१६ चैत्र २०८० शुक्रबार
खेल

युरो कप २०२०: एकताको सूत्रमा राख्ने जादु

मानिसलाई एकताको सूत्रमा राख्ने जादु फुटबलमा हुन्छ भन्ने कुरा सम्भवतः इङ्ल्यान्डबाहेकका विरलै राष्ट्र यसबारे सबैभन्दा बढी जानकार होलान्। मंगलबार चेक रिपब्लिकमाथि १–० को जितका साथ इङ्ल्यान्डले समूह ‘डी’ को विजेताका रूपमा युरो कप २०२० को नकआउट चरणमा स्थान बनायो। 

इङ्ल्यान्डले समूह ‘एफ’ को उपविजेतासँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ। ग्रुफ अफ डेथ मानिएको समूह ‘एफ’ मा फ्रान्स, पोर्चुगल, जर्मनी र हंगेरी छन्। इङ्ल्यान्डले समूहचरणका तीनवटै खेल घरेलु मैदान वेम्बलीमा खेल्यो। क्रोएसियाविरुद्धका जितका साथ प्रतियोगिताको सुरुआत गरेको इङ्ल्यान्डले घरेलु समर्थकलाई हर्षित तुल्याएको थियो। 

तर दोस्रो खेलमा चिर प्रतिद्वन्द्वी स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेपछि उनीहरू निराश बनेका थिए। चेक रिपब्लिकविरुद्धको जितका साथ समूहविजेता बनेसँगै इङ्ल्यान्ड समर्थकमा पुनः टोलीको थप सफलताको उत्साह फर्किएको छ। स्कटल्यान्ड र इङ्ल्यान्डबीचको खेल विश्वभरबाट २० लाख दर्शकले हेरेका थिए।

ठूला प्रतियोगितामा राष्ट्रिय टोलीले के राम्रो गरिरहेको छ र के गलत गरिरहेको छ भनेर बहस चल्नु स्वाभाविक हो। सन् १९६६ को विश्वकपपछि प्रमुख प्रतियोगिता जित्न नसकेको इङ्ल्यान्डले युरो कपमा उपाधि खडेरी तोड्छ वा पुनः अभागी साबित हुन्छ हेर्न बाँकी नै छ। तर टोलीले मैदानबाहिर कत्तिको प्रभाव पारेको छ भन्ने मुख्य पक्ष हो। इङ्ल्यान्डले गरिबी र रंगभेदी दुव्र्यवहारविरुद्ध आवाज उठाउन कुनै कसर बाँकी नराख्ने जनाउँदै आएको छ।  

युरो कप २०२० मा पनि इङ्ल्यान्डले यस मुद्दामा आफू अडिग रहेको प्रमाणित गरिसकेको छ। मुख्य त मार्कुस रसफोर्ड र रहिम स्टर्लिङले गरिबी र रंगभेदी दुव्र्यवहारविरुद्ध विभिन्न माध्यमबाट आवाज उठाउँदै आएका छन्। रसफोर्डले गरिब बालबालिकाका लागि निशुल्क खाना र पढाइको व्यवस्था गर्दै आएका छन्। 

स्टर्लिङले पनि पटकपटक सञ्चारमाध्यमले यस विषयमा निष्पक्ष र प्रभावकारी भूमिका खेल्न नसकेको बताउँदै आएका छन्। युरो कप २०२० सुरु हुनुभन्दा अघि नै इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले खेलाडीहरूले निरन्तर गरिबी र रंगभेदी दुव्र्यवहारविरुद्ध आवाज उठाइरहने भन्दै एउटा खुला पत्र लेखेका थिए। ‘यो विशेष समूह हो। इमानदार र समाजप्रति उत्तरदायी, जो अन्यायका विरुद्ध एकजुट भएर उभिन्छन्,’ साउथगेटले उल्लेख गरेका थिए। इङ्ल्यान्डका खेलाडीले प्रत्येक खेलअघि घुँडा टेकेर निरन्तर गरिबी र रंगभेदी दुव्र्यवहारविरुद्ध रहेको जनाउ दिँदै आएका छन्।  

इङ्ल्यान्डको यस अभियानको विरोध भएपछि साउथगेटले खुला पत्र लेखेका थिए। निरन्तर विरोधका बावजुद पनि आफू र खेलाडीहरू पछि हट्ने पक्षमा नरहेको साउथगेटको भनाइ थियो। अमेरिकामा जर्ज फ्रोयडको हत्यापछि इङ्लिस प्रिमियर लिगका खेलाडीहरूले समेत सन् २०१९–२० सिजन प्रत्येक खेलअघि घुँडा टेकेर निरन्तर गरिबी र रंगभेदी दुव्र्यवहारको विरोध गरेका थिए। 

‘खेल्ने मात्र होइन,समाज परिवर्तनको पनि महत्वपूर्ण पक्ष हामी बन्न सक्छाैं,’ साउथगेटले भने, ‘हामीले यस विषयमा अझै जनचेतना फैलाउँदै निरन्तर बहसका साथ उचित समाधान निकाल्न सक्छाैं। त्यसैले हाम्रो आवाज रोकिँदैन।’ बेलायत सरकारले मंगलबार युरो कपको सेमिफाइनल र फाइनलमा वेम्बलीमा ६० हजार दर्शकका लागि प्रवेशको अनुमति दिइसकेको छ। सेमिफाइनल क्रमशः जुलाई ६ र ७ तथा फाइनल खेल जुलाई ११ मा हुनेछन्।

प्रकाशित: १० असार २०७८ ०५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App