१५ चैत्र २०८० बिहीबार
खेल

पोखरा स्पोर्टस अवार्ड भोलि

‘पोखरा स्पोर्टस अवार्ड’ भोलि शुक्रबार हुँदैछ । खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हरेकवर्ष हुँदै आएको अवार्डको पाँचौ संस्करण शुक्रबार पोखरामा आयोजना हुन लागेको हो । खेलकुदका विभिन्न ७ विधामा अवार्ड वितरण गरिदैछ ।

पोखरा रंगशालामा हुने अवार्ड वितरण समारोहको तयारी पूर्ण रुपमा पूरा भएको आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । गत बैशाखमै गर्ने भनिएको अवार्ड कोभिड–१९ को संक्रमण बढेर प्रशासनले लगाएको निषेधाज्ञाका कारण रोकिएको थियो । मञ्चका अध्यक्ष एकराज गिरीले तयारी पुरा भएको बताए ।

आयोजकले अघिल्लो वर्ष र यसवर्ष गरेर दुईवर्षको अवार्ड एकैपटक गर्न लागेको जनाएको छ । मञ्चका अनुसार यसवर्ष अघिल्लो वर्षहरुमा जस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गरिनेछ ।  

अवार्डका लागि मञ्चले चारविधामा ३–३ जनाको दरले नोमिनेसन सार्वजनिक गरिसकेको छ । यसवर्षको सर्वोत्कृष्ट खेलाडी पुरुष विधामा नवीन रसाइली (कराँते), विनेश खनियाँ (टेबलटेनिस) र सुमन अर्याल (फुटबल) मनोनयनमा परेका छन् । त्यस्तै सर्वोत्कृष्ट महिला खेलाडी विधामा जमुना थापा (साइक्लिङ), पार्वती गुरुङ (तेक्वान्दो) र प्रशंसा क्षेत्री  (तेक्वान्दो) नोमिनेसनमा परेका छन् ।

पोखरा स्पोर्टस अवार्डको वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ दुवाना लामा (पौडी), प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) परेका छन् । त्यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल) र सुरेश मल्ल ठकुरी (बक्सिङ) मनोनयनमा परेका छन् ।

मञ्चले यस वर्ष उत्कृष्ट खेल संघतर्फ आर्चरी संघलाई अवार्ड वितरण गर्ने जनाएको छ । वार्षिक रुपमा संघले गरेका खेलकुदका गतिविधि, खेल पूर्वाधार निर्माण लगायतमा उत्कृष्ट कार्य गर्नेलाई आधार बनाएर मञ्चले उत्कृष्ट खेल संघ छनौट गरेर अवार्ड वितरण गर्ने गरेको छ । मञ्चले यस वर्ष वर्ष उत्कृष्ट खेल पत्रकार विधातर्फ भने दुईजना पत्रकारलाई अवार्ड प्रदान गर्ने जनाएको छ । अघिल्लो वर्ष र यस वर्ष गरेर दुईवर्ष भएकाले दुईजना पत्रकारलाई अवार्ड वितरण गर्न लागिएको मञ्चका महासचिव बिजय नेपालले बताए ।

मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड पाउनेलाई चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्लाले सम्मान गर्ने जनाएको छ । त्यस्तै, वर्ष खेलाडी पुरुष र महिलालाई जनही २÷२ लाख, सम्मानपत्र, ट्रफी र दोसल्ला रहेको अध्यक्ष गिरीले जानकारी दिए । उनका अनुसार वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेल पत्रकारलाई भने जनही ३५–३५ हजार रुपैयाँ, सम्मानपत्र, ट्रफि र दोसल्लाले सम्मान गर्नेछ ।

प्रकाशित: १७ असार २०७८ १४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App