८ वैशाख २०८१ शनिबार
खेल

गोल्डेन बुटसहित भेटिए बोडेका ‘मेसी’

एक दशकअघि एउटा खुट्टामा मात्र बुट लगाएर फुटबल खेल्दै गरेका किशोर मंगलबार बोडेमा ‘गोल्डेन बुट’ सहित भेटिए।

एक दशकअघि एउटा खुट्टामा बुट र अर्को खुट्टामा चप्पल लगाएर टुर्नामेन्ट खेल्दै गरेका किशोर मंगलबार बोडेमा गोल्डेनबुट सहित भेटिएका छन्। ‘कता होलान् बोडेका मेसी’ शीर्षकको समाचार प्रकाशित भएपछि खोज्ने क्रममा सुनेश श्रेष्ठ भक्तपुरको बोडेमा  हँसिलो मुद्रामा भेटिए।  

‘दाइ, म त यहीँ बोडेमै छु नि,’ पंक्तिकारसँग भेटेलगत्तै उनी मुस्कुराए, ‘मैले पनि समाचार पढे सानो बेलाको सबै याद आयो। अहिले ती सबै सपनाजस्तो लाग्दै छ।’  

सपना नलागोस् पनि किन ! त्यतिबेला मुस्किलले चार फिट उचाइ र करिब ४० किलो तौल भएका १३ वर्षीय उनी यति बेला ५ फिट ९ इन्च अग्ला र ७० केजीभन्दा बढी तौलका २२ वर्षे लक्का जवान थिए। ‘त्यतिबेला म मैदानमा सबैभन्दा सानो थिएँ,’ उनले भने, ‘अहिले  म निकै फरक देखिएको छु।’  

एक दशकका समयमा उनी मात्र हैन, उनको खेल पनि निकै फरक भएको रहेछ। यस बीचमा उनले जिल्ला–जिल्लामा पुगेर विभिन्न प्रतियोगितामा भाग लिइसकेका रहेछन्। तीन वर्षअघि त उनले रामेछापको भुजीमा पुगेर गोल्डेन बुट समेत जितेका रहेछन्। ‘सो प्रतियोगितामा १२ गोल हानेको थिए,’ उनले भने, ‘बुटको अभावमा खेल्दै आएको हामीजस्तालाई गोल्डेन बुट पाउँदा निकै खुसी लाग्यो।’  

डिभिजन ए लिगको  फुटबल खेल्न नपाए पनि च्यासल क्लवमा आबद्ध रहेर गोल्डकपमा सामेल भएको अनुभव उनले सुनाए। ‘मेरो फुटबलको भोक कहिल्यै कम भएन,’ उनले भने, ‘निरन्तर विभिन्न क्लवमा आबद्ध भएर खेल्दै आएको छु।’ पछिल्लो समय एफसी र्यालेमा आबद्ध भएर विभिन्न प्रतियोगितामा सहभागी हुँदै आएका उनी लकडाउनले केही समय खेल रोकिएको सुनाउँछन्।

साथीको दाहिने बुट सापटी मागेर फुटबल खेल्दै गरेका सुनेशले अहिले बुटको कमी नरहेको सुनाए। ४ कक्षामा पढ्दै गरेको उक्त समयको याद गर्दे ८ कक्षामा पढेपछि पहिलो पल्ट दुवै खुट्टामा बुट लगाएको उनले सम्झिए। ‘मध्यपुर युथ एकडेमीमा भर्ना भए पनि पहिलो पल्ट दुवै खुट्टामा बुट लगाए,’ उनले हाँस्दै भने, ‘अहिले त मेरो घरमा बुटको चाङ छ।’

मेसी अंकित टिसर्ट लगाएर खेल्दै गरेका उनी अझै मेसीकै फ्यान रहेछन्।‘मेसी जस्तो कोही छैन,’ युरो र कोपा अमेरिका दुवै फुटबल नियाल्दै गरेका उनले भने, ‘उनी खेलुञ्जेल अर्को खेलाडीको कल्पना गर्दिनँ।’ 

नेपाली खेलाडी अन्जर विष्ट र रोहित चन्दलाई मन पराउने उनी आफू पनि मुलुकका लागि खेल्ने रहर पालेको सुनाउँछन्। ‘मिहेनत गर्दा पनि सबै रहर पूरा हुन मुस्किल हुँदो रहेछ, ‘उनले भने ‘तैपनि मुलुकका लागि खेल्ने सपना अझै छाडेको छैन।’ 

प्रकाशित: २३ असार २०७८ ०७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App