८ वैशाख २०८१ शनिबार
खेल

दुर्घटनालगत्तै लोभलाग्दो सफलता

कार दुर्घटनामा परेको दुई महिनापछि नै ब्रिटेनका पिडकक थोमसले सोमबार टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष माउन्टेनबाइक क्रस कन्ट्रीमा स्वर्ण पदक जितेका छन्।

जारी प्रतियोगितामा ब्रिटेनको यो तेस्रो स्वर्ण पदक हो। मेमा भएको कार दुर्घटनामा थोमसको कलरबोन भाँच्चिएको थियो। तर चोटमुक्त हुँदै मैदान फर्किएको दुई महिनापछि नै २१ वर्षे थोमसले उत्कृष्ट प्रदर्शनका साथ माउन्टेन बाइकतर्फ स्वर्ण जितेका हुन्। 

यसका साथै उनी ओलम्पिक इतिहासमा माउन्टेनबाइक क्रस कन्ट्रीतर्फ स्वर्ण जित्ने सबैभन्दा कान्छा खेलाडीसमेत बनेका छन्। थोमसले निर्धारित दूरी १ घन्टा २५ मिनेट १४ सेकेन्डमा पूरा गरेका थिए। रजत विजेता विश्व नम्बर एक  स्विट्जरल्यान्डका माटियास फ्युकिगर थोमसभन्दा मात्र २० सेकेन्डले पछि रहे। यता कांस्य पदक विजेता स्पेनका डेविड भालेरो सेरानोले निर्धारित दूरी १ घन्टा २५ मिनेट ४८ सेकेन्डमा पूरा गरे।

‘अरू रेसको तुलनामा यो केही पनि होइन। यहाँ हामीले राष्ट्रको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने हो। त्यसैले आफ्नो देशका सबै समर्थक तपाइँको साथमा हुन्छन्,’ थोमसले भने, ‘उनीहरूले कुन खेल भनेर हेर्दैनन्, आफ्नो राष्ट्रले कुन विधामा प्रतिस्पर्धा गरिरहेको छ भनेर हेर्न आतुर हुन्छन्। यो राष्ट्रको गौरव हो। यो अविस्मरणीय क्षण हो। कार दुर्घटनापछि सायदै मैले खेलमा फर्कन्छु भनेर सोचेको थिएँ होला।

 मेरो प्रशिक्षक र परिवारको हौसलाले म रेसमा फर्किएको थिएँ । त्यसैले दुर्घटनापछिको यो सफलता मेरा लागि विशेष रहनेछ।’ यसअघि सोमबार नै ब्रिटेनका टम डेले र माटी लीले डाइभिङ १० मिटर र एडम पिटेले १ सय मिटर ब्रेस्ट स्ट्रोकमा स्वर्ण जितेका थिए। ‘मलाई थाहा छ यस समय मेरो परिवार भावुक छ,’ थोमसले भने, ‘कोभिड १९ महामारीका कारण दर्शकमाथि लागेको रोकका कारण उनीहरू मेरो सफलताको प्रत्यक्षदर्शी बन्न सकेनन्, यसमा म दुःखी छु।’

प्रकाशित: १२ श्रावण २०७८ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App