coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पेनाल्टी रोक्न छोरा तयार छ : पिटर स्माइकल

डेनमार्कका पूर्वगोलकिपर पिटर स्माइकलले बुधबार इङ्ल्यान्डसँगको युरो कप २०२० को सेमिफाइनलमा पेनाल्टी सुटआउट भए आफ्ना छोरा कास्पर स्माइकल तयार रहेको बताएका छन्।

पिटरले आफ्नो देश डेनमार्कलाई कमजोर नठान्न चेतावनी दिँदै बुधबारको सेमिफाइनलमा इङ्ल्यान्डसँग पेनाल्टी सुटआउट भए आफ्ना छोरा कास्पर तयार रहेको प्रस्ट्याएका हुन्। म्यानचेस्टर युनाइटेडका पूर्वगोलकिपर पिटरका छोरा कास्पर स्माइकलले सेमिफाइनलमा पुगेको डेनमार्कको गोलपोस्ट समालिरहेका छन्। कास्पर इङ्लिस प्रिमियर लिग क्लब लेस्टरका गोलकिपर हुन्। डेनमार्कले सन् १९९२ मा पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जित्दै विश्वलाई नै चकित बनाउँदा पिटरले डेनिस टोलीको गोलपोस्ट समालेका थिए। त्यो युरो कपमा युगोस्लाभिया अयोग्य भएपछि अन्तमा डेनमार्कले युरोपियन च्याम्पियनसिप खेल्ने अवसर पाएको थियो, जहाँ पिटरले गोलपोस्ट रक्षा गरेको डेनिस टोलीले युरो च्याम्पियन नै भएर विश्वलाई चकित बनायो।

उक्त युरो कपको समूहचरणमा पिटरले इङ्ल्यान्डविरुद्ध क्लिनसिट राखेका थिए। सेमिफाइनलमा पनि नेदरल्यान्डलाई ५–४ ले पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदा पिटरले मार्को भान बास्टेनको प्रहारलाई विफल पारेका थिए। फाइनलमा पनि पिटरको टोली डेनमार्कले जर्मनीजस्तो बलियो टोलीलाई निराश बनाउँदै विश्व फुटबलमा आफ्नो देशको नाम सुनौलो अक्षरमा लेखायो। ‘मलाई विश्वास छ, उनले (छोरा स्माइकल)  पनि मैले जस्तै सोचेका छन्। अझै अर्को चुनौती बाँकी छ भन्ने उसलाई स्पष्ट थाहा छ,’ ५७ वर्षे पिटरले भने । आगामी बुधबार इङ्ल्यान्डसँग पेनाल्टी सुटआउट भए डेनमार्कका गोलकिपर कास्पर कतिको तयार छन् भन्ने प्रश्नमा उनका पिता पिटरले आफ्नो छोरा तयार रहेको बताएका हुन्।  

‘त्यस्तो परिस्थिति (पेनाल्टी) जहिले पनि आउन सक्छ भन्ने गोलकिपर जानकार नै हुन्छ। यो जिम्मेवारी निकै ठूलो हो। तर, एउटा गोलकिपरको रूपमा उनी यो जिम्मेवारी वहन गर्न तयार नै छन्,’ छोराबारे पिटरले भने, ‘मलाई लाग्छ उनले (कास्पर) पनि युरोपियन च्याम्पियनसिपमा डेनमार्कले पेनाल्टी सुटआउटमा हराएका बारे सोचे होलान्। त्यसैले उनले पनि यो चुनौती पार गर्नेबारे सोचिसके।’ गत बुधबार इङ्ल्यान्डलाई नै वेम्बलीमा फाइनलमा पुग्ने दाबेदारका रूपमा हेरिएको छ, जो पहिलो पटक युरो कपको उपाधिका लागि भिड्न सक्नेछ। तथापि, पिटर स्माइकलले डेनमार्कलाई कमजोर नआक्न गारेथ साउथगेटको टोली  इङ्ल्यान्डलाई सचेत गराएका छन्।  

युरो कपको आफ्नो पहिलो खेलमा नै डेनमार्कका क्रिस्टियन एरिक्सनजस्तो महत्वपूर्ण खेलाडी हृदयाघातका कारण ढलेका थिए। त्यसको असर खेलमा पनि पर्दा डेनमार्कले खराब सुरुआतका बावजुद सनसनीपूर्ण सेमिफाइनलसम्मको यात्रा तय गरेको छ। सोही डेनमार्कको टोली उपाधि जित्दै आफ्ना सहकर्मी एरिक्सनलाई उपहार सुम्पिन चाहन्छ। ‘जो कुनै टोली सेमिफाइनलमा पुग्छन् भने त्यो टोली पनि राम्रो छ भन्ने  बुझ्नुपर्छ,’ पिटरले भने, ‘जस्तोसुकै भए पनि सेमिफाइनलमा क्षमतावान् टोली नै पुग्छन् र त्यो टोलीले राम्रो खेल्छन् नै।’ साथै पिटरले इटाली र स्पेनसँग पनि आफ्नो टोलीले उत्तिकै चुनौती दिन सक्ने बताएका छन्। ‘अहिलेसम्म यहाँ आइपुग्नु नै हामी बलियो टोली हौं भन्ने प्रमाणित भएको छ। साथै हामी हरेकका लागि खतरनाक टोली बन्न सक्छौं,’ पिटरले सचेत गराए।

प्रकाशित: २२ असार २०७८ ०३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App