८ वैशाख २०८१ शनिबार
खेल

युरो कप २०२०: महाभिडन्तमा कसले मार्ला बाजी ?

विश्व फुटबलमा इङ्ल्यान्ड र जर्मनी पुराना चिर प्रतिद्वन्द्वी हुन्,जहाँ जर्मनीले मुख्य प्रतियोगिताका नकआउट चरणमा ५५ वर्षदेखि निरन्तर दबाब बनाइराखेको छ। के इङ्ल्यान्डले जर्मनीको नकआउट चरणको दबदबामा युरो कप २०२० को अन्तिम १६ मा पूर्णविराम लगाउला ? समूह ‘डी’ बाट विजेताका रूपमा अन्तिम १६ प्रवेश गरेको इङ्ल्यान्डले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्नका लागि समूह ‘एफ’ को उपविजेतासँग खेल्नुपर्ने समीकरण थियो। 

समूह ‘एफ’ मा विश्वविजेता फ्रान्ससँगै युरो कपको साबिक विजेता पोर्चुगल, जर्मनी र हंगेरी थिए। समूहचरणको अन्तिम खेलमा फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरीले समान २–२ को बराबरी खेले। अन्तिम खेलपछिको अंकतालिकाअनुसार फ्रान्स ५ अंकका साथ समूहविजेता बन्दा जर्मनी ४ अंकका साथ उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश ग¥यो। गत संस्करणमा तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा पर्न सफल पोर्चुगल यस संस्करणमा पनि पुरानै बाटोबाट नकआउट चरण प्रवेश गर्‍यो।  

जर्मनी उपविजेता बनेसँगै यी पुराना चिर प्रद्वन्द्वीबीचको भिडन्त पक्का भएको हो। वेम्बलीमा मंगलबार हुने खेलमा गारेथ साउथगेटको टोली जर्मनीको दबाब चिर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ। ‘अब हामी इङल्यान्ड भ्रमण गर्छौ’ जर्मनीका प्रशिक्षक जोचिम लोउले भने, ‘वेम्बलीमा इङल्यान्डविरुद्ध खेल्नु सुखद र रोचक समीकरण हो। जुन सम्भवतः युरो कप २०२० कै सबै भन्दा व्यग्र प्रतीक्षा गरिएको महाभिडन्त बन्न सक्छ।’ सन् १९६६ मा इङ्ल्यान्डले अतिरिक्त समयमा जर्मनीलाई नै हराउँदै विश्वकपको उपाधि जितेको थियो। त्यसपछि इङ्ल्यान्ड र जर्मनी ४ पटक मुख्य प्रतियोगिताको नकआउट चरणमा भेट भएका छन्। जसमा ४ पटक नै जर्मनीले बाजी मारेको छ।  

वेम्बलीमा भएको १९९६ को युरो कप सेमिफाइनलमा साउथगेटले जर्मनीविरुद्ध निर्णायक पेनाल्टी गुमाएका थिए। युरो कप २०२० मा इङल्यान्ड साउथगेटकै प्रशिक्षणमा खेलिरहेको छ। इटालीमा भएको सन् १९९० को विश्वकप फुटबलमा पनि जर्मनीले इङ्ल्यान्डलाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमै निराश बनाएको थियो। समग्रमा यी दुई टोली ३६ पटक आमने सामने भएका छन्। जहाँ इङ्ल्यान्डले १६ र जर्मनीले १३ खेल जितेका छन्। ७ खेल भने बराबरीमा सकिएको छ। प्रमुख प्रतियोगिताका नकआउट भिडन्तमा जर्मनी सधंै इङ्ल्यान्डमाथि भारी हँुदै आएको छ। सन् १९६६ को विश्वकपमा हात पारेको जित इङ्ल्यान्डले जर्मनीमाथि मुख्य प्रतियोगिताको नकआउट चरणमा हात पारेको एक मात्र जित हो। ‘इङल्यान्डविरुद्ध वेम्बलीमा हुने भिडन्तजत्तिको रोमाञ्चक अरू हुनै सक्दैन,’ जर्मनीका रक्षक जोस्वा किमिचले भने। 

प्रकाशित: ११ असार २०७८ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App