८ वैशाख २०८१ शनिबार
खेल

टोयोटाले छाड्यो ओलम्पिकको साथ

टोकियो ओलम्पिक भिलेजमा कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा मुख्य प्रायोजकले पनि उद्घाटन हुन केही दिन बाँकी छँदा साथ छाडेको छ।

आगामी जुलाई २३ मा बन्द रंगशालाबीच ३२औं ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन हुँदै छ। तर, टोकियो आयोजकले ओलम्पिकको साथ र समर्थनका लागि संघर्ष गरिरहेको समय मुख्य प्रायोजक टोयोटाले पनि टिभीका कुनै पनि खेलमा आफ्नो प्रायोजना नरहने जनाएको छ।

 बायो सेक्युर बबलजस्तै रहेको ओलम्पिक भिलेजमा चौथो खेलाडीमाथि पनि संक्रमण पुष्टि भएपछि ओलम्पिक थप सशंकित भइरहेको छ। चेक रिपब्लिककी बिच खेलाडीमा पनि कोरोना पुष्टि भएसँगै भिलेजमा चौथो खेलाडीमा संक्रमण देखिएको थियो। टोकियोले स्वास्थ्य संकटकाल जारी राखेको अवस्थामा आगामी शुक्रबार बन्द रंगशालाबीच ओलम्पिक उद्घाटन हुँदै छ।तर, एक स्थानीय पत्रिकाको पछिल्लो सर्वेक्षणअनुसार ५५ प्रतिशत जनता ओलम्पिक आयोजनाको विपक्षमा रहँदा ३३ प्रतिशतले मात्र समर्थन गरिरहेका छन्। 

स्थानीयको विरोध र भिलेजमा संक्रमण बढ्न थालेपछि आयोजकलाई नै आयोजना सफलतापूर्वक सम्पन्न गर्नु चुनौती बनिरहेको छ। यसैबीच मुख्य प्रायोजकले पनि साथ छोडेको छ। विश्वकै ठूलो अटोमेकर टोयोटाले प्रायोजनबाट नाम फिर्ता लिँदै विपक्षीमा रहेका जनताप्रति सहानुभूति लिने प्रयास गरेको छ।  

टोयोटाले कुनै पनि टिभी विज्ञापनमा आफ्नो साथ नरहने र उद्घाटन समारोहमा पनि आफ्नो पदाधिकारी सहभागी नहुने स्पष्ट पारेको छ। ‘उद्घाटन समारोहमा टोयोटाका अफिसियल सहभागी हुँदैनन्, त्यसको मुख्य कारण दर्शकको उपस्थित नहुनु हो,’ टोयोटाकी प्रवक्ता सिओरी हासिमोतोले भनिन्। जापानी सञ्चारमाध्यमका अनुसार शुक्रबार हुने ओलम्पिक उद्घाटनलाई एक हजारभन्दा कम ओलम्पिक अफिसियल र भिआइपीले मात्र प्रत्यक्ष हेर्ने अनुमति पाउनेछन्।

टोयोटाको अपरेटिङ अफिसियर जन नागटाले ओलम्पिकमा नै संक्रमण बढेकाले सार्वसाधारण आयोजनाप्रति विपक्षीमा रहने बताएका थिए। ‘अब जनताले ओलम्पिक आयोजनालाई बुझ्ने अवस्था सिर्जना हुन झन् कठिन भएको छ,’ नागटाले भने। भिलेजका खेलाडीमा एकपछि अर्को गरी संक्रमण हुन थाले पनि आयोजकले भने ओलम्पिक भिलेज सुरक्षित नै रहेको दाबी गरिरहेको छ।

दक्षिण अफ्रिकाका दुई खेलाडीमा संक्रमण भएकाले पूरै २१ जनाको फुटबल टोली नै आइसोलेसनमा बस्नुपरेको छ,जसका कारण दक्षिण अफ्रिकाले जापानसँग हुने बिहीबारको पहिलो खेलको तयारी समेत गर्न पाउने छैन। टोकियो ओलम्पिकका प्रवक्ता मासा टाकायाले हजारौं खेलाडीमा गरेको परीक्षणबाट ६३ जनामा मात्र पुष्टि हुनु सामान्य अंश रहेको बताएका छन्। ‘ओलम्पिक भिलेज नै सबैभन्दा सुरक्षित स्थान हो भन्नेमा आइओसी र टोकियो ओलम्पिक आयोजक पूर्ण रूपमा विश्वस्त छन्,’ प्रवक्ता टाकायाले भने।

आइओसीको स्वतन्त्र विज्ञको प्यानलले खेलाडीमा संक्रमण हुन थालेपछि प्रक्रियाबारे एक पटक फेरि विश्लेषण गर्नुपर्ने सुझाव दिएको छ। महामारीका कारण दैनिक जसो खेलाडीमा कोरोना परीक्षण, सामाजिक दूरी र खेल सकिएको ४८ घन्टाभित्र देश छाड्नुपर्ने नियम बनाएको छ। 

प्रकाशित: ५ श्रावण २०७८ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App