७ वैशाख २०८१ शुक्रबार
खेल

ब्रिसबेनलाई २०३२ ओलम्पिक आयोजनाको जिम्मेवारी

सन् २०३२ को ओलम्पिक आयोजना गर्ने जिम्मेवारी बुधबार पाएसँगै ब्रिसबेन ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्ने अस्ट्रेलियाको तेस्रो सहर हुने भएको छ।  

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस बाचले बुधबार २०३२ को ओलम्पिक आयोजना गर्ने जिम्मेवारी ब्रिसबेनलाई प्रदान गरेको घोषणा गरेसँगै अस्ट्रेलियाका तीन सहरले ग्रीष्मकालीन ओलम्पिक सञ्चालन गर्ने भएका हुन्। यसअघि मेलबर्न र सिड्नीले सफलतापूर्वक ओलम्पिकको आयोजना गरिसकेका छन्। टोकियोमा भएको मतदानमा ७७ मतमध्ये ब्रिसबेनले ७२ मत पाएको थियो। ‘३५औं संस्करणको ओलम्पिक आयोजनाको जिम्मेवारी ब्रिसबेनलाई दिन पाउँदा हामी निकै खुसी भएका छौं,’ बाचले भने। बाचको त्यो घोषणासँगै टोकियोमा रहेका अस्ट्रेलियाली डेलिगेट्सले खुसी साटासाट गरेका थिए। साथै ब्रिसबेनमा पनि उक्त सफलताको उत्सव ठूलो आतिसीबाजीसहित मनाइएको थियो।  

गत जुनमा आइओसीको १५ सदस्यीय कार्यकारी बोर्डले ब्रिसबेनलाई एकल दाबेदारका रूपमा प्रस्ताव गरेसँगै २०३२ को ओलम्पिक अस्ट्रेलियामा नै आयोजना हुने पक्कापक्की थियो। ‘म निकै उत्साहित भएको छु। मेरो राज्य र जनताप्रति गर्व गर्न चाहन्छु। मेरो जीवनमा योभन्दा ठूलो खुसी केही हुने छैन,’ क्विन्सल्यान्ड राज्यका प्रमुख एन्ना पलास्चुकले भनिन्,‘हामी सफल भयौं क्विन्सल्यान्ड। आजको दिन राम्रो रह्यो।’ अस्ट्रेलियाली सहर मेलबर्नले सन् १९५६ र सिड्नीले सन् २००० को ओलम्पिक सम्पन्न गरिसकेका छन्। ब्रिसबेनको समुद्री क्षेत्रमा टोकियोमा भएको घोषणा ठूलो स्क्रिनमा देखाइएको थियो, जहाँ बाचको निर्णयसँगै सयौंको संख्यामा रहेका मानिसले खुसी मनाए।

त्यहीं रहेका एक रिस कुसले सन् २०३२ को ओलम्पिकमा आफू समर्थकका रूपमा रहने आशा व्यक्त गरे। ‘म सफ्टबलको समर्थक हुँ। आगामी ओलम्पिकमा एक समर्थकको रूपमा सहभागी हुने आशा गरेको छु,’ उनले भने । ४२ वर्षे लाउरेन ग्रेंगरले सन् २००० को  

सिड्नी ओलम्पिकको सफलता सन् २०३२ मा दोहोरिने आशा व्यक्त गरेका छन्। सन् २०१८ को कमनवेल्थ आयोजना गरेको ब्रिसबेनले सन् २०३२ को ओलम्पिक दाबेदारीका लागि दुई वर्षदेखि तयारी थालेको थियो। अस्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार उक्त ओलम्पिकका लागि पाँच बिलियन अस्ट्रेलियन डलर खर्च हुनेछ। उक्त ओलम्पिकको उद्घाटन र समापन समारोह गाबा क्रिकेट ग्राउन्डमा हुनेछन्।  

‘क्विन्सल्यान्ड र ब्रिसबेनका लागि मात्र आज ऐतिहासिक दिन होइन, समग्र देशका लागि आज विशेष दिन हो,’ अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने, ‘विश्वका उत्कृष्ट सहरले मात्र ओलम्पिकको आयोजना गर्न सक्छ। आज ब्रिसबेनले त्यो स्तर पूरा गरेको छ।’ यो निर्णयसँगै लगातार तीनवटा ग्रीष्मकालीन ओलम्पिकको आयोजना पक्का भएको छ। आगामी सन् २०२४ को ओलम्पिक पेरिसले आयोजना गर्नेछ भने सन् २०२८ को ओलम्पिक लस एन्जल्समा तय भइसकेको छ। टोकियो ओलम्पिक सुरु हुनुभन्दा दुई दिनअगाडि मात्र सन् २०३२ को ओलम्पिक आयोजनाका लागि मतदान भएको थियो।

प्रकाशित: ७ श्रावण २०७८ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App