असोज पहिलो साताबाट तय भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल रोक्न माग गर्दै ललितपुरका ४ ‘ए’ डिभिजन क्लबले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापनपत्र बुझाएका छन्।
कोरोना भाइरस (कोभिड–१९) लाई कारण देखाउँदै असोज ३ गतेबाट हुने लिगलाई रोक्न ललितपुरका चार क्लबले सातदोबाटोस्थित एन्फा मुख्यालयमा ज्ञापनपत्र बुझाएका हुन्। थ्री स्टार क्लबका महासचिव सञ्जीव शिल्पकार, फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा, जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षत्री र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) का अध्यक्ष डा.लालकुमार पुनले मंगलबार संयुक्त रूपमा एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापनपत्र बुझाएका हुन्। चार क्लबले बुझाएको ज्ञापनपत्रमा क्लबले टिम दर्तासम्बन्धी एकपक्षीय रूपमा पत्र पठाएको भन्दै असहमति जनाएका छन् भने यथाशीघ्र बैठक बोलाउन पनि अनुरोध गरेका छन्।
‘२०७८ साउन १० गतेभित्र टिम दर्ताका लागि पत्र पठाइएकोमा हामी ४ वटा क्लबको असहमति रहेको जानकारी गराउन चाहन्छौं,’ चार क्लबले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘टिम दर्तासम्बन्धी एकपक्षीय रूपमा पठाएको पत्रमा हाम्रो असहमति छ। त्यसैले ‘ए’ डिभिजन क्लबहरूको यथाशीघ्र बैठक बोलाउन हार्दिक अनुरोध गर्दछौं।’
कोरोना भाइरसका संक्रमण दर अपेक्षाकृत रूपमा नघटेको र ‘ए’ डिभिजन लिग आयोजना गर्न उपयुक्त वातावरण नभएको ठहर गर्दै एन्फा अध्यक्ष, पदाधिकारी, सदस्यलाई यो विषयलाई गम्भीरतापूर्वक लिन चार क्लबले आग्रह
गरेका छन्। गत असार १४ गते एन्फामा भएको ‘ए’ डिभिजन क्लबको बैठकले सहिद स्मारक ‘ए’ डिभिजन लिग असोज ३ गतेबाट सुचारु गर्ने निर्णय गरेको थियो। सोही लिगका लागि अधिकांश शीर्ष ‘ए’ डिभिजन क्लबले खेलाडी किनबेचको प्रक्रियालाई अगाडि बढाइसकेका पनि छन्। एन्फाले साउन १० गतेभित्र टिम दर्ता गर्न क्लबलाई अनुरोध गरेको थियो।
प्रकाशित: ६ श्रावण २०७८ ०२:२९ बुधबार