coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युरो कप २०२०ः हंगेरीको ऐतिहासिक छवि फर्काउने संकेत

युरो कप २०२० अन्तर्गत शनिबार सम्पन्न फ्रान्स र हंगेरीबीचको खेलमा बुडापेस्टस्थित पुस्कास एरेनामा उपस्थित दर्शकको उपस्थितिले सबैलाई अचम्मित बनायो।

घरेलु टोली हंगेरी फ्रान्ससँग १–१ को बराबरीमा रोकिएको थियो। सो खेलमा ६० हजार दर्शक मैदानमा उपस्थित थिए। यही मैदानमा हंगेरीले युरो कपको साबिक विजेता पोर्चुगललाई ८४ मिनेटसम्म रोके पनि अन्तिम ६ मिनेट सम्हालिन नसक्दा घरेलु दर्शक निराश बनेका थिए। यी दुई खेलमा दर्शकको उपस्थितिले फुटबलमा रौनकता फर्किएको पुष्टि गर्छ।

हंगेरीका समर्थकले पुस्कास एरेनामा अझै दुई खेलको मज्जा लिन पाउनेछन्। फ्रान्स र पोर्चुगलबीच समूहको रोचक भिडन्त तथा अन्तिम १६ को एक खेल। प्रशिक्षक मार्को रोसीको प्रशिक्षणमा हंगेरीले आफूलाई युरोपियन फुटबलमा पुनः आफ्नो ऐतिहासिक छवि फर्काउने संकेत गरिसकेको छ। साबिक विजेता पोर्चुगललाई ८४ मिनेटसम्म रोक्न सफल हंगेरीले दोस्रो खेलमा फ्रान्ससँग १ अंक खोस्न सफल भएको थियो। यद्यपि सो खेलमा अग्रता भने हंगेरीले लिएको थियो। बुधबार जर्मनीको सामना गर्दा हंगेरी जितका साथ ग्रुप अफ डेथ मानिएको समूह ‘डी’ बाट माथि उठ्न चाहन्छ।

फ्रेन्सभासोसका कार्यकारी प्रमुख पाल ओजर्स, जसलाई हंगेरी फुटबलको सफलताको दिन राम्रोसँग थाहा छ। सो सफलताका एक सदस्य उनका पिता पल पनि थिए। यस क्रममा फ्रेन्सभासोसले युइएफए कपका साथै युरोपा लिगसमेत जितेको थियो।

‘मेरा बुबाको केही वर्षअघि मात्र निधन भयो,’ ओसर्जले भने, ‘उनी क्लबका लिजेन्ड थिए। म भन्छु, हंगेरी फुटबलमा के भयो भन्ने ? ६० को दशकमा हामी सबै उपाधि जित्थ्याैं। लिभरपुल र युभेन्ट्समाथि पनि हाबी हुन्थ्यौं।’ सन् १९५० मा हंगेरी विश्व फुटबलको बलियो टोलीको रूपमा देखिएको थियो। यस क्रममा हंगेरी फुटबलको सुनौलौ पुस्ताले सन् १९५२ मा इङ्ल्यान्डलाई ६–३ ले हराउँदै ओलम्पिक च्याम्पियन बन्यो। सन् १९५४ मा बुडापेस्टमा हंगेरीले इङ्ल्यान्डलाई ७–१ ले हराएको थियो।  

सन् १९५४ मा पनि हंगेरी ओलम्पिक च्याम्पियन बन्ने संघारमा पुगेको थियो। फाइनलमा २–० को अग्रता जोगाउन नसक्दा हंगेरीले अन्ततः ३–२ को नतिजा सुम्पिएको थियो। सन् १९५६ मा आन्तरिक द्वन्द्वका कारण हंगेरीमा घरेलु लिग नै रोकिएको थियो।  

‘६० को दशकमा पश्चिम युरोपका मानिसहरूले फुटबल खेल मात्र नभई एक व्यवसाय पनि भएको अनुभूति गरे,’ ओजर्र्सले भने, ‘नयाँ क्लबको जन्म भयो। क्लबहरू खुले पनि प्रतियोगिता नहुँदा त्यसले एउटा शून्यता जन्मायो, जुन शून्यताबाट माथि उठ्न हंगेरी फुटबलका लागि निकै कठिन छ।’

फेन्सभारोसले लगातार तेस्रो पटक हंगेरियन लिगको उपाधि जित्यो। साथै टोली सन् १९९६ पछि पहिलो पटक च्याम्पियन्स लिगको समूहचरणमा समेत प्रवेश गर्‍यो। फेन्सभारोसले च्याम्पियन्स लिगका दुई खेलमा बार्सिलोना र युभेन्ट्सलाई आतिथ्यता प्रदान गर्‍यो, जहाँ दुवै खेलमा ६१ हजार दर्शक खेल हेर्न उपस्थित थिए। कोभिड १९ का कारण युरो कप २०२० एक वर्ष पछि धकेलिएको थियो। दर्शकको उपस्थिति नै के हुने भन्ने प्रश्नसमेत थियो। जारी प्रतियोगिताका लागि प्रयोग भइरहेका अन्य १० रंगशालमा सीमित मात्रामा दर्शक प्रवेशको अनुमति दिँदा पुस्कास एरेनाले भने शतप्रतिशत दर्शक क्षमतामा खेल आयोजना गरिरहेको छ।

‘हंगेरीमा कोभिड १९ संक्रमणबाट मुत्यु हुनेको संख्या अत्यधिक थियो तर पनि त्यसै बेला मैदानमा शतप्रतिशत दर्शक राखेर युरो कपका खेल आयोजना गरिने घोषणा भयो,’ हंगेरीका समर्थक ग्याबी कोभास्कले भने, ‘जनता निराश थिए। तर हंगेरी पुनः विश्व फुटबलमा आफूलाई फर्काउन चाहन्छ। त्यो गर्विलो इतिहास पुनरागमनको लक्ष्यमा छ। दर्शकको उपस्थिति टोलीको प्रदर्शनका लागि ऊर्जा बन्दै आएको छ। आशा छ, समूहचरण पार गर्दै हंगेरीले आफूलाई प्रमाणित गर्नेछ।’ सन् २०१६ मा फ्रान्समा सम्पन्न युरो कपमा हंगेरीले अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो। जुन सन् १९८६ पछि हंगेरीको मुख्य प्रतियोगितामा पहिलो सहभागिता थियो।

‘यहाँका समर्थक फुटबलका लागि पागल भइदिन्छन्,’ कोभास्कले भने, ‘यहाँ घरेलु क्लब, लिग र खेलाडीभन्दा पनि विदेशी टोली समर्थकको संख्या उल्लेख्य छ। बुडापेस्टमा मात्र ६ वटा शीर्ष क्लब छ। बाटोमा हामीले चेल्सी र म्यानचेस्टर सिटीको जर्सीमा धेरै जनालाई देख्न सक्छौं। हंगेरी राष्ट्रिय टोलीको जर्सी र स्थानीय क्लबको जर्सी लगाउने कमै भेटिन्छन्।’ हंगेरी सरकारले पनि फुटबलमा अधिक लगानी गरिरहेको छ। सरकारी टेलिभिजनले बिनाशुल्क फुटबल म्याच प्रत्यक्ष प्रसारण गरिरहेको छ।

प्रकाशित: ८ असार २०७८ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App