इङ्ल्यान्डका कप्तान ह्यारी केनले आफ्नो आगामी भविष्यका बारेमा टोटेनह्यामसँग कुनै सम्पर्क नभएको बताएका छन्। केनले क्लब छोड्न चाहेको खुलासा गरेसँगै उनको आगामी गन्तव्य कहाँ हुने भन्नेमा चासोको विषय बनेको छ। केन इङ्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीमा जाने खबरसमेत सार्वजनिक भइरहेको छ। ‘म अहिले मेरो टोटेनह्याममा भविष्य के हुन्छ भन्नेबारे भन्दा पनि टोलीको युरो कप यात्रामा केन्द्रित छु,’ केनले भने। केनले जारी युरो कप २०२० मा इङ्ल्यान्डबाट गोल खाता खोल्न सकेका छैनन्।
‘मेैले टोलीका लागि जारी युरो कपमा गोल गर्न सकेको छैन। त्यसैले धेरैले यसको कारण मेरो क्लब भविष्यका कारण चिन्तित भएको मान्छन्,’ केनले भने, ‘तर म क्लब भविष्यप्रति भन्दा पनि युरो कपमा इङ्ल्यान्डलाई सफलता दिलाउन केन्द्रित छु।’ केनले गत सिजन टोटेनह्यामबाट सबैखाले प्रतियोगिता गरी ४९ खेलमा ३३ गोल गरेका थिए। ‘म इमानदारिताका साथ भन्छु, मैले मेरो आगामी क्लब भविष्यबारे कहीं कतै केही पढेको वा देखेको छैन,’ केनले भने, ‘हामी यहाँ उपाधि जित्न आएका हौं।’
केनले सन् २०२०–२१ सिजनमा प्रिमियर लिगको गोल्डेन बुट र प्लेमेकरको अवार्ड जितेका थिए। त्यस्तै उनले रूस विश्वकप २०१८ मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका थिए। इङ्ल्यान्डले युरो कप २०२० मा मंगलबार जर्मनीको सामना गर्दै छ। तर जारी प्रतियोगितामा केनको प्रदर्शनलाई लिएर अहिले आलोचना भइरहेको छ।
‘मानिसहरूले छिट्टै आफ्नो धारणा परिवर्तन गर्छन्,’ केनले भने, ‘मैले रूस विश्वकपमा गोल्डेन बुट जितेको धेरै समय भएको छैन। सबै मैले गोल गरेको हेर्न चाहन्छन् र यो अस्वाभाविक पनि होइन। सधैं कुनै खेलाडीले एकै प्रकारको प्रदर्शन गर्छ भन्ने छैन। कहिले उत्कृष्ट हुन्छ त कहिले स्वाभाविक प्रदर्शन गर्न सक्दैन।
मलाई आफूप्रति विश्वास छ। म १०–१५ खेलमा गोल नगरी बस्न सक्छु र त्यसपछि पुनः गोल लयमा पनि फर्कन सक्छु। त्यसैले केही खेलमा गोल नगर्दा म चिन्तित छैन।’ ‘इङ्ल्यान्ड कुनै एक खेलाडीको भन्दा पनि समग्र टोलीमा विश्वास राख्छ,’ उनले भने, ‘रूसमा म लयमा थिएँ, धेरै गोल पनि गरें र टोलीले सेमिफाइनलसम्मको यात्रा तय गर्यो। आशा छ, जारी युरो कपमा पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्छ।’
प्रकाशित: १३ असार २०७८ ०३:५२ आइतबार