८ वैशाख २०८१ शनिबार
खेल

खोप नपाउँदा खेल क्षेत्र निराश

कोरोना विरुद्धको खोपको प्राथमिकतामा खेल क्षेत्र अझै परेको छैन । खेलाडीले खोप लगाउन पाएका छैनन् । खेलकुद क्षेत्रमा निराशा छाएको छ । मोफसलका खेलाडीहरुले खोप पाएका छैनन् ।  

राष्ट्रको अन्तर्राष्ट्रिय एरिनामा झण्डा बोक्ने खेलाडी यतिबेला घरमै बसेर दिन बिताईरहेका छन् । सरकारले पनि खेलकुद क्षेत्रलाई समेत भीडभाड हुने क्षेत्रमा राख्दै आगामी साउन ५ गतेसम्म कुनैपनि गतिविधि नगर्न सूचना जारी गरेको छ । साउन ५ गतेसम्म निषेधाज्ञा लम्बिएपछि खेलकुद क्षेत्र ठप्पै जस्तो छ ।  

‘पहिला सरकारले उपब्ध गराएको थियो । तर खेलाडीहरु लगाउन गएनन वा चाहेनन् । अहिले खोप छैन् । हामीले सबै प्रदेशका खेलाडीलाई लगाउन १५ हजार डोज माग गरेका छौं’, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले भने, ‘सरकारसँग माग गरिएको छ । उपलब्ध गराएको अवस्थामा सबै प्रदेशका खेलाडीलाई खोप लगाउने बातावरण बन्छ ।’ उनका अनुसार राष्ट्रिय युवा संघको पहलमा सागमा पदक विजेता केही खेलाडीहरुलाई खोप लगाईसकिएको छ ।  

फ्रन्टलाईनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी र सञ्चारकर्मीले लगाईसकेपछि चरणबद्ध खोप उपलब्ध हुदैं आएको छ । ज्येष्ट नागरिक, त्यसपछि विश्वविद्यालयका प्राध्यक्षक, विद्यालयका शिक्षक हुदैं सवारी साधन चलाउने चालक तथा सहचालकलाई समेत खोपको व्यवस्था सरकारले गरिसकेको छ । तर खेलकुद क्षेत्रलाई खोप उपलब्ध गराउन नसक्दा खेलाडी प्रशिक्षणविहीन बस्नुपर्ने बाध्यता छ ।  

स्वास्थ्यका लागि खेलकुद भन्ने गरिन्छ । स्वास्थ्य रहन शारीरिक अभ्यास जरुरी छ । तर रंगशाला बन्द छन् । बन्द हुँदा खेलाडीले प्रवेश पाएका छैनन् । प्रवेश नपाउँदा घरमै त्रसित अवस्थामा बस्नुपरेको छ । खेलाडीलाई खोप उपलब्ध गराई प्रशिक्षणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएपनि चासो भने नदिइएको गुनासो खेलाडीहरुको छ ।  

खेलकुदसँग सम्बन्धी निकायले खोपप्रति चासो नदिँदा खेलाडीहरु खोप लगाउनबाट बन्चित भएको गुनासो छ । खेलकुद हाक्ने संस्थाका व्यवस्थापकीय जिम्मेवार निकायले पहल नगरेको आरोप समेत छ । ‘खेलकुद निकायमा बस्ने पदाधिकारीले खोपको पहल गर्नुपर्ने थियो । व्यवस्थापकीय कमजोरीले खेलाडीले खोप पाउन सकेका छैनन्’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका उपाध्यक्ष राजन पौडेलले भने, ‘जिम्मेवारी निकाय मौन बस्दा खेलाडी संघ नै खोपको लागि पहलकदमी गरेको छ ।’ उनका अनुसार खेलाडीको हकहितकै लागि खेलाडी संघ अग्रसर बन्नुपर्ने अवस्थामा खेलाडीलाई  खोप उपलब्ध गराउन खेलाडी संघले परिपत्र गरेको छ ।  

जिल्ला तथा गण्डकी प्रदेश खेलकुद समिति गठन भईसकेको छ । गठन भएपनि खोपको लागि ताकेता नहुँदा खेलाडी खोप पाउनबाट बिमुख छन् । पोखरा महानगरपालिका खेलकुद समितिले पनि खोपको लागि महानगरसँग समन्वय गरेको छ । ‘खेलाडीलाई खोप उपलब्ध गराउन पत्र पठाईसकिएको छ । सकारात्मक छन् । आशा गरौं छिट्टै उपलब्ध हुनेछ,’ महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले भने, ‘खोप लगाएपछि खेल प्रशिक्षण सहज हुनेछ ।’ गण्डकी प्रदेश खेलकुद परिषदले पनि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औं सागमा सहभागि खेलाडीहरुलाई खोप उपलब्ध गराउनुपर्ने माग गर्दैै आएको छ । तर खोप उपलब्ध नहुँदा खेलाडीमा निराशा छाएको छ । 

प्रकाशित: ३१ असार २०७८ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App