७ वैशाख २०८१ शुक्रबार
खेल

युरो कप २०२०: क्रोएसिया नकआउट चरणमा

लुका मोडरिचको उत्कृष्ट खेलको मद्दतमा क्रोएसियाले युरो कप फुटबलअन्तर्गत मंगलबार स्कटल्यान्डलाई ३–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गर्‍यो। 

इङ्ल्यान्ड जस्तो बलियो टोलीलाई बराबरीमा रोके पनि स्कटल्यान्डले समूहचरण भने पार गर्न सकेन। २३ वर्षपछि ठूला प्रतियोगिता खेलको स्कटल्यान्डले यादगार भने बनाउन सकेन। मोडरिचले क्रोएसियाका लागि उत्कृष्ट खेल खेल्दा स्कटल्यान्डका प्रशिक्षक स्टिभ क्लार्कको टोलीलाई ठेस लागेको हो। 

हाम्पडेन पार्कमा विश्वकप उपविजेता क्रोएसियाले रोमाञ्चक जित निकाल्दा पहिलो हाफमा १–१ को बराबरी खेले पनि दोस्रो हाफमा उत्कृष्ट खेल देखाएर अन्तिम १६ को यात्रा तय गर्‍यो। निकोला भ्लासिकले १७औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए। तर उनको त्यो अग्रता पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा तोडियो।

स्कटल्यान्डका कलुम म्याकग्रिगोरले बराबरी गोल फर्काए। क्रोएसिया दोस्रो हाफमा आक्रामक बन्यो। लुका मोडरिचले ६२औं र इभान पेरिसिचले ७७औं मिनेटमा गोल थप्दै अग्रता बढाउँदा क्रोएसिया समूह उपविजेता बन्दै १६औं संस्करणको युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले अघिल्लो चरण प्रवेशका लागि उत्कृष्ट खेल प्रदर्शन गरेका मोडरिचको तारिफ गरे। ‘कसैलाई पनि मोडरिचको खेल यस्तै हुन्छ भन्ने यकिन हुँदैन,’ डालिचले भने, ‘हामी मोडरिचको खेल सन्तुलित हुँदैन कि भन्ने आशंकामा थियौं। तर उनको प्रदर्शन टोलीका लागि प्रेरणादायी रह्यो।’

समूहचरणबाट बाहिरिएको टोली स्कटल्यान्डका प्रशिक्षक स्टिभ क्लार्कले समूहचरणका अन्य खेलमा स्वाभाविक खेल देखाउन नसक्दा बाहिरिनुपरेको प्रतिक्रिया दिए। ‘क्रोएसियाले राम्रो खेल देखाएको हो। यसलाई हामीले स्विकार्नुपर्छ,’ स्कटल्यान्डका प्रशिक्षक क्लार्कले भने, ‘हामीले समूहचरणमा सन्तुलित खेल देखाउन सकेनौं। अपेक्षाअनुसारको नतिजा निकाल्न असफल भयौं।’ युरो कपअन्तर्गत मंगलबारकै अर्को खेलमा इङ्ल्यान्डले चेक रिपब्लिकमाथि १–० को साघुँरो जित निकाल्दा समूह ‘डी’ बाट विजेता हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ। चेक रिपब्लिकविरुद्ध रहिम स्टर्लिङले १२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

ज्याक ग्रेलिसको पासमा उनले गोल गरेका थिए। जारी युरोमा स्टर्लिङको यो दोस्रो गोल हो। एक खेलअगावै अन्तिम १६ मा स्थान बनाएको इङ्ल्यान्डले घरेलु दर्शकलाई खुसी दिलाउन सफल भयो। यस जितसँगै समूह ‘डी’ को इङ्ल्यान्डले अपराजित रहँदै अन्तिम १६ मा पुगेकोे हो। शीर्ष स्थानमा रहेको इङ्ल्यान्डले तीन खेलमा ७ अंक जोड्यो। इङ्लिस टोलीले समूहचरणमा कुनै पनि गोल व्यहोर्नुपरेको छैन। समूहचरणको पहिलो खेलमा क्रोएसियालाई १–० ले पराजित गर्दा इङ्ल्यान्ड दोस्रो खेलमा स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको थियो।

चेक रिपब्लिकले तीन खेलमा ४ अंक जोड्यो। चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रह्यो। हारका बावजुद पनि चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ। उत्कृष्ट तेस्रो हुँदै चेक रिपब्लिक अन्तिम १६ मा पुगेको हो। चेक रिपब्लिकले समूहचरणको पहिलो खेलमा स्कटल्यान्डलाई २–० ले हराएको थियो भने दोस्रो खेलमा क्रोएसियासँग १–१ को बराबरीमा रोकिएको थियो।

प्रकाशित: १० असार २०७८ ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App