coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युरो कप २०२०: नेदरल्यान्ड्सलाई बदलाको मौका

नेदरल्यान्ड्स समूह ‘सी’ को विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो। यस क्रममा नेदरल्यान्ड्सले युक्रेन र नर्थ म्यासेडोनियालाई समान ३–० तथा अस्ट्रियालाई २–० ले हराएको थियो। सात वर्षपछि प्रमुख प्रतियोगितामा पुनरागमन गरेको नेदरल्यान्ड्स अन्तिम १६ मा आइतबार चेक रिपब्लिकको सामना गर्दै जितयात्राको निरन्तरता चाहन्छ।

समूहका तीन खेलमा ८ गोल गरेको नेदरल्यान्ड्सविरुद्ध विपक्षी टोलीले १ गोल पनि गर्न सकेका छैनन्। सन् २०१४ को विश्वकपपछि नेदरल्यान्ड्स प्रमुख प्रतियोगितामा छनोट हुन असफल भएको थियो। सन् २०१६ को फ्रान्स युरो कप तथा रूस विश्वकप २०१८ मा डच टोली छनोट चरणमा सीमित बनेको थियो। सन् २०१६ को फ्रान्स युरो कपमा नेदरल्यान्ड्स छनोटचरणमा निराश भएको थियो, जहाँ डच टोलीको यात्रामा पूर्णविराम लगाउने काम चेक रिपब्लिकले नै गरेको थियो।

यी दुई टोली अहिलेसम्म ११ पटक आमनेसामने भएका छन्, जहाँ चेक रिपब्लिकले ५ खेल जितेको छ भने नेदरल्यान्ड्सले मात्र तीन खेल मात्र जितेको छ। तीन खेल बराबरीमा सकिएको छ। त्यसैले आइतबारको भेटमा नेदरल्यान्ड्स ७ वर्षअघिको नमीठो हारको बदला लिँदै क्वार्टरफाइनलमा स्थान पक्का गर्न चाहन्छ। ‘चेक रिपब्लिकविरुद्ध नतिजा आफ्नो पक्षमा पार्दै अघिल्लो चरण प्रवेश गर्नका लागि हामीले थप सुधारिएको प्रदर्शन गर्न आवश्यक छ,’नेदरल्यान्ड्सका प्रशिक्षक फ्रांक डी बोयरले भने, ‘उनीहरूले समूहचरणमा उत्कृष्ट प्रदर्शन गर्दैै आफूलाई बलियो टोलीका रूपमा उभ्याइसकेका छन्।’

यता चेक रिपब्लिक भने नेदरल्यान्ड्सविरुद्ध गर्विलो इतिहासको निरन्तरताका साथ क्वार्टरफाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ। चेक रिपब्लिक समूह ‘डी’ को तेस्रो स्थानमा बसेको थियो। ४ अंक जोडेको चेक तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा पर्दै अन्तिम १६ का लागि छनोट भएको थियो। पहिलो खेलमा स्कटल्यान्डविरुद्ध २–० को जित हात पारेको चेकले दोस्रो खेलमा क्रोएसियालाई १–१ को बराबरीमा रोकेको थियो। तेस्रो खेलमा भने टोली इङ्ल्यान्डसँग १–० ले निराश भएको थियो। विगतको नतिजामा हामी बलियो देखिए पनि त्यसले अहिले कुनै अर्थ राख्दैन। ‘नेदरल्यान्ड्स उत्कृष्ट खेलाडीले भरिएको प्रतियोगिताकै दाबेदार टोली हो,’ चेक रिपब्लिकका प्रशिक्षक यारोस्लाभ सेलहेभीले भने, ‘उनीहरूको रक्षापंक्ति तोड्नु हाम्रा लागि कठिन बन्न सक्छ।’  

बेल्जियमविरुद्ध पोर्चुगल  

साबिक विजेताविरुद्ध विश्व नम्बर एक टोली। बेल्जियम र पोर्चुगलबीच आइतबार हुने चौथो प्री–क्वार्टरफाइनल प्रतियोगिताकै रोचक र व्यग्र प्रतीक्षा गरिएको समीकरण हो।

प्रतियोगिताकै दाबेदार टोलीका रूपमा हेरिएको बेल्जियमले समूह ‘बी’ को विजेता बन्दै अन्तिम १६ मा स्थान बनाउने क्रममा रूसलाई ३–०, डेनमार्कलाई २–१ र फिनल्यान्डलाई २–० ले हराएको थियो। समूह ‘एफ’ मा रहेको पोर्चुगल भने तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा पर्दै अन्तिम १६ का लागि छनोट भएको हो। पहिलो खेलमा हंगेरीलाई ३–० ले हराएको पोर्चुगलले दोस्रो खेलमा जर्मनीलाई ४–२ को नतिजा सुम्पिएको थियो। तेस्रो खेलमा भने पोर्चुगलले विश्वविजेता फ्रान्ससँग २–२ को बराबरी खेलेको थियो।  

युरो कप २०२० को ग्रुफ अफ डेथमा जर्मनी र फ्रान्सविरुद्ध खेलिसकेकाले बेल्जियमविरुद्ध मैदान उत्रँदा पोर्चुगल उच्च मनोबलका साथ मैदान उत्रनेछ। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो गोलको लयमा छन्। उनले जारी प्रतियोगितामा ५ गोल गरिसकेका छन्। युरो कपको ५ संस्करण खेल्ने पहिलो खेलाडी बनेका रोनाल्डोले फ्रान्सविरुद्ध गरेको दोस्रो गोलसँगै इरानका अली दाईको नाममा रहेको १ सय ९ गोलको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गरेका थिए। बेल्जियमविरुद्ध उनको लक्ष्य टोलीको क्वार्टरफाइनल यात्रासँगै सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान रच्ने हुनेछ।

संयोग के छ भने साबिक विजेता पोर्चुगल गत संस्करणमा पनि तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा पर्दै नकआउट चरणमा प्रवेश गरेको थियो। बेल्जियमले सन् १९८९ पछि पोर्चुगललाई हराउन सकेको छैन। केभिन डी ब्र्र्रुयना, एलेक्स विट्सेल, इडेन हाजार्डको पुनरागमनले बेल्जियमको टोली हौसिएको छ। ‘पोर्चुगल सहज प्रतिद्वन्द्वी होइन,’ बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भने, ‘हामी राम्रो तयारीका साथ प्रतियोगितामा आएका छांै। नकआउट चरणमा प्रवेश गर्ने जुनसुकै टोली पनि बलियो हुन्छ। हामी पोर्चुगलको यात्रामा पूर्णविराम लगाउँदै क्वार्टरफाइनलमा स्थान बनाउनेमा विश्वस्त छौं।’

प्रकाशित: १३ असार २०७८ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App