१६ चैत्र २०८० शुक्रबार
खेल

नयाँलाई स्थापित हुने अवसर

कोभिड–१९ महामारीका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिक २०२० शुक्रबारबाट औपचारिक रूपमा सुरु हुँदै छ। यद्यपि महिला र पुरुष फुटबलका खेल भने सुरु भइसकेका छन्। टोकियो ओलम्पिक २०२० स्टार खेलाडीको अनुपस्थितिमा नयाँ खेलाडीलाई आफूलाई स्थापित गर्ने सुनौलो अवसर बन्न सक्छ। रियो ओलम्पिक २०१६ सम्पन्न भएको ५ वर्ष बितिसेकेको छ। यसबीचमा धेरै परिवर्तन भइसकेको छ। तीन पटकका डबल स्प्रिन्ट च्याम्पियन उसेन बोल्ट अहिले जमैकामै छन् भने अमेरिकी पौडीबाज माइकल फिलिप्सले पनि संन्यास लिइसकेका छन्।

यस पटक टोकियो ओलम्पिकमा फिलिप्सको उत्तराधिकारीका रूपमा काइलेब ड्रेसेललाई हेरिएको छ। उनले रियो ओलम्किपमा रिलेतर्फ दुई स्वर्ण पदक जितेका थिए।सन् २०१२ लन्डन र २०१६ को रियो ओलम्पिकका सनसनी मच्चाएका बोल्टले आफ्नो नाममा धेरै कीर्तिमान लेखाए। बोल्टले सन् २०१७ मा संन्यास लिएका थिए। तर बोल्टको कीर्तिमान बिर्साउने नयाँ पिँढीका खेलाडीको उदय पनि भइरहेको छ। नर्वेका क्रास्टेन वार्लहोमले यसै महिना ४ सय मिटर हर्डल्समा कीर्तिमान बनाएका थिए। युएस ट्रायल्सको सोही विधामा महिलातर्फ सिड्ने म्याकलाउफलिनले पनि कीर्तिमान रचेकी थिइन्।

स्प्रिन्टतर्फ स्वर्ण पदकको दाबेदारका रूपमा अमेरिकाका १७ वर्षे इरयोन नाइटनलाई हेरिएको छ। ओलम्पिकको टिकट पक्का गर्ने क्रममा इरयोनले २ सय मिटरको दूरी १९.८४ सेकेन्डमा पूरा गर्दै बोल्टको नाममा रहेको कीर्तिमान भंग गरेका थिए। यता फिल्डतर्फ स्विडेनका पोलभल्टका २१ वर्षे अर्मान्ड डुप्लान्टिसलाई स्वर्ण पदकको मुख्य दाबेदारका रूपमा हेरिएको छ।  टोकियो ओलम्पिकबाटै स्केटबोर्डिङ पनि समावेश गरिएको छ। यस विधामा ब्रिटेनका १३ वर्षका स्काई ब्राउनलाई स्वर्णको दाबेदारका रूपमा हेरिएको छ।  

यता जिम्न्यास्टिकतर्फ सिमोना बाइल्स लारिसा लेटनिनाको नाममा रहेको ९ ओलम्पिक स्वर्ण पदकको कीर्तिमान तोड्न चाहन्छिन्। टोकियो ओलम्पिकमा सहभागिता जनाउने केही स्टार खेलाडीमा बाइल्स पनि समावेश छिन्। बाइल्सले सन् २०१३ यता हारको सामना गर्नुपरेको छैन। बाइल्सले सन् २०२४ को पेरिस ओलम्पिकसम्म संन्यास नलिने घोषणा गरिसकेकी छिन्। 

प्रकाशित: ८ श्रावण २०७८ ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App