युरो कप २०२० अन्तर्गत सोमबार समूह ‘सी’ र समूह ‘बी’ का समान दुई गरी कुल ४ खेल हुँदै छन्। समूह ‘सी’ बाट नेदरल्यान्ड्स र समूह ‘बी’ बाट बेल्जियम अन्तिम १६ मा प्रवेश गरिसकेका छन्।
नेदरल्यान्ड्सविरुद्ध नर्थ म्याासेडोनिया
दुवै टोली सोमबारको खेलको नतिजाले आफ्नो आगामी यात्राका बारेमा जानकार छन्। समूह ‘सी’ बाट नेदरल्यान्ड्स समूहचरणको अन्तिम खेलअघि नकआउट चरण प्रवेश गरिसकेको छ। पहिलो खेलमा युक्रेनलाई हराएको नेदरल्यान्ड्सले दोस्रो खेलमा अस्ट्रियालाई पराजित गर्दै एक खेलअगावै अन्तिम १६ मा प्रवेश गरेको थियो। त्यसैले नेदरल्यान्ड्स नर्थ म्यासेडोनियाविरुद्ध मैदान उत्रँदा शतप्रतिशत नतिजालाई निरन्तरता दिन चाहन्छ।
सात वर्षपछि प्रमुख प्रतियोगितामा पुनरागमन गरेको नेदरल्यान्ड्स आफ्नो उपस्थिति सार्थक बनाउन चाहन्छ। समूह ‘सी’ मा नेदरल्यान्ड्स ६ अंकका साथ शीर्ष स्थानमा छ। अस्ट्रिया र युक्रेन समान ३ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् भने नर्थ म्यासेडोनिया अंकविहीन चौथो स्थानमा छ।
‘नर्थ म्यासेडोनिया सन्तुलित टोली हो। नतिजाका आधारमा उनीहरू कमजोर छन्, तर प्रदर्शन राम्रो रहँदै आएको छ,’ नेदरल्यान्ड्सका प्रशिक्षक फ्य्रांक डी बोरले भने, ‘हामी उनीहरूलाई कमजोर टोलीका रूपमा लिँदैनाैं। हामी स्वाभाविक प्रदर्शनका साथ समूहमा शतप्रतिशत नतिजालाई निरन्तरता चाहन्छाैं।’
यता पहिलो दुई खेलमा पराजित भइसकेको नर्थ म्यासेडोनिया नेदरल्यान्ड्सविरुद्ध राम्रो नतिजाका साथ प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ।
‘युक्रेनविरुद्धको दोस्रो हाफमा हामीले आफ्नो स्वाभाविक खेल खेल्याैं,’ नर्थ म्यासेडोनियाका प्रशिक्षक इगोर एन्जेलोभोस्कीले भने, ‘हामीले यस प्रतियोगिताका लागि आफूहरू योग्य टोली भएको प्रमाणित गरिसकेका छौं। हामी नेदरल्यान्ड्सविरुद्ध जितका लागि खेल्न चाहन्छाैं। नेदरल्यान्ड्सविरुद्ध हामी प्रतियोगिताकै पहिलो अंकको आशामा छाैं।’
युक्रेनविरुद्ध अस्ट्रिया
युक्रेन र अस्ट्रियाले समूह ‘सी’ मा समान ३ अंक जोडेका छन्। पहिलो खेलमा नर्थ म्यासेडोनियाविरुद्ध जितका साथ प्रतियोगितामा सुखद सुरुआत गरेको अस्ट्रिया दोस्रो खेलमा नेदरल्यान्ड्ससँग निराश भएको थियो। त्यसैले प्रतियोगिताको नकआउट चरण प्रवेशका लागि अस्ट्रियालाई युक्रेनविरुद्ध स्पष्ट ३ अंक आवश्यक छ। हार वा बराबरीले अस्ट्रियाको अघिल्लो चरण प्रवेश सम्भावना कमजोर बन्न सक्छ। पहिलो खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियाविरुद्ध जितका साथ प्रतियोगितामा सुखद सुरुआत गरेको थियो दोस्रो खेलमा भने अस्ट्रियाले नेदरल्यान्ड्सलाई नतिजा सुम्पिएको थियो। बराबरीले भने अस्ट्रियाको तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा पर्दै अन्तिम १६ प्रवेशको सम्भावना भने कायम रहनेछ।
‘अन्य टोलीको नतिजामा भन्दा पनि अन्तिम १६ प्रवेश हाम्रो हातमै छ,’ अस्ट्रियाका प्रशिक्षक फ्य्रांको फोडाले भने, ‘युक्रेनविरुद्धको खेलमा मार्को अर्नोटोभिच मैदान फर्कनेछन्। हामी तयारी अवस्थामा छांै।’ यद्यपि बराबरीको नतिजाले पनि युक्रेन हेड टु हेडमा दोस्रो स्थानमा बस्दै अन्तिम १६ मा प्रवेश गर्नेछ। पहिलो खेलमा नेदरल्यान्ड्ससँग २ पटक खेलमा फर्किए पनि नतिजा सुम्पिएको युक्रेनले दोस्रो खेलमा नर्थ म्यासेडोनियालाई हराउँदै अन्तिम १६ प्रवेशको सम्भावना कायम राखेको थियो।
‘अस्ट्रिया क्षमतावान् खेलाडी भएको बलियो टोली हो,’ युक्रेनका प्रशिक्षक एन्डी सेभेन्चेन्कोले भने, ‘आशा छ सोमबारको खेलमा दुई उत्कृष्ट टोलीबीचको भिडन्त हेर्न पाइनेछ। दुवै टोली जितका लागि उत्रनेछन्। एक अंकले पनि हाम्रो अघिल्लो चरण प्रवेशको ढोका खोल्नेछ। तर हामी एक अंकको खोजीमा छौं भने पनि स्पष्ट ३ अंककै लागि खेल्न चाहन्छाैं।’
बेल्जियमविरुद्ध फिनल्यान्ड
फिनल्यान्डले दोस्रो खेलमा रूसविरुद्ध साँघुरो हार बेहोरेपछि युरो कप २०२० मा गरेको उत्कृष्ट सुरुआतमा पूर्णविराम लागेको थियो। प्रतियोगितामा डेब्यु गरेको पहिलो खेलमा फिनल्यान्डले आयोजक डेनमार्कलाई निराश पारेको थियो। दोस्रो खेलमा भने फिनल्यान्ड रूससँग पराजित भएको थियो। त्यसैले प्रतियोगिताकै दाबेदार मानिएको बेल्जियमको सामना गर्दा फिनल्यान्ड कम्तीमा एक अंकका साथ अन्तिम १६ मा स्थान बनाउने सम्भावना कायम राख्न चाहन्छ।
‘हामीले रूसविरुद्ध पाएको पर्याप्त अवसरको सदुपयोग गर्न सकेनाैं। हामी फिनिसिङमा चुक्यौं। आशा छ, बेल्जियमविरुद्ध हामी त्यो पक्ष सुधार गर्न चाहन्छाैं,’ फिनल्यान्डका प्रशिक्षक मार्कु कार्नेभाले भने, ‘हामी पहिलो सहभागिता सुखद पार्न चाहन्छाैं। हामी नकआउट चरणमा प्रवेश गर्न लक्ष्यमा छौं।’
यता पहिलो खेलमा रूस र दोस्रो खेलमा डेनमार्कविरुद्ध जित हात पारेको बेल्जियम यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ। त्यसैले बेल्जियम फिनल्यान्डविरुद्ध पनि स्पष्ट ३ अंकका साथ आफ्नो लयको निरन्तरता दिन चाहन्छ।
‘समूहविजेताको आफ्नै विशेषता छ,’ बेल्जियमका गोलकिपर थियाबाउट कोर्टोइसले भने, ‘त्यसैले फिनल्यान्डविरुद्ध पनि हाम्रो लक्ष्य स्पष्ट ३ अंककै हुन्छ। हामी अन्तिम १६ मा प्रवेश गरिसकेका छाैं। हामी उपाधिका लागि आएका हाैं, त्यसैले हामी फाइनल खेलसम्म नै जितको यात्रा निरन्तरता दिन चाहन्छाैं। हामी फिनल्यान्डलाई कमजोर टोलीका रूपमा लिँदैनाैं।’
रूसविरुद्ध डेनमार्क
फिनल्यान्डविरुद्धको पहिलो खेल डेनमार्कका लागि निकै दुखद रह्यो। मध्यान्तर हुन तीन मिनेट बाँकी हुँदा आफ्ना मिडफिल्डर क्रिस्टियन एरिक्सन हृदयाघातका कारण मैदानमा ढलेको खेलमा टोलीले फिनल्यान्डलाई नतिजा सुम्पिएको थियो। दोस्रो खेलमा बेल्जियमसँग पराजित भएसँगै डेनमार्कको युरो कप यात्रा समूहचरणमा सीमित बन्ने लगभग पक्का भएको थियो।
‘हामी खराब लयबाट गुज्रिरहेका छाैं,’ डेनमार्कका प्रशिक्षक कास्पर हजुलमन्डले भने, ‘हामी रूसमाथि ३ अंक जोड्दै कम्तीमा प्रतियोगिताको सुखद बिदाइको खोजीमा छौं। हामी दबाबरहित स्वाभाविक खेल खेल्छाैं।’
प्रकाशित: ७ असार २०७८ ०४:०१ सोमबार