४ वैशाख २०८१ मंगलबार
खेल

नेइमारजस्तै चर्चित हुने चाहना

ब्राजिलका सर्फर ग्याब्रियल मेडिनाले टोकियो ओलम्पिक २०२० मा स्वर्ण जित्दै फुटबल स्टार नेइमारको जस्तै चर्चा बटुल्ने चाहना भएको बताएका छन्।

मेडिना सन् २०१४ मा विश्व सर्फर च्याम्पियन बनेका थिए। त्यसपछि भने उनी केही दिन चर्चामा आएका थिए। त्यसयता मेडिनासहित इटालो फेरिएरा र एड्रियानो डी सौजा विश्व च्याम्पियन बनेका छन्। ब्राजिलमा फुटबलबाहेकका खेलाडी बिरलै चर्चामा आउने गर्छन्। तर मेडिना आशावादी छन्, टोकियो ओलम्पिकका स्वर्ण जितेर आफू पनि ब्राजिलका समर्थकमाझ नेइमारजस्तै चर्चाको शिखरमा पुग्ने।

उनले भने, ‘टोकियोमा हामीले स्वर्ण जित्न सके त्यो हाम्रा लागि ठूलो उपलब्धि हुनेछ। किनभने यहाँसम्मको यात्रा तय गर्न नै हाम्रा लागि कठिन थियो। हाम्रो निरन्तरको प्रयास र लगावले आज हामी यहाँ छाैँ। ब्राजिलमा विजेताको सम्मान हुन्छ। त्यसैले हामी विजेता बन्न चाहन्छाैँ।’

सन् २०१९ का विश्व विजेता मेडिन र फेरिएरोले सोमबार क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन्। त्यस्तै महिलातर्फ सिल्भाना लिमाले पनि अघिल्लो चरणमा स्थान बनाइसकेकी छिन्।

मेडिनाले सन् २०१४ मा पहिलो पटक विश्व च्याम्पियन बनेसँगै त्यसले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याएको बताए। साथै उनले फुटबल र भलिबल समर्थकको बाहुल्यता रहेको ब्राजिलमा सर्फिङले पनि केही समर्थक बटुलेको दाबी गरे।

‘सन् २०१४ पछि सबैले यस खेलप्रति चासो देखाउन थाले र यस खेलबारे बुझ्न आतुर पनि देखिए’ मेडिनाले भने, मलाई अहिले थोरै मात्र ब्राजिली समर्थकले चिन्छन्। त्यहाँ अहिले यस खेलको गति बढ्दो क्रममा छ। सन् २०१४ अघि र अहिलेको मेरो जीवनमा धेरै भिन्नता छ।

यता बुबाको माछा पसलमा राखिएको फोममा तैरिँदै सर्फिङमा होमिएका फेरिएरो पनि टोकियो ओलम्पिकमा स्वर्ण जित्दै ब्राजिलमा यस खेलको विकास भएको हेर्न चाहन्छन्।

‘विश्व खेलकुदको महाकुम्भमा आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्न पाउनु आफंैमा गर्वको विषय हो,’ उनले भने, ‘विगतमा सर्फिङमा अस्ट्रेलिया र अमेरिकाको दबाब थियो तर अहिले ब्राजिल पनि दाबेदारको रूपमा आएको छ। यो पनि एउटा उपलब्धि हो।’

प्रकाशित: १२ श्रावण २०७८ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App