१६ चैत्र २०८० शुक्रबार
खेल

फुटबल प्रशिक्षकको राजीनामा घोषणा विवादमा

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिबीचको आरोप–प्रत्यारोप चरम उत्कर्षमा पुगिरहेको समयमा एकाएक राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्तमुताइरीको राजीनामा घोषणाले एन्फाको राजनीति पुनः सतहमा आएको छ।

पछिल्लो केही समययता एन्फाका विभिन्न कमिटीका संयोजक र सदस्यले पदबाट राजीनामा दिनुलाई एन्फाको निर्वाचन नजिकिनु नै मुख्य कारण रहेको अनुमान गरिँदै आएको थियो। यसैबीच प्रशिक्षक अल्मुताइरीको राजीनामा घोषणाले पनि ती अनुमानलाई बल पुर्‍याएको छ। यद्यपि अल्मुताइरीले भने आफूले एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा गरेको बताएका थि। उनले आइतबार दिउँसो सामाजिक सन्जालमा स्ट्याट्स लेख्दै नेम्वाङको लगातारको अवरोधका कारण आफूले पद छोड्ने निर्णय गरेको छ र सो पत्र बुझाउन एन्फा मुख्यालय सातदोबाटो जान लागेको उल्लेख गरेका थिए।

‘प्रिय नेपाली समर्थक, म राजीनामा बुझाउन एन्फा जाँदै छु। मैले एन्फा वरिष्ठ उपाध्यक्षका कारण पदबाट राजीनामा दिन लागेको हुँ। विगत तीन हप्तायता उनले प्रत्येक दिन लगातार मेरो काममा अवरोध गरिरहेका छन्। आशा छ आज तपाइँ खुसी हुनुहुन्छ होला पंकजविक्रम नेम्वाङ,’ अल्मुताइरीले सामाजिक सन्जालमा उल्लेख गरेका छन्। तर वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने अत्मुताइरीले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै त्यसलाई आफूमाथिको षड्यन्त्रको संज्ञा दिए।  

‘मैले विगतदेखि नै एन्फा विधिसम्मत सञ्चालन हुनुपर्छ भन्दै आइरहेको छु। जेठ ३० मा पनि मैले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई कार्यसमिति बैठक बोलाउन माग गरेको थिएँ। केही दिनअघि मात्र पनि मसहित कार्यसमितिका ४ पदाधिकारीले पत्र लेख्दै कार्यसमिति बैठक राख्न माग गरेका थियौं,’ नेम्वाङले भने, ‘तर यो एकाएक कार्यसमितिको बैठक छल्ने उद्देश्यसहित गरिएको असफल प्रयास हो।अल्मुताइरीले मेरो नाम उल्लेख गर्दै मेरै कारणले पदबाट राजीनामा दिएको घोषणा गरे र राजीनामा पत्र अध्यक्ष कर्माछिरिङ शेर्पालाई बुझाउन एन्फा मुख्यालय सातदोबाटो जान लागेको घोषणा गरे। तर एन्फामा उनको राजीनामा पुगेकै छैन। 

केवल सामाजिक सन्जालमा कसैमाथि मिथ्या आरोप लगाउँदैमा राजीनामा हुन्छ र ? ’नेम्वाङले सो घटना एन्फा राजनीतिसँग जोडिएको र यसरी प्रशिक्षकलाई राजनीतिमा मुछ्नुले नेपाली फुटबलमा गतिलो संस्कार नबस्ने बताए । नेम्वाङले यस विषयमा एन्फाले निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्न समेत माग गरे।

यता एन्फा स्रोतका अनुसार केही दिनअघि सञ्चारकर्मीमाथि भएको दुव्र्यवहारबारे एएफसी र फिफामा अल्मुताइरीलाई कारबाहीको माग गर्दै पत्राचार गरिएको, आफ्नो प्रशिक्षण कार्यकाल नवीकरणबारे उपाध्यक्षको विरोध र आफूविरुद्ध भएका शृंखलाबद्ध घटनामा समेत उपाध्यक्षको प्रत्यक्ष समर्थन रहेको लगायतका आरोप लगाउँदै प्रशिक्षक अल्मुताइरीले राजीनामा पत्र लिएर एन्फा पुगेका थिए। तथापि उनको राजीनामा भने स्वीकृत भएन।

एन्फा अध्यक्ष शेर्पाले भने अल्मुताइरी पदमै रहेको र उनी साफ च्याम्पियनसिपसम्म राष्ट्रिय टोलीसँगै रहने बताए।‘हामीले उनलाई साफ च्याम्पियनसिपका लागि केन्द्रित हुन र अन्यत्र ध्यान नदिन भनेका छाैँ,’ शेर्पाले भने, ‘उनी यसमा सहमत भएका छन्।’  

प्रकाशित: ११ श्रावण २०७८ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App