coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लोमान्थाङको खेलग्राममा बास्केटबल र भलिबल कोर्ट तयार गरिँदै

मुस्ताङको लोमान्थाङ गाँउपालिकामा निर्माणाधिन खेलग्राममा बन्दै गरेको बास्केटबल कोर्ट । तस्बिरः नागरिक

एकवर्ष अघि हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा खेलग्राम निर्माण शुरु गरिएको थियो । लोमान्थाङ गाउँपालिका–६ किमलिङमा फुटबल मैदानसहितको खेलकुद पूर्वाधार निर्माण शुरु गरिएको छ । फुटबल मैदान सम्याएर छोडिएको छ ।

गतवर्ष संघीय सरकारले उपलब्ध गराएको १ करोड रुपैयाँबाट फुटबल मैदान निर्माण शुरु गरिएको हो । नयाँ आर्थिक वर्षसँगै काम अघि बढ्ने विश्वास गरिएको छ । निर्माणाधिन खेलग्राम ३ सय ८ मिटर लम्बाई र १२० मिटर चौडाईको छ । मैदानको पूर्वतर्फ  १ सय २० मिटर लम्बाईको पर्खाल लगाईको छ । पर्खाल ५ मिटर अग्लो र सवा दुईमिटर चौडाईको छ । प्रतिवेदन अनुसार मैदानको चारैतिर बालुवा, ढुंगा, ग्राभेल छ । ‘एककरोड रुपैयाँले पर्खाल निर्माण र जमिन सम्याउने काममा खर्च गरिएको छ,’ गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले भने ।  

उनका अनुसार फुटबल मैदान भन्दा तल बास्केटबल कोर्ट, भलिबल कोर्ट तयार गरिदैं छ । ‘भलिबल र बास्केटबल कोर्टको ढलानको काम भईरहेको छ,’  विष्टको भनाई थियो । चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट २० लाख रुपैयाँ छुट्टिएको थियो । संघीय सरकारबाट २५ लाख रुपैयाँ विनियोजन भएको प्रदेश सदस्य विष्टले सुनाए । ‘प्रदेशको २० लाख र संघीय सरकारको २५ लाख रुपैयाँबाट काम अघि बढाइएको छ,’ उनको भनाई थियो । प्रदेश र संघको बजेटबाट बास्केटबल र भलिबल कोर्ट ढलान कार्य गरिएको उनले बताए । बजेटबाटै केही ठाँउमा रिटेनिङ वाल पर्खाल उठाइएको छ ।  

निर्माणाधिन खेलग्राममा फुटबल मैदानसहित ९ लेनको एथलेटिक्स ट्रयाक(सिन्थेटिक) बनाइने छ । नौलेनको ट्रयाक भने गण्डकी प्रदेशमै छैन । गण्डकी प्रदेशकै राजधानी पोखरा रंगशालामा निर्माण गरिएको एथलेटिक्स ट्रयाक ८ लेनको बन्ने प्रतिवेदमा छ । १०० मिटरको ट्रयाक मात्रै १० लेनको बनाइएको छ । उच्च हिमाली क्षेत्र भएकै कारण मैदान सिजनेबल हुने छ । डिपिआर अनुसार फुटबल मैदान, प्यारापिट, बास्केटबल कोर्ट, भलिबल कोर्ट, भिआईपी भवन, चेन्जिङ रुमसहित पार्किङ एवं शौचालय निर्माण गरिने छ । दुईहजार दर्शक क्षमताको प्यारापिट निर्माण हुने प्रतिवेदनमा उल्लेख छ । कुल लागत ५ करोड ९७ लाख रुपैयाँ छ । निर्माण कार्य स्थानीय किमलिङ खेलग्राम निर्माण उपभोक्ता समितिले गरिरहेको छ । लोमान्थाङ  पोखरादेखि २४० किलोमिटर दुरीमा रहेको छ ।  

खेलग्राम निर्माणपछि ‘हाईअल्टिच्युड टे«निङ सेन्टर’ हुने विश्वास मुस्ताङबासीले गरेका छन् । मुस्ताङकै जोमसोममा भने ८ करोडको लागतमा बहुउद्देश्यीय कभर्ड हल निर्माण कार्य शुरु गरिएको छ । गएको जेठदेखि निर्माण कार्य शुरु गरिएको हो । खेलकुदका पूर्वाधार तयार भएपछि रहस्यमयी माटोको शहरको रुपमा परिचित मुस्ताङको उपल्लो भाग ‘लोमान्थाङ’ अब खेलकुदको गन्तव्य बन्न दावी स्थानीयको छ । 

प्रकाशित: २३ असार २०७८ १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App