coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जितसरहको हार

युरो कप २०२०

रोममा भोगेको हार वेल्स फुटबल इतिहासमा विशेष छाप छोड्न सफल भयो। वेल्स यस्तो राष्ट्र हो, जसले प्रमुख प्रतियोगितामा खेलसंख्याभन्दा पनि बढी प्रतियोगिता नै गुमाएको छ। वेल्स सधैंअन्तिम समयमा अभागी साबित हुँदै आएको छ। 

तर वेल्स फुटबलको सुनौलो पुस्ताले पनि आफ्नो उपस्थिति प्रमाणित गर्न सकिरहेको छैन। ६ वर्षअघि बोस्निया हर्जगोभिनासँग २–० को हारका बावजुद पनि सन् २०१६ मा फ्रान्समा भएको युरो कपमार्फत वेल्सले ५८ वर्षपछि प्रमुख प्रतियोगितामा पुनरागमन गर्न सफल भएको थियो। जहाँ वेल्सले सेमिफाइनलसम्मको यात्रा तय गर्दै आफ्नो उपस्थिति केही हदसम्म सुखद पार्न सफल भएको थियो।

आइतबार रोममा सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा पनि वेल्स घरेलु टोली इटालीसँग १–० ले निराश भयो। हारका बावजुद पनि वेल्स दोस्रो स्थानमा बस्दै युरो २०२० को नकआउट चरणमा स्थान बनाउन सफल भयो। यो यस्तो हार, जुन जितसरह बन्यो, अरूका लाग नभए पनि वेल्स प्रशिक्षक रोबर्ट पेजका लागि।

‘पक्कै पनि इटालीविरुद्धको हार पनि हाम्रा लागि जितसरह बन्यो,’ पेजले भने, ‘हामी दोस्रो स्थानमा बस्दै नकआउट चरणमा प्रवेश गर्न सफल भयाैं। वेल्सलाई कुनै पनि टोलीले कमजोर रूपमा नलिनुहोला। हामी वेल्स फुटबलको गतिलो इतिहास फर्काउन चाहन्छांै।’

१० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको वेल्सले इटालीसँगको हारपछि पनि गोलअन्तरमा स्विटजरल्यान्डलाई पछि पार्दै समूह ‘ए’ बाट अन्तिम १६ प्रवेश गर्ने दोस्रो टोली बन्यो। टर्कीमाथिको जितपछि पनि स्विट्जरल्यान्ड भने तेस्रो स्थानमा बस्ने उत्कृष्ट ४ टोलीभित्र बस्दै नकआउट चरण प्रवेश गर्ने संघारमा छ। ‘हामीलाई इटालीविरुद्धको खेल कठिन हुन्छ भन्ने थाहा थियो तर हामी हाम्रो लक्ष्यमा पुगिसकेका छौं,’ कम्तीमा दोस्रो स्थानमा बस्ने वेल्सका कप्तान गारेथ बेलले भने, ‘हार्दा पक्कै पनि हामी निराश छाैं। यो स्वाभाविक हो तर खेलाडीहरूले आफूलाई मिहिनेत गरे। त्यसकै नतिजा हाम्रो नकआउट चरण प्रवेश हो। हामीले आफूलाई प्रमाणित गर्‍याैं।’

वेल्सले शनिबार आम्स्टर्डममा हुने अन्तिम १६ मा समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ। इटाली, स्विटजरल्यान्ड र टर्की सम्मिलित समूहबाट माथि उठ्नु नै वेल्सको सफलता हो र टोलीको प्राथमिक लक्ष्य नै नकआउट चरण पार गर्ने थियो। यो ठूलो सफलता हो, लगातार दोस्रो संस्करणमा। ‘हामीले सन्तोषजनक प्रदर्शन गर्‍यौं। हामीसँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नुअघि अझै एक साताको समय छ,’ बेलले भने, ‘हामी विगतको नतिजाभन्दा पनि आगामी नतिजामा केन्द्रित छाैं।’ आम्स्टर्डममा अन्तिम १६ को चुनौती पन्छाएमा वेल्सले क्वार्टरफाइनलका लागि बाकुको भ्रमण गर्नेछ। 

प्रकाशित: ८ असार २०७८ ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App