coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युरो कप २०२०: उपाधि खडेरी तोड्ने लक्ष्य

इटालीलाई आइतबार घरेलु मैदान वेम्बलीमा युरो कप २०२० को फाइनलमा आतिथ्यता प्रदान गर्दा इङ्ल्यान्ड ५५ वर्षदेखिको प्रमुख प्रतियोगिताको उपाधि खडेरी तोड्ने लक्ष्यमा हुनेछ।  

सन् २०१८ को रूस विश्वकपको सेमिफाइनलमा क्रोएसियासँग निराश भएसँगै इङ्ल्यान्डको प्रमुख प्रतियोगिताको उपाधि खडेरी तोड्ने लक्ष्यले पूर्णता पाउन सकेको थिएन। इङ्ल्यान्डले बुधबार दोस्रो सेमिफाइनलको अतिरिक्त समयमा डेनमार्कलाई २–१ ले हराउँदै पहिलो पटक युरो कपको फाइनलमा स्थान पक्का गरेको थियो। जुन इङ्ल्यान्डलाई उपाधि खडेरी तोड्ने सुनौलो अवसर बन्न सक्छ।  

युरो कप २०२० का अघिल्ला ६ मध्ये इङ्ल्यान्डले एक खेल मात्र अवे मैदानमा खेलेको थियो। अन्य ५ खेल भने इङ्ल्यान्डले घरेलु मैदान वेम्बलीमा खेलेको थियो। इटालीविरुद्ध आइतबार हुने भिडन्त जारी प्रतियोगितामा वेम्बलीमा  

इङ्ल्यान्डको सातौं खेल हो। इङ्ल्यान्डले सन् १९६६ को विश्वकपपछि अहिलेसम्म कुनै प्रमुख प्रतियोगिताको उपाधि जित्न सकेको छैन। सन् १९६६ पछि इङ्ल्यान्ड ४ पटक प्रमुख प्रतियोगिताको सेमिफाइनल प्रवेश गरे पनि त्यहाँभन्दा अघि बढ्न सकेको थिएन। तर, गारेथ साउथगेटको युवा टोलीले आफूलाई नयाँ इतिहासको सँघारमा पुर्‍याइसकेको छ।

‘हामी इतिहास कोर्ने सँघारमा छाैं, त्यो पनि घरेलु समर्थकमाझ,’ साउथगेटले भने, ‘हामी उच्च लयमा छाैं। यद्यपि इटालीको चुनौती पन्छाउनु सहज भने छैन।’ ३३ खेलमा अपराजित यात्रा कायम राखेको इटालीको चुनौती पन्छाउँदै युरो कप विजेताको ताज पहिरिनु इङ्ल्यान्डका लागि सहज भने छैन।  

इटालीले सेमिफाइनलमा मंगलबार स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। इटाली पनि सन् १९६८ पछि पहिलो पटक युरो कपको उपाधि जित्ने लक्ष्यमा छ। यसअघि सन् २००० र २०१२ मा युरो कपको फाइनलमा स्थान बनाए पनि इटालीले उपाधि भने आफ्नो पक्षमा पार्न सकेको थिएन। सन् २००० मा फ्रान्ससँग निराश भएको इटाली सन् २०१२ मा स्पेनसँग स्तब्ध भएको थियो।

सन् २०१२ को युरो कप फाइनलमा इटाली स्पेनसँग ४–० ले निराश भएको थियो। सो टोलीका सदस्यमध्ये अहिले जर्जियो केलिनी र लियानार्दो बोनुची मात्र छन्। उनीहरू सन् २०१७ मा स्विडेनसँग पराजित हुँदै सन् २०१८ को रूस विश्वकपमा छनोट हुन नसकेको टोलीमा पनि थिए। 

सन् २०१८ को रूस विश्वकपमा स्थान बनाउन नसकेको रोबेर्टो मान्चिनीको टोली आफू पुरानो लयमा फर्किएको प्रमाणित गर्न चाहन्छ। मान्चिनीकै प्रशिक्षणमा इटालीले पुरानो लय भेट्टाएको संकेत गरिसकेको छ। आइतबार इङ्ल्यान्डलाई हराउँदै युरोको उपाधि जितेमा मान्चिनीले एउटा सफलता चुम्नेछन्। यो जित सन् २०२२ को कतार विश्वकपका लागि समेत इटालीका लागि उच्च मनोबल बन्न सक्छ।  

‘सन् २०१८ को विश्वकपमा छनोट हुन नसक्दा टोलीमाथि दबाब थियो। मान्चिनीको प्रशिक्षणमा टोलीले नयाँ आयाम भेट्टायो,’ केलिनीले भने, ‘टोलीको पुरानो साख फर्काउने दृढ इच्छाशक्तिकै कारण आज हामी उपाधि सँघारमा छौं। मान्चिनीको आगमनले निराशालाई इच्छाशक्तिमा परिणत गरिदियो। हामीले पछिल्ला तीन वर्षमा देखेको यो नै एउटा सपना हो । युरो कपको उपाधिका साथ गुमाएको साख फर्काउने। जुन साकार पार्न हामी तयार छौं।’

प्रकाशित: २७ असार २०७८ ०४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App