coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कोरोना त्रासबीच सुरु हुँदै टोकियो ओलम्पिक

कोरोना भाइरस महामारीका कारण प्रभावित ३२औं ग्रीष्मकालीन ओलम्पिक पहिलोपटक सीमित अतिथि र समर्थकका बीच शुक्रबार जापानको राजधानी टोकियोमा सुरु हुँदैछ। महामारीका कारण एक वर्ष ढिला गरी हुन लागेको टोकियो ओलम्पिक २०२० उद्घाटन हुँदा स्टेडियममा यसअघिका संस्करणभन्दा फरक दृश्य देखिनेछ। १ सय २५ वर्षको इतिहास बोकेको ओलम्पिक यसपटक अगस्ट ८ सम्म सञ्चालन हुनेछ। २ सय ४ राष्ट्रका ११ हजार २ सय ८८ खेलाडीले प्रतिस्पर्धा गर्ने टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडी सहभागी हुँदैछन्। 

ओलम्पिकको उद्घाटन जापानका सम्राट नारुहितोले नेपाली समयअनुसार साँझ ४ः४५ मा गर्नेछन्। उक्त उद्घाटन समारोहमा नेपालका पाँचमध्ये सीमित खेलाडी, प्रशिक्षक र ६ जना अफिसियलको सहभागिता रहनेछ। ‘लगत्तै भोलिपल्ट नै प्रतिस्पर्धा भएकाले कतिजना खेलाडीलाई मार्च पास्टमा लैजाने भन्ने निर्णय भएको छैन। यहाँको बेलुका चार बजेदेखि तयारी हुनेछ र समापन ११ बजे हुन्छ।  

यस्तो स्थितिमा खेलाडी थकित हुन सक्छन्। त्यसैले उपलब्ध चार खेलाडीमध्ये पौडीका मात्र समावेश हुन सक्छन्। यस विषयमा शुक्रबार बिहान निर्णय गर्छौं,’ नेपाल ओलम्पिक कमिटी (एनओसीका) उपाध्यक्ष चतुरानन्द राजबैद्यले भने, ‘आयोजकको नियमअनुसार हरेक देशबाट खेलाडीबाहेक ६ अफिसियल मात्र सहभागी हुन पाउनेछन्।’ ओलम्पिक उद्घाटन अवसरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का चार स्वर्ण विजेता पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाहले मार्च पास्टका क्रममा संयुक्त रूपमा नेपालको झन्डा बोक्नेछन्। एनओसीले पत्रकार सम्मेलनमार्फत गौरिकाले नेपालको झन्डा बोक्ने जनाएको थियो। आइओसीको लैंगिक समानता प्रावधानअनुसार महिला र पुरुष दुवैले झन्डा बोक्ने नियम भएकाले एलेक्जेन्डरले गौरिकासँग संयुक्त रूपमा झन्डा लिने भएका हुन्।  

उद्घाटन समारोहमा करिब ९ सयजना मात्र सहभागी रहनेछन्। जापानकै ८० प्रतिशत जनता आयोजनाको विपक्षमा रहेकाले निकै कम उत्साहका साथ टोकियो ओलम्पिक सुरु हुँदैछ। उद्घाटन समारोहको विशेषता विभिन्न देशका भेषभूसा प्रदर्शनी, स्वागत भाषण, आआफ्ना देशका झन्डासहित खेलाडीको परेड, आयोजक देशको इतिहास तथा संस्कृति झल्कने प्रस्तुति रहनेछन्। यस संस्करणमा कलाकारका अधिकांश प्रस्तुति रेकर्डेड हुनेछन्। यो संस्करणको तयारी गतवर्ष नै लगभग पूरा भइसकेको थियो।  

कोभिड–१९ को सन्दर्भलाई लिएर ‘मुभिङ फरवार्ड’ ओलम्पिक समारोहको मुख्य विषयवस्तु रहनेछ। साथै टोकियो ओलम्पिक २०२० ले ‘युनाइटेड बाई इमोसन’ स्लोगनसहित ओलम्पिक खेलको मूल्य र भूमिका पुष्टि गर्न सन्देश प्रवाह गर्नेछ। अभैm पनि महामारीको भय रहेकाले त्यससँग लड्न टोकियो सहरका लागि चुनौती थपिएको छ। उद्घाटन सुरु हुनुअघि नै ओलम्पिक भिलेजका खेलाडीमा कोरोना संक्रमण हुँदा आयोजकमाथि दबाब बढिरहेको छ।  

यता नेपालको ओलम्पिक सहभागितामा सधैंजसो विवाद हुने गर्छ, यसपटक भने भयो। अन्तिम समयमा एथ्लेटिक्सका खेलाडी परिवर्तन, पाँच खेलाडीका लागि १७ जना पदाधिकारीको सहभागिता, असम्बन्धित व्यक्ति खेलको व्यवस्थापकमा चयन गरिनु जस्ता कारण यसपटक नेपालको ओलम्पिक सहभागिताको आलोचना भइरहेको छ। विवादका बीच नेपाली खेलाडीले वाइल्ड कार्डको सहायताले विश्वस्तरीय प्रतिस्पर्धामा कस्तो प्रदर्शन गर्न सक्छन् भन्ने विषय रोचक नै बन्नेछ। पाँच खेलाडीमध्ये गौरिका दोस्रोपटक ओलम्पिकमा सहभागी हुन लागेकी हुन्। उनी सन् २०१६ को रियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी खेलाडी थिइन्। 

सन् १९६४ को टोकियो ओलम्पिकबाटै ग्रीष्मकालीन ओलम्पिक यात्रा थालेको नेपालका लागि यो १४औं सहभागिता हो। यद्यपि अहिलेसम्म नेपालको ओलम्पिक सहभागिता खासै उपलब्धिमूलक बन्न सकेको छैन।  ६५ वर्षको सहभागिता इतिहास बोकेको नेपालका लागि सबैभन्दा ठूलो सफलता भनेको दुईपटक छनोट चरण पार गरेर ओलम्पिक खेल्नु हो। तेक्वान्दोका दीपक बिष्ट र संगीना वैद्यले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका छन्। यीबाहेक अन्य खेलाडीले वाइल्ड कार्ड र युनिभर्सालिटी प्लेसअन्तर्गत ओलम्पिक खेल्ने अवसर पाएका छन्।  

यस्तो छ नेपाली खेलाडीको खेल तालिका

यस ओलम्पिकमा नेपालका चार खेलका पाँच खेलाडीले उद्घाटन समारोहको भोलिपल्टदेखि नै प्रतिस्पर्धा थाल्नेछन्। नेपालबाट जुडो, सुटिङ, एथ्लेटिक्स र पौडीका खेलाडी ओलम्पिकमा सहभागी हुँदैछन्। पौडीका गौरिका र एलेक्जेन्डर, एथ्लेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछन्। पौडी, सुटिङ र जुडोका खेलाडी जापान पुगिसकेका छन् भने एथ्लेटिक्सका खेलाडी जुलाई २४ मा जापान प्रस्थान गर्नेछन्। जुडोकी सोनिया र सुटिङकी कल्पना शनिबारबाट प्रतिस्पर्धा गर्नेछन्। सोनियाले महिला ४८ केजी तौल समूहमुनि प्रतिस्पर्धा गर्नेछिन्। उनको तौल समूहको खेल बिहान ७ः४५ बजेदेखि सुरु हुनेछ, जहाँ सोनियाकी पहिलो प्रतिद्वन्द्वी रसियाकी डोल्गोभा इरिना हुनेछिन्। विश्व वरीयतामा नवौं स्थानमा रहेकी इरिना रसियामाथि प्रतिबन्ध रहेकाले ओलम्पिकको झन्डामुनि रहेर खेल्नेछिन्।  

यस्तै सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्। छनोट चरणमा उनको खेल बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ। छनोट चरण पार गरे अन्तिम चरण साँझ नै हुनेछ। ओलम्पिकमा नेपाली खेलाडीको लक्ष्य पदकभन्दा पनि व्यक्तिगत प्रदर्शनमा सुधार गर्नु हुँदै आएको छ। नेपाली पौडीका एलेक्जेन्डरले पुरुष १०० मिटर फ्रिस्टाइलको हिट चरणमा २७ जुलाईमा प्रतिस्पर्धा गर्नेछन्। यो इभेन्ट दिउँसो ३ः४५ बजेपछि सुरु हुनेछ। 

हिट चरण पार गर्न सकेमा २८ जुलाईमा अर्काे खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरणमा २९ जुलाईमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।दक्षिण एसियाकै उत्कृष्ट खेलाडी गौरिकाले भने जुलाई २८ मा महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्दैछिन्। उनको हिट चरण दिउँसो ३ः४५ बजेपछि सुरु हुनेछ। हिट चरणपछि २९ र ३० जुलाईमा यस इभेन्टमा प्रतिस्पर्धा हुनेछ। यस इभेन्टमा गौरिकाको नाममा राष्ट्रिय कीर्तिमान छ। नेपालको अन्तिम प्रतिस्पर्धा ३० जुलाईमा एथ्लेटिक्समा रहनेछ, जसमा सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा चुनौती प्रस्तुत गर्नेछिन्। खेल बिहान ९ बजेपछि सुरु हुनेछ। कोभिड–१९ का कारण आफ्नो प्रतिस्पर्धा सकिएको ४८ घन्टाभित्र सबै खेलाडीले जापान छाड्नुपर्ने नियम छ।

प्रकाशित: ८ श्रावण २०७८ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App