८ वैशाख २०८१ शनिबार
खेल

युरो कप २०२० : इङ्ल्यान्ड फाइनल पुग्नेमा विश्वस्त

इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्नो टोली बुधबार डेनमार्कलाई हराउँदै युरो कप २०२० को फाइनल प्रवेश गर्नेमा विश्वस्त रहेको बताएका छन्।

इङ्ल्यान्ड सन् १९६६ पछि कुनै पनि प्रमुख प्रतियोगिताको फाइनल प्रवेश गर्न सकेको छैन। सन् १९६६ पछि इङ्ल्यान्ड प्रमुख प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको यो दोस्रो पटक हो। यसअघि इङ्ल्यान्ड सन् २०१८ को रूस विश्वकपको सेमिफाइनल प्रवेश गरे पनि त्यहाँभन्दा अघि बढ्न सकेको थिएन।

समूह ‘डी’ को विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको इङ्ल्यान्डले जर्मनीमाथि २५ वर्षपछि नकआउट चरणमा जित हात पार्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। क्वार्टरफाइनलमा इङ्ल्यान्डले युक्रेनलाई ४–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो।

साउथगेटले आफ्नो टोलीले विगतको गल्ती सुधार गरेकाले यस पटक सेमिफाइलन पार गर्ने दाबी गरे। ‘हामीले नकआउट चरणको पहिलो भिडन्तमै जर्मनीसँग प्रमुख प्रतियोगिताको नकआउट चरणमा बेहोर्दै आएको हारको शृंखलामा पूर्णविराम लगायौँ,’ साउथगेटले भने, ‘त्यसपछि पनि टोलीले युक्रेनको चुनौती पार गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। हामी ३ वर्षअघि विश्वकपको सेमिफाइनलमा रोकिएका थियौं।’ ‘युरो कप २०२० मा भने हामी डेनमार्कलाई निराश पार्दै उपाधिका लागि एक कदम अघि बढ्न चाहन्छौँ,’ साउथगेटले अगाडि भने,’ 

‘खेलाडीहरूको मनोबल उच्च छ। हामी सेमिफाइनल यात्राले मात्र सन्तुष्ट छैनौँ। हामी लगातार दोस्रो पटक प्रमुख प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका  हौँ र त्यो यात्रा फाइनलसम्म डोर्‍याउन चाहन्छौँ। घरेलु समर्थक हाम्रा लागि सधैँ विशेष ऊर्जा हुन्।’

डेनमार्क र इङ्ल्यान्ड पछिल्लो पटक सन् २०२० मा नेसन्स लिगमा वेम्बलीमा आमनेसामने भएका थिए। जहाँ क्रिस्टियन इरिक्सनको पेनाल्टी गोलमा डेनमार्कले इङ्ल्यान्डलाई १–० ले हराएको थियो। एक वर्षपछि इङ्ल्यान्ड र डेनमार्क वेम्बलीमै प्रतिस्पर्धा गर्दै छन् तर यस पटक इरिक्सन डेनमार्क टोलीमा छैनन्। फिनल्यान्डविरुद्धको समूहचरणको पहिलो खेलमा इरिक्सन हृदयाघातका कारण मैदानमा ढलेका थिए। त्यसयता उनी घरमै स्वास्थ्यलाभ गरिरहेका छन्। उनको आगामी खेलजीवन के हुने भन्नेमै दुबिधा छ।

डेनमार्क युरो कपको उपाधि जित्दै सो सफलता इरिक्सनलाई समर्पण गर्न चाहन्छ। समूहचरणका सुरुआती २ खेल गुमाएको डेनमार्कले समूहचरणको अन्तिम र अन्तिम १६ तथा क्वार्टरफाइनल गरी तीन खेलमा ११ गोल गर्दै आफूहरू उच्च लयमा रहेको संकेत गरिसकेको छ।  

डेनमार्क सन् १९८४ को सेमिफाइनलमा स्पेनसँग निराश भएको थियो भने सन् १९९२ मा भने प्रतियोगिताको उपाधि जितेको थियो। त्यसपछि भने डेनमार्कले प्रमुख प्रतियोगितामा आफ्नो सहभागिता उल्लेख्य बनाउन सकेको छैन।

‘इङ्ल्यान्डविरुद्धको खेल अवे खेलसरह हो, तर यसको छुट्टै विशेषता छ,’ डेनमार्कका प्रशिक्षक कास्पर हाजुल्मान्डले भने, ‘हामी वेम्बलीमा इङ्ल्यान्डलाई निराश पार्दै युरो कप उपाधि साकार पार्ने लक्ष्यमा थप एक कदम अघि बढ्न चाहन्छौँ।’

प्रकाशित: २३ असार २०७८ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App