युरो कपको आफ्नो पहिलो खेलमा हृदयाघात भई अस्पताल भर्ना भएका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन ६ दिनपछि डिस्चार्ज भएका छन्।
डेनिस फुटबल युनियन (डिबियु) ले एरिक्सनको अपरेसन सफलतापूर्वक सम्पन्न भएपछि अस्पतालबाट डिस्चार्ज भएको जनाएको हो। युरो कपअन्तर्गत फिनल्यान्डविरुद्धको आफ्नो पहिलो खेलमा हृदयाघात भएर मैदानमा ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। फिनल्यान्डविरुद्धको खेलअन्तर्गत ४३औं मिनेटमा एरिक्सन अचेत भएर मैदानमा ढल्न पुगेका थिए। इन्टर मिलानका २९ वर्षे मिडफिल्डरलाई तत्काल मैदानमै सिपिआर पनि दिइएको थियो। त्यसपछि उनलाई अस्पताल लगिएको थियो। उक्त खेलमा डेनमार्क १–० ले पराजित भएको थियो। एरिक्सनको शरीरमा मुटुको गतिलाई नियमित गर्न हर्ट डिफाइब्रिलेटर (आइसिडी) लगाइएको छ। एरिक्सनको मुटुको अलगअलग जाँच गरेपश्चात् उनको शरीरमा आइसिडी (हर्ट स्टार्टर) राख्ने निर्णय भएको थियो। मुटुको चालको गडबडीपछि यो डिभाइस आवश्यक देखिएको फुटबल संघले जनाएको थियो।
प्रकाशित: ६ असार २०७८ ०३:४१ आइतबार