१६ चैत्र २०८० शुक्रबार
खेल

युरो कप २०२०ः अन्तिम चरणबाटै अन्तिम १६ को टुंगो

युरो कप २०२० अन्तर्गत मंगलबार समूह ‘डी’ अन्तर्गत अन्तिम चरणका दुई खेल हुँदै छन्। हालसम्म समूह ‘बी’ बाट अन्तिम १६ प्रवेश गर्ने टोलीको टुङ्गो लागिसकेको छैन। समूह ‘डी’ मा इङ्ल्यान्ड, स्कटल्यान्ड, चेक रिपब्लिक र क्रोएसिया छन्।

इङ्ल्यान्डविरुद्ध चेक रिपब्लिक

समूह ‘डी’ मा इङ्ल्यान्ड र चेक रिपब्लिक मंगलबार आमनेसामने हुँदा दुवै टोलीको लक्ष्य स्पष्ट ३ अंक जोड्दै समूहविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गर्नु हुनेछ। यद्यपि बराबरीको नतिजाले पनि दुवै टोलीको अन्तिम १६ प्रवेश निश्चित बन्नेछ।

पहिलो खेलमा क्रोएसियालाई हराएको इङ्ल्यान्ड दोस्रो खेलमा भने स्कटल्यान्डसँग बराबरीमा रोकिएको थियो। २ खेलमा ४ अंक बटुलेको इङ्ल्यान्ड समूह ‘डी’ को दोस्रो स्थानमा छ। समान खेलमा समान ४ अंक जोडेको चेक रिपब्लिक शीर्ष स्थानमा छ। समान २ खेलमा समान १ अंक मात्र जोडेका क्रोएसिया र स्कटल्यान्ड क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

‘चेक रिपब्लिक उत्कृष्ट टोली हो,’ इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले भने, ‘हामी समूहविजेताको लक्ष्य सार्थक बनाउन चेक रिपब्लिकविरुद्ध ३ अंककै लागि खेल्नेछौं।’

स्कटल्यान्डमाथि सहज जितका साथ प्रतियोगिताको सुरुआत गरेको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग बराबरीमा रोकिएको थियो। चेक रिपब्लिक गोलअन्तरमा इङ्ल्यान्डभन्दा माथि भएकाले बराबरीको नतिजा पनि उसका लागि समूहविजेता बन्न पर्याप्त हुनेछ। अघिल्लो दुई खेलमा लिएको आक्रामक रणनीतिलाई नै इङ्ल्यान्डविरुद्ध निरन्तरता दिने लक्ष्यमा चेक रिपब्लिक छ। चेक रिपब्लिकका स्ट्राइकर पिटर सेचेक इङ्ल्यान्ड रक्षकका लागि चुनौती बन्न सक्छन्। उनले स्कटल्यान्डविरुद्धको खेलसँगै युरो कप इतिहासमै सर्वाधिक लामो दूरीबाट गोल गर्ने कीर्तिमान रचेका थिए।

‘हामीसँग ४ अंक छ, जुन अघिल्लो चरणका लागि पर्याप्त अंक बन्न सक्छ,’ चेक रिपब्लिकका स्ट्राइकर पिटरले भने, ‘इङ्ल्यान्ड क्षमतावान् खेलाडीले भरिएको टोली हो। तर दुई खेलमा उनीहरू अट्याकिङमा खासै जमेको देखिएको छैन। हामी स्पष्ट ३ अंक जोड्दै समूहविजेताका रूपमा नकआउट चरणमा स्थान बनाउन चाहन्छाैं।’

क्रोएसियाविरुद्ध स्कटल्यान्ड  

दुवै टोलीलाई जितले मात्र अघिल्लो चरण प्रवेशको ढोका खुला रहनेछ। इङ्ल्यान्डविरुद्धको हारबाट प्रतियोगिताको सुरुआत गरेको क्रोएसियाको युरो कप २०२० को नकआउट चरण प्रवेश सम्भावना दोस्रो खेलमा चेक रिपब्लिकसँगको बराबरीसँगै कठिन बनेको थियो। जारी प्रतियोगितामा क्रोएसियाले सोचेअनुरूपको नतिजा ल्याउन सकेको छैन। स्कटल्यान्डविरुद्ध अहिलेसम्म क्रोएसियाले जित हात पार्न सकेको छैन। स्कटल्यान्डले चेक रिपब्लिकविरुद्ध राम्रो नतिजा ल्याउन सक्थ्यो। उनीहरूले धेरै अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेनन्। 

इङ्ल्यान्डविरुद्ध उनीहरूले आफूहरूलाई अन्तिम समयसम्म हार नमान्ने टोलीका रूपमा उभ्याए। ‘हामीविरुद्ध उनीहरू ऐतिहासिक ३ अंक जोड्दै समूहचरण पार गर्ने लक्ष्यमा छन्,’ क्रोएसियाका प्रशिक्षक जाल्टको डालिचले भने, ‘त्यसैले उनीहरूको चुनौती पन्छाउन हाम्रा लागि कठिन बन्न सक्छ। यद्यपि हामी जितका साथ नकआउट चरण प्रवेशको सम्भावना कायम राख्न चाहन्छाैं।’

यता पहिलो खेलमा चेक रिपब्लिकसँग हारे पनि दोस्रो खेलमा इङ्ल्यान्डविरुद्ध अंक खोस्दै हौसिएको स्कटल्यान्ड क्रोएसियाविरुद्धको जितका साथ पहिलो पटक युरो कपमा अन्तिम १६ प्रवेशको सम्भावना बाँकी राख्न चाहन्छ। ‘क्रोएसिया बलियो टोली हो। उनीहरू रणनीतिक रूपमा अब्बल छन्,’ स्टकल्यान्डका प्रशिक्षक स्टिभ क्लार्कले भने, ‘उनीहरूसँग कोभासिच र लुका मोडरिचजस्ता उत्कृष्ट खेलाडी छन्। हाम्रो लक्ष्य क्रोएसियाविरुद्ध स्पष्ट ३ अंकका साथ कम्तीमा तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा पर्दै नकआउट चरण प्रवेशको सम्भावना कायम राख्ने हुनेछ।’

प्रकाशित: ८ असार २०७८ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App