coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टोकियोे ओलम्पिक: छोटो समयको बन्द प्रशिक्षणमा नेपाली खेलाडी

विश्व खेलकुदको महाकुम्भ टोकियोमा हुने ३२औं ग्रीष्मकालीन ओलम्पिकका लागि नेपाली खेलाडीहरू पनि यति बेला तयारीमा जुटिरहेका छन्।

टोकियो ओलम्पिकका लागि विश्वभरका खेलाडीले जस्तै नेपाली खेलाडीले पनि लामो समयदेखि तयारी गरिरहेका छन्। ओलम्पिकमा प्रतिस्पर्धा गर्ने माध्यम छनोट चरण, वाइल्ड काल्र्ड र युनिभर्सिलिटी स्कलरसिप हुन्। यस पटक भने नेपाली खेलाडीले वाइल्ड कार्ड र युनिभर्सिलिटी स्कलरसिपतर्फ विश्व खेलकुदको महाकुम्भ मेला टोकियो ओलम्पिकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै छन्। कोरोना महामारीका कारण एक वर्ष ढिला गरी आयोजना हुन लागेको टोकियो ओलम्पिक आगामी जुलाई २३ देखि सुरु हुँदै छ।  

जहाँ पौडीका गौरिका सिंह, एलेक्स शाह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सका सरस्वती चौधरीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्दै छन्। म्याराथनका गोपीचन्द्र पार्कीले ओलम्पिक खेल्ने भनिए पनि बिहीबार मात्र उनको स्थानमा सरस्वतीले एक सय मिटर स्पर्धामा प्रतिस्पर्धा गर्ने भएकी हुन्। यी खेलाडीले लामो समयदेखि तयारी गरिरहे पनि बुधबारदेखि भने १५ दिनको बन्द प्रशिक्षण सुरु गरेका छन्। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राईले गौरिका र सरस्वतीबाहेक अन्य खेलाडीलाई बुधबारबाट बन्द प्रशिक्षणमा राखिएको बताए। ‘गौरिका बेलायतबाटै ओलम्पिक जानेछिन्। एथ्लेटिक्समा खेलाडी परिवर्तनका कारण कुन प्रशिक्षक र कहाँ खेल्ने भन्नेबारे टुङ्गो लागेको छैन। सम्भवत् छिट्टै हुन्छ होला,’ निर्देशक राईले भने, ‘उनीहरू जुलाई १५ सम्म बन्द प्रशिक्षणमा रहनेछन्। स्विमिङ भने केही दिनमै ओलम्पिकका लागि जापान उड्नेछ।’ 

पौडीका गौरिका र एलेक्स तथा एथ्लेक्टिक्सका सरस्वतीले युनिभर्सिलिटी प्रेसेसको माध्यमबाट ओलम्पिकमा चुनौती प्रस्तुत गर्न लागेका हुन्। सुटिङकी कल्पना र जुडोकी सोनिया भट्टले वाइल्ड कार्डमार्फत ओलम्पिक खेल्ने अवसर पाएका छन्। म्याराथनका गोपीचन्द्र पार्कीले ओलम्पिक खेल्ने भनिए पनि बिहीबार मात्र उनको स्थानमा सरस्वतीले एक सय मिटरमा प्रतिस्पर्धा गर्ने भएकी हुन्।  

अन्तिम समयमा भाग्यशाली खेलाडी बनेकी सरस्वतीले तत्कालै कुनै प्रतियोगिता नभए पनि आफूले लगनखेलस्थित त्रिभुवन आर्मी क्लबमा प्रशिक्षण गरिरहेको बताइन्। ‘शुक्रबारदेखि बन्द प्रशिक्षण हुने जानकारी पाएका छु। ओलम्पिक खेल्ने भर्खर तय भए पनि निरन्तर प्रशिक्षणमा नै छु,’ उनले भनिन्। गौरिका र एलेक्सले सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। गौरिका बेलायतमा नै प्रशिक्षणरत छिन् भने एलेक्सले लिंकन स्कुलमा लामो समयदेखि प्रशिक्षण गरिरहेका छन्। मुख्य प्रशिक्षक शंकर कार्की र एलेक्स यसै साता टोकियो जाने तयारीमा छन्।  

जुडोकी सोनियाले पनि पुलिस एकेडेमीमा रहेर नियमित अभ्यास गर्दै आइरहेकी थिइन्। यद्यपि, पछिल्लो समयमा भने उनी प्रिजनर एसिस्टेन्ट नेपाल (पाम) मा सूर्यनारायण श्रेष्ठको प्रशिक्षणमा तयारी गरिरहेकी छन्। संघको आफ्नै केन्द्रीय प्रशिक्षण स्थल अभावका कारण सोनियाले विभिन्न स्थान खोज्दै आउनुपरेको छ। पाममा पनि पर्याप्त स्थान नभएकाले उनी नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा प्रशिक्षण गर्ने तयारीमा छिन्। सोनियाले ४८ केजी तौलसमूहमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्दै छिन्।

सुटिङकी कल्पनाले भने सातदोबाटोस्थित सुटिङ रेन्जमा प्रशिक्षण गरिरहेकी छिन्। उनले पनि लामो समयदेखि असीम यादवको प्रशिक्षणमा तयारी गर्दै छिन्। सुटिङबाट ओलम्पिक खेल्ने पाँचौं नेपाली खेलाडी कल्पनाले १० मिटर एयर राइफलमा चुनौती प्रस्तुत गर्दै छिन्। ओलम्पिक खेल्ने हरेक खेलाडीका लागि ठूलो सपना हुने गर्दछ। तर, महामारीका कारण उडानमाथि प्रतिबन्ध लगाउँदा नेपालका खेलाडीले टोकियो ओलम्पिकको छनोटसमेत गुमाएका थिए। नेपाली तेक्वान्दोका निमा गुरुङ, भूपेन्द्र श्रेष्ठ र वीरबहादुर महराले जोर्डनमा सम्पन्न छनोट चरणमा सहभागिता जनाउन पाएनन्।

उनीहरूसँगै नेपालको पारा तेक्वान्दोले पनि छनोटचरण गुमायो। तर, पारा तेक्वान्दोतर्फ भने पलिशा गोवर्धनले वाइल्ड कार्ड प्राप्त गरिन्। वरीयता सुधार गर्न नपाउँदा नेपाली करातेको पहिलो पटक ओलम्पिक खेल्ने सपना पनि अधुरै रह्यो। छनोट र वरीयता खेल पनि खेल्न नपाएकाले वाइल्ड कार्डमा समेत त्यसको प्रभाव परेको थियो। नेपालले दुई पटक मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेको छ तेक्वान्दोकै संगीना वैद्य र दीपक विष्टले त्यो छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए। 

छनोट चरणमा नेपाली खेलाडीको प्रदर्शन फितलो रहँदा नेपालका लागि वाइल्ड कार्ड नै ओलम्पिक खेल्ने माध्यम बन्दै आइरहेको छ। यस पटक नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बक्सिङकी मिनु गुरुङ, आर्चरीका ज्ञानु अवाले र तिलक पुन, जुडोका सोनिया र इन्द्रबहादुर श्रेष्ठ, तेक्वान्दोका वीरबहादुर महरा, करातेका अनु अधिकारी र नवीन रसाइली, सुटिङका कल्पना र सुस्मिता नेपाल तथा भारोत्तोलनका सन्जु चौधरी र कमला श्रेष्ठको नाम वाइल्ड कार्डका लागि पठाएको थियो। यी खेलाडीमध्ये कल्पना र सोनियाले मात्र वाइल्ड कार्ड प्राप्त गरे। भारोत्तोलन तर्फबाट भने गत मंगलबारसम्म वाइल्ड पाउने आशा थियो।  

तर, वाइल्ड कार्डको छनोट टोली अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, सम्बन्धित खेलको विश्व महासंघ र आयोजकले नेपालको भारोत्तोलनलाई वाइल्ड कार्डको अवसर दिएनन्। यससँगै टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडीले मात्र प्रतिस्पर्धा गर्ने भएका हुन्। विश्व खेलकुदकै महाकुम्भ मेला यस ओलम्पिकमा विश्वका दुई सयभन्दा बढी राष्ट्रका ११ हजारभन्दा बढी खेलाडीले ३३ खेलमा प्रतिस्पर्धा गर्दै छन्।  

जहाँ नेपाली खेलाडीले पनि टोकियोस्थित नेसनल स्टेडियममा आगामी जुलाई २३ मा हुने उद्घाटन समारोहमा नेपालको झन्डा फहराउनेछन्। उक्त ओलम्पिकका लागि एनओसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई सेभ द मिसन तोकिसकेको छ।

प्रकाशित: १८ असार २०७८ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App