१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

युरो कप २०२०ः फ्रान्स र पोर्चुगललाई सफलता

विश्वविजेता फ्रान्सले चिर परिचित प्रतिद्वन्द्वी जर्मनीविरुद्ध १–० को जित निकाल्दा युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता भएका क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा मंगलबार पोर्चुगलले हंगेरीलाई ३–० ले पराजित गर्दै युरो कप २०२० मा विजयी सुरुआत गरेको छ।  

म्युनिखमा भएको खेलमा फ्रान्सले जर्मनीको उपहार गोलबाट जित निकालेको हो। २०औं मिनेटमा माट्स ह्युमेल्सले क्रस बल रोक्ने क्रममा आफ्नै पोस्टभित्र छिराएका थिए। समूह ‘एफ’ को खेलमा २०१८ को विश्वविजेता फ्रान्सले २०१४ को विजेता जर्मनीलाई पराजित गर्दै वर्ष दिन धकेलिएको प्रतियोगितामा सुखद सुरुआत गरेको हो। मंगलबार हंगेरीको बुढापेस्टमा सम्पन्न रोनाल्डोले कीर्तिमान रचेको खेलमा साबिक विजेता पोर्चुगलले घरेलु टोली हंगेरीलाई स्तब्ध बनाएको हो।

‘मेरा खेलाडी बलियो प्रतिद्वन्द्वीविरुद्ध स्वाभाविक खेल खेल्न तयार थिए,’ फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले भने, ‘पहिलो खेल हो। यो सेमिफाइनल खेलेजत्तिकै महत्वपूर्ण थियो। बलिया राष्ट्र भएको यो समूहको खेलबाट अंक निकाल्नु नै निकै महत्वपूर्ण हो।’ कोरोना भाइरसका कारण मैदानमा सीमित दर्शकलाई अनुमति दिइएको थियो। सिट क्षमताको २० प्रतिशत दर्शकले मात्र अनुमति पाएका थिए। जितसँगै फ्रान्सले जर्मनीलाई हराएर तालिकामा स्पष्ट तीन अंक जोडेको छ। खेल अवधिभर बलमा पकड जमाएको जर्मनी फिनिसिङमा चुकेको थियो। यस हारसँगै तीन पटकको च्याम्पियन जर्मनी युरो कपको इतिहासमा पहिलो पटक आफ्नो पहिलो खेलमा पराजित भएको छ।

जितसँगै ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ मा रहेको फ्रान्स समूहतालिकाको दोस्रो स्थानमा छ। हंगेरीलाई हराएको पोर्चुगल शीर्ष स्थानमा। जर्मनी तेस्रो र हंगेरी चौथो स्थानमा छन्। हारबाट प्रतियोगिताको सुरुआत गरेको जर्मनीका खेलाडी जेसुवा किमिचले पहिलो खेल गुमाए पनि बाँकी खेल कमीकमजोरी सुधार्दै खेल्नुपर्ने बताएका छन्। ‘फ्रान्सले पहिलो खेलमा नै राम्रो स्किल देखाएर हामीविरुद्ध स्पष्ट अंक खोस्न सफल भयो। पहिलो खेलमा हाम्रो आपसी तालमेल मिलेन,’ जर्मन क्लब बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेल्ने मिडफिल्डर किमिचले भने, ‘आगामी खेलमा फ्रान्सविरुद्ध भएका कमीकमजोरी दोहोर्‍याउनु हुँदैन। सुधारिएको खेल खेल्न जरुरी छ। किनभने हाम्रो समूह निकै कठिन छ।’ जित निकालेको फ्रान्सले आगामी खेल हंगेरीसँग खेल्नेछ भने जर्मनीले पोर्चुगलसँग प्रतिस्पर्धा गर्ने तालिका छ।  

रोनाल्डोका कीर्तिमानै कीर्तिमान

उद्घाटन खेलमा दुई गोल गर्दै युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता बनेका रोनाल्डोले मंगलबार १०औं र ११औं गोल पूरा गरेका हुन। रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान भंग गर्दै कीर्तिमान रचेका हुन्। रोनाल्डोले डेब्यु संस्करणमा २ गोल गरेका थिए। त्यसपछिको तीन संस्करणमा क्रमश १, ३ र ३ गोल गरेका थिए।  

३६ वर्षीय रोनाल्डो पाँच संस्करणको युरो कप खेल्ने पहिलो खेलाडीसमेत बनेका छन्। रोनाल्डोले पहिलो पटक २००४ को युरो कप फुटबलमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए। त्यसपछि उनले २००८, २०१२ र २०१६ को संस्करण खेले। २०१६ को संस्करणमा कप्तानको आर्मब्यान्ड पाएका रोनाल्डोले आफ्नो देशलाई उपाधिसमेत दिलाएका थिए। यस्तै उनी लगातार पाँच संस्करणमा गोल गर्ने खेलाडीसमेत बने। पोर्चुगलका लागि अन्तर्राष्ट्रिय १ सय ६ गोल पूरा गरेका रोनाल्डो १ सय ९ गोल पूरा गर्र्ने इरानका अली दाईको कीर्तिमाननजिक पुगेका छन्। 

हंगेरीविरुद्ध दुई गोल गरेका रोनाल्डोले म्यान अफ दी म्याच भएपछि टोलीले साथ दिँदा सफल भएको प्रतिक्रिया दिए। ‘मलाई साथ दिने टोलीसँग म निकै अभारी छु। आजको खेलमा नै दुई गोल गर्ने मौका प्रदान गरेका सहकर्मीलाई धन्यवाद दिन चाहन्छु,’ कीर्तिमान रचेका रोनाल्डोले भने।

प्रकाशित: ३ असार २०७८ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App