स्पेनले युरो कप २०२० अन्तर्गत समूह ‘सी’ का तीनवटै खेल घरेलु मैदान सेभियामा खेल्यो। तीनवटै खेलमा स्ट्राइकर अल्भारो मोराटा चर्चामा रहे। कारण पर्याप्त गोलको अवसर र फिनिसिङमा असफल। मोराटाले स्लोभाकियाविरुद्धका अन्तिम लिग खेलमा पेनाल्टीको समेत सदुपयोग गर्न सकेनन्। लगातार तीन खेलमा स्वाभाविक प्रदर्शन गर्न नसकेका मोराटालाई खेलपछिको पत्रकार सम्मेलनमा सोधिने एउटै प्रश्न थियो, ‘घरेलु मैदानमा चल्न सकेनौ,अवे मैदानमा तपाईबाट के आशा गर्ने ?’
‘म युरो कप २०२० को सबै खेल घरेलु मैदानमा नै खेल्न चाहन्छु,’ मोराटाले भनेका थिए, ‘तर मेरो खराब प्रदर्शनको सजाय मेरो परिवारलाई दिइयो। उनीहरूलाई ज्यान मार्ने धम्की दिइयो र म मानसिक दबाबमा परें। त्यसको प्रत्यक्ष असर मेरो प्रदर्शनमा परिरहेको छ।’ मोराटालाई खराब प्रदर्शनका बावजुद लागातार पहिलो रोजाइमा अवसर दिएको भन्दै प्रशिक्षक लुइस इनरिकेको समेत आलोचना भयो। तर इनरिकेको मोराटाप्रतिको विश्वासमा कमी आएन। स्पेनले सोमबार क्रोएसियामाथि ५–३ को सनसनीपूर्ण जित हात पार्यो।
निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो, जहाँ मोराटाले टोलीका लागि चौथो गोल गर्दै स्पेनको क्वार्टरफाइनलको ढोका खोलेका थिए। उनको यो गोलसँगै सम्भवतः इनरिकेको मोरोटाप्रतिको विश्वास थप चुलिएको हुन सक्छ। सुरुआती दुई खेलमा अंक बाँडेको स्पेनले समूहचरणको अन्तिम खेलमा स्लोभाकियामाथि ५–० को जित हात पारेको थियो। क्वार्टरफाइनलमा स्थान बनाउने क्रममा स्पेनले क्रोएसियामाथि ५–३ को जित हात पार्यो। अन्तिम ८ सम्मको यात्रा तय गर्न इनरिकेको टोलीले पछिल्लो २ खेलमा १० गोल गर्दै ३ गोल खायो।
प्रतियोगिताका ४ खेलमा ३ गोल गरेका मोराटाले आफू लयमा आएको संकेत गरिसकेका छन्। अग्रपंक्तिमा सुदृढ देखिए पनि स्पेनका गोलकिपर युनेई सिमोनले गर्ने गल्तीले भने अन्तिम १६ सम्म निरन्तरता पायो। प्रतियोगिताको सुरुआतमा स्पेनको पोस्ट कसले सम्हाल्छ भन्नेमा दुबिधा थियो। ब्राइटनका गोलकिपर रोबर्ट सान्चेज पहिलो रोजाइमा पर्ने खबर सार्वजनिक भइरहेका थिए। स्पेनी टोलीमा म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डी हिया पनि थिए, त्यसैले युनेई सिमोनले टोलीमा अवसर पाउँछन् भन्ने सम्भावना न्यून थियो।
कारण एट्लेटिक बिलबाओबाट सिमोनले गत सिजन ६ वटा गम्भीर गल्ती गरेका थिए। युरोपमै अन्य गोलकिपरको भन्दा उनको प्रदर्शन अहिले खराब थियो। राष्ट्रिय टोलीबाट समेत उनको गल्तीले निरन्तता पायो। अप्रिलमा कोसोभोविरुद्ध ३–१ को जित हात पारेको खेलमा उनले आफ्नै गम्भीर गल्तीका कारण गोल खाएका थिए। आफ्नो क्षेत्रभन्दा धेरै अघि बढेका सिमोनले न त बल क्लियर नै गरे न त नियन्त्रणमा नै लिए।
इनरिकेले विश्वास जितेका सिमोनले सोमबार क्रोएसियाविरुद्ध पनि त्यस्तै गल्तीलाई निरन्तरता दिए। स्पेनका पेर्डीको ब्याक पासमा सिमोन मुकदर्शक बन्दा बलले जाली चुमेको थियो। यद्यपि सिमोनले यास्को गाभारडियोल र आन्द्रेज क्रामारिचको उत्कृष्ट प्रहार विपल पार्दै आफ्नो गल्ती सुधार गरेका थिए।
प्रकाशित: १६ असार २०७८ ०२:५९ बुधबार