८ वैशाख २०८१ शनिबार
खेल

युरो कप: जर्मनीको दबाब चिर्ने लक्ष्य

युरो कप २०२० अन्तर्गत मंगलबार अन्तिम १६ का बाँकी दुई खेल हुँदै छन्। पहिलो खेलमा इङ्ल्यान्डले जर्मनीको सामना गर्दा दोस्रो खेलमा स्विडेन र युक्रेन आमनेसामने हुँदै छन्।

इङ्ल्यान्डविरुद्ध जर्मनी  

विश्व फुटबलमा इङ्ल्यान्ड र जर्मनी पुराना चिर प्रतिद्वन्द्वी हुन्,जहाँ जर्मनीले मुख्य प्रतियोगिताका नकआउटमा निरन्तर दबाब बनाइराखेको छ। सन् १९९६ को युुरो कपमा जर्मनीले इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा निराश पारेको थियो। त्यस क्रममा गारेथ साउथगेट पेनाल्टीमा चुकेका थिए। युरो कप २०२० को अन्तिम १६ मा विश्व फुटबलका पुराना चिर प्रतिद्वन्द्वी जर्मनी र इङ्ल्यान्ड आमनेसामने हुँदै छन्।

२५ वर्षअघि जर्मनीसँग निराश हुँदा पेनाल्टीमा चुकेका साउथगेट अहिले  इङ्ल्यान्ड टोलीको प्रशिक्षण सम्हालिरहेका छन्। के साउथगेटको प्रशिक्षणमा इङ्ल्यान्डले जर्मनीविरुद्ध नकआउट चरणमा भोग्दै आएको हारको शृंखलामा पूर्णविराम लगाउला ? समूह ‘डी’ बाट विजेताका रूपमा अन्तिम १६ प्रवेश गरेको इङ्ल्यान्डले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्नका लागि प्री क्वार्टरफाइनलमा समूह ‘एफ’ को उपविजेता जर्मनीलाई प्रतिद्वन्द्वीका रूपमा पाएको थियो।

समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाउने क्रममा इङ्ल्यान्डले पहिलो खेलमा क्रोएसियालाई हराएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डसँग बराबरी खेलेको थियो। अन्तिम खेलमा चेक रिपब्लिकलाई हराएसँगै इङ्ल्यान्ड समूह ‘डी’ को विजेता बनेको थियो। यता ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ बाट जर्मनी उपविजेता बनेसँगै यी पुराना चिर प्रतिद्वन्द्वीबीचको भिडन्त पक्का भएको हो। पहिलो खेलमा फ्रान्ससँग निराश बनेको जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४–२ ले हराएको थियो।

समूहचरणको अन्तिम खेलमा हंगेरीसँग जर्मनी २–२ को बराबरीमा रोकिएको थियो। सन् १९६६ मा इङ्ल्यान्डले अतिरिक्त समयमा जर्मनीलाई नै हराउँदै विश्वकपको उपाधि जितेको थियो। त्यसपछि इङ्ल्यान्ड र जर्मनी ४ पटक मुख्य प्रतियोगिताको नकआउट चरणमा भेट भएका छन्। जसमा ४ पटक नै जर्मनीले बाजी मारेको छ। समग्रमा यी दुई टोली ३६ पटक आमनेसामने भएका छन्। जहाँ  इङ्ल्यान्डले १६ र जर्मनीले १३ खेल जितेका छन्। ७ खेल भने बराबरीमा सकिएको छ।

प्रमुख प्रतियोगिताका नकआउट भिडन्तमा जर्मनी सधैँ इङ्ल्यान्डमाथि भारी हुँदैआएको छ। सन् १९६६ को विश्वकपमा हात पारेको जित इङ्ल्यान्डले जर्मनीमाथि मुख्य प्रतियोगिताको नकआउट चरणमा हात पारको एक मात्र जित हो। वेम्बलीमा मंगलबार हुने खेलमा साउथगेटको टोली जर्मनीको दबाब चिर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ। 

‘हामी प्रमुख प्रतियोगिताको नकआउट चरणमा निरन्तर जर्मनीसँग निराश हुँदै आएका छौं,’ साउथगेटले भने, ‘यस पटकको युरोमा हामी सो हारको शृंखलामा पूर्णविराम लगाउन चाहन्छौँ। हामी इतिहास रच्न चाहन्छाैँ।‘हामी इङ्ल्यान्डविरुद्ध इतिहासमा बलियो छौं, तर इङ्ल्यान्ड अहिले उच्च लयमा छ, त्यसैले विगतको नतिजाको अहिले अर्थ छैन,’ जर्मनीका प्रशिक्षक जोचिम लोउले भने, ‘घरेलु टोलीविरुद्ध खेल्न सहज हुँदैन।

स्विडेनविरुद्ध युक्रेन  

स्पेन, पोल्यान्ड र स्लोभाकिया सम्मिलित समूह ‘ई’ को विजेताका रूपमा नकआउट चरणमा स्थान बनाएसँगै स्विडेन हौसिएको थियो। पहिलो खेलमा स्पेनलाई गोलरहित बराबरीमा रोकेको स्विडेनले दोस्रो खेलमा स्लोभाकियालाई १–० र तेस्रो खेलमा पोल्यान्डलाई ३–२ ले हराएको थियो।

स्विडेन प्रमुख प्रतियोगिताको अन्तिम १६ बाट अहिलेसम्म अघि बढ्न सकेको छैन। त्यसैले मंगलबार युक्रेनको सामना गर्दा स्विडेन नमीठो विगतमा पूर्णविराम लगाउँदै क्वार्टरफाइनलमा स्थान बनाउन चाहन्छ। ‘हामी नकआउट चरणको विगत बदल्न चाहन्छाैँ। मेरा खेलाडीहरू इतिहास रच्न आतुर छन्,’ स्विडेनका प्रशिक्षक याने एन्डरसनले भने। यता युक्रेन भने स्विडेनको नकआउट चरणको विगतको इतिहासको निरन्तरताका साथ अघिल्लो चरणमा स्थान सुरक्षित गर्नेमा केन्द्रित छ।

समूहको पहिलो नेदरल्यान्ड्ससँग हारेको युक्रेनले दोस्रो खेलमा नर्थ म्यासेडोनियालाई हराएको थियो। तेस्रो खेलमा भने युक्रेन अस्ट्रियासँग निराश भएको थियो। युक्रेनले तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा पर्दै अन्तिम १६ मा स्थान बनाएको थियो। ‘स्विडेन संगठित टोली हो र म उनीहरूको सम्मान गर्छु,’ युक्रेनका प्रशिक्षक एन्ड्रे सेभचेन्कोले भने, ‘हामी उनीहरूविरुद्ध विशेष रणनीतिका साथ मैदान उत्रनेछाैँ। हामी उनीहरूको बलियो अट्याकिङ रोक्दै काउन्टर मुभ बनाउनेछाैँ।’

प्रकाशित: १५ असार २०७८ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App