८ वैशाख २०८१ शनिबार
खेल

पोखरा स्पोर्टस अवार्डः नवीन र पार्वती सर्वोत्कृष्ट खेलाडी

लाईफटाइम अचिभमेन्ट अवार्ड रञ्जितलाई

उत्कृष्ट पत्रकारिता अवार्ड नागरिककर्मी श्रेष्ठलाई

पोखरा स्पोर्टस् अवार्डमा सर्वोत्कृष्ट खेलाडी पुरुष र महिलातर्फको अवार्ड बिजेताहरु । तस्बिर : उमेश पुन/नागरिक

नवीन रसाईली र पार्वती गुरुङ पाँचौं संस्करणको पोखरा स्पोर्टस अवार्डको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार वितरण गरेको अवार्ड कार्यक्रममा पुरुषतर्फ कराँतेका रसाइली र महिलातर्फ तेक्वान्दोकी गुरुङले वर्ष सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।

उत्कृष्ट तीन मनोनयनमा परेका नवीनले विनेश खनिया (टेबलटेनिस) र सुमन अर्याल (फुटबल)लाई पछि पार्दै सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फको अवार्ड जिते । उनी तेह्रौ दक्षिण एशियाली खेलकुद (साग)का गोल्ड मेडलिस्ट हुन् । त्यस्तै, पार्वतीले जमुना थापा (साइक्लिङ) र प्रशंसा क्षेत्री (तेक्वान्दो)लाई पछि पार्दै अवार्ड जितिन् । उनीपनि तेह्रौं सागकी स्वर्ण पदक बिजेता हुन् । सर्वोत्कृष्ट खेलाडी महिला तथा पुरुष दुबैले जनही दुईलाख रुपैयाँसहित अवार्ड प्राप्त गरे । उदीयमान वर्ष खेलाडी विधामा स्विमिङकी दुवाना लामाले अवार्ड जितिन् । लामाले प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट)लाई पछि पार्दै अवार्ड जितेकी हुन् ।

यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षक विधामा बक्सिङका सुरेश मल्ल ठकुरीले अवार्ड जिते । उनले आनन्द कुँवर (पौडी) र किरण श्रेष्ठ (फुटबल)लाई पछि पार्दै अवार्ड जितेका हुन् । उत्कृष्ट प्रशिक्षक ठकुरी र उत्कृष्ट उदीयमान खेलाडी बनेकी दुवानाले जनही ३५ हजार रुपैयाँसहित अवार्ड हात पारे ।

मञ्चले वर्ष उत्कृष्ट संघ विधामा कास्की जिल्ला आर्चरी संघलाई अवार्ड प्रदान गरेको छ । पछिल्लो एकवर्ष भित्र संघले गरेका खेलकुदका गतिविधि, प्रशिक्षण तथा खेलाडी उत्पादन सहित खेल पूर्वाधार निर्माणमा गरेको प्रगतिका आधारमा आर्चरी संघलाई उत्कृष्ट खेल संघ छनौट गरेर मञ्चले अवार्ड प्रदान गरेको हो । संघलाई पनि नगद ३५ हजार रुपैयाँसहित अवार्ड प्रदान गरियो । अवार्ड विजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितले अवार्ड प्रदान गरे ।

लाईफटाइम अचिभमेन्ट अवार्ड रञ्जितलाई

खेलकुद पत्रकार मञ्च गण्डकीले पूर्व अन्तर्राष्ट्रिय खेलाडी आनन्द रञ्जितलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीलगायतले लाईफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका रञ्जितलाई चाँदीबाट निर्मित ट्रफी, सम्मानपत्र, दोषल्ला, माला लगाएर सम्मान गरेका थिए ।

लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित रञ्जितले झण्डै ५ दशक फुटबलमा बिताएका छन् । उनी फुटबलका पूर्व राष्ट्रिय टिमका सदस्य हुन् । २०३८ सालमा फुटबलको राष्ट्रिय टिममा परेका उनले २०३१ सालदेखि २०४५ सालसम्म झण्डै डेढदशक गण्डकी अञ्चलको कप्तानी सम्हालेका थिए । रञ्जितले महेन्द्र पुलिस क्लव, न्यूरोड टिम (एनआरटी)लगायतबाट पनि खेलेका थिए । उनी सन २००३ सालमा नेपाली राष्ट्रिय टिमको अफिसियल भई दक्षिण कोरिया, भारत र थाईल्याण्ड गएका थिए ।

नागरिककर्मी श्रेष्ठलाई उत्कृष्ट पत्रकारको अवार्ड

उत्कृष्ट खेल पत्रकारिता अवार्ड जितेका नागरिककर्मी सन्देश श्रेष्ठ । तस्बिर : उमेश पुन/नागरिक

वर्ष उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड विधामा नागरिककर्मी सन्देश श्रेष्ठले अवार्ड जिते । उनी वर्ष उत्कृष्ट खेल पत्रकार २०७६ हुँदै अवार्ड हात पारेका हुन् । त्यस्तै सोहि विधाको वर्ष २०७७ उत्कृष्ट खेल पत्रकारको अवार्ड अर्का खेल पत्रकार केशव पाठकले हात पारे । वर्षभरिको खेल रिपोर्टिङको आधारमा अवार्ड जितेका उनीहरुलाई जनही ३५ हजार रुपैयाँसहित अवार्ड प्रदान गरिएको थियो ।

प्रकाशित: १८ असार २०७८ १४:०७ शुक्रबार

पोखरा स्पोर्टस अवार्ड