गर्न चाहन्थे। तर, त्यसको केही हप्तामा नै कोभिड–१९ को प्रतिबन्धमा उनीहरू परे। जहाँ उनीहरूले भारोत्तोलन प्रशिक्षणका लागि आवश्यक सामग्रीको अभाव पनि भोगे। अब सबै किसिमका संघर्षपश्चात् उनले ठूलो प्रतिफल पाएकी छन्। जब उनी फिलिपिन्स फर्कनेछिन्, त्यहाँ उनलाई देशको नायकको रूपमा स्वागत गरिनेछ। 

प्रकाशित: १३ श्रावण २०७८ १२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App