coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ओलम्पिकमा सहभागिताः योजनाबद्ध कार्यक्रम र प्रशिक्षण नहुँदा कमजोर

टालटुले शैलीमा चल्यौं–गण्डकी प्रदेश खेलकुद परिषद

सन् २००० मा अष्ट्रेलियाको सिड्नीमा आयोजित ओलम्पिकमा सहभागि भगवती केसी (सुटिङ) ।

पोखरा खेलकुदको शहर भनेर धेरै व्याख्या गरिन्छ । खेलकुदको राजधानी भनेर समेत भनिन्छ । राजधानीको रुपमा व्याख्या गरिए अनुसार अन्तर्राष्ट्रिय एरेनामा खेलाडीको उपस्थिति भने कमजोर छ । नगण्य जस्तै छ ।  

गण्डकी प्रदेशबाट ओलम्पिकमा खेलाडी सहभागितालाई नियाल्दा निकै कहालीलाग्दो अवस्था छ । सन् १९६४ देखि २०२१ सम्म आईपुग्दा गण्डकी प्रदेशबाट तीनजनाले मात्रै ओलम्पिकमा सहभागिता जनाएको इतिहास छ । दुई पुरुष र एक महिला खेलाडीको सहभागिता रहेको छ । सन् १९६४ मा ब्रिटिस लाहुरे समेत रहेका ओमप्रकाश तामाङ(बक्सिङ), १९९२ मा नारायण गुरुङ(तेक्वान्दो) र २००० मा भगवती केसी(सुटिङ)को मात्र अहिलेसम्म सहभागिता रह्यो । त्यसयता गण्डकी प्रदेशबाट ओलम्पिकमा सहभागिता जनाउने सामथ्र्य देखिएको छैन् ।  

नेपाली खेलाडीले ओलम्पिक सहभागिता वाईल्ड कार्ड मार्फत हुदैं आएको छ । पूर्वाधार नै नभएको अवस्थामा उपस्थिति रह्यो । दुईदशकयता पूर्वाधार थपिने क्रम छ । पोखरालाई खेलकुद शहर भनिरहँदा अन्तर्राष्ट्रिय एरेनामा सहभागिता कमजोर हुनुमा खेलकुद निकाय योजनाबद्ध रुपमा अघि बढ्न नसकेको गुनासो स्वयं खेलकुद निकायका पदाधिकारी स्वीकार्छन् ।  

‘खेलकुद निकायसँग योजनाबद्ध कार्यक्रम नै छैन् । प्रशिक्षण छैन्न । टालटुले शैलीमै चल्यौं । त्यसले गर्दा खेलकुदमा नजिता आउन सकेको छैन्,’ गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले भने ‘हामी खेलकुद आयोजना राम्रो गर्छौ, तर नजितामा छैनौं ।’ उनका अनुसार गण्डकी प्रदेश मास स्पोर्टसमा लोकप्रिय छ । व्यक्तिगत प्रतिस्पर्धामा ध्यान दिनुपर्छ । खास गरी मार्शल आर्टस खेलहरुमा विशेष चासो देखाउनुपर्छ । ‘हाम्रो कमजोरी नै व्यवस्थापन पक्ष हो,’ उनको भनाई थियो ।  

पछिल्लो समय टिकेर खेल क्षेत्रमा लाग्ने खेलाडी नै नभएको नेपाल ओलम्पिक कमिटिको बुझाई छ । खेलकुदको विकास र खेलाडीका उत्पादनमा पूर्वाधार, प्रशिक्षक र सम्बन्धित संघहरुको सक्रियता र निरन्तरता हुनुपर्नेमा ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ बताउँछन् । ‘खेलकुदको स्तरलाई जिल्लाको पूर्वाधारसँग हेरिन्छ । संघको सक्रियता अनि प्रशिक्षकले प्रशिक्षण गराएको अवस्थालाई हेर्नुपर्छ,’ उनको भनाई थियो । उनका अनुसार खेलाडी खेलकुदमा टिकेर बस्ने अवस्था छैन् । अधिकांश खेलाडी ‘ड्रपआउट’(खेल्ने अनि छाड्ने) हुने प्रवृत्ति बढ्दो छ । ‘जुन खेलमा अन्तर्राष्ट्रिय पदकको सम्भावना हुन्छ, त्यस खेललाई प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने,  ‘योजना नै कमजोर छ । योजना नहुँदा फोकस हुदैन् । त्यसबाट अपेक्षा गर्न सकिदैन् ।’  

गण्डकी प्रदेशमा सबैभन्दा कमजोर पूर्वाधार सुटिङको हो । तर ओलम्पिक सहभागिता भने उत्कृष्ट मान्नुपर्छ । कमजोर पूर्वाधार भएपनि सुटिङले भने ओलम्पिक सहभागिता गराईसकेको छ । बाग्लुङकी भगतवी केसी सुटिङमा वाईल्ड कार्ड मार्फत सहभागिता जनाईसकेकी हुन् । ‘ओलम्पिकको लागि पूर्वाधार नभएपनि सुटिङको अन्तर्राष्ट्रिय एरिनामा सहभागिता उत्कृष्ट छ,’ ओलम्पियन भगवती केसीले भनिन, ‘तर खेलाडीले भनेजस्तो अवसर अझै पाएका छैनन् ।’  

अन्य खेलकुदको पूर्वाधार बन्दै गएपनि सुटिङ रेन्जको छैन् । प्रशिक्षक पनि छैनन् । राष्ट्रिय खेलकुद परिषदले ध्यान दिएको छैन् । प्रदेश खेलकुद परिषदले पभिन बुझ्न सकेको छैन् । ‘आफ्नो अनुकुल खेलाडीलाई छानेर पठाउने प्रवृत्तिले खेलाडीको मनोबल घट्दै गएको छ,’ उनको गुनासो थियो, ‘सुटिङ पूर्वाधार र खेलकुद सामानमा ध्यान नदिँदा सुटिङ खेल नै लोप हुने डर छ ।’ उनले आफ्नो कमजोर पूर्वाधार भएपनि अन्तर्राष्ट्रिय एरेनामा सुटिङको उपस्थिति भने गर्विलो रहेको सुनाईन् । ‘रुपन्देहीबाट एक खेलाडीले सुटिङबाटै ओलम्पिक सहभागिता जनाईसकेकी छन,’ उनले भनिन । पूर्वाधार विकाससँगै खेलाडी उत्पादन र खेलकुदले फड्को मार्ने अपेक्षा गण्डकी प्रदेशले गरेको छ । 

प्रकाशित: ३० असार २०७८ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App