८ वैशाख २०८१ शनिबार
खेल

एसियन कप २०२३ छनोटः ढाँचा परिमार्जन हुँदा नेपाल तेस्रो चरणमा

नेपालले एसियन कप २०२३ को छनोटअन्तर्गत तेस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको छ।  

एएफसीले बुधबार एसियन कप छनोटको ढाँचा परिमार्जन गरेसँगै नेपालले एसियन कप छनोटका लागि अर्को अवसर पाएको हो। कतार र चीन विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्दै एसियन कपमा स्वतः छनोट भएसँगै एएफसीले यसअघिको प्रावधानमा परिवर्तन गरेको हो।

एएफसीले यसअघि सार्वजनिक गरेको संरचनाअनुसार छनोट चरणमा सहभागी ८ समूहका शीर्ष टोलीका साथै दोस्रो स्थानमा रहने उत्कृष्ट ५ टोली विश्वकपको तेस्रो चरणमा प्रवेश गर्दै एसियन कप २०२३ मा स्वतः टिकट काट्ने प्रावधान थियो। त्यस्तै दोस्रो स्थानमा रहने टोलीमध्ये बाँकी रहेका ३ टोली, तेस्रोे स्थानका ८ टोली र चौथो स्थानमा रहने टोलीमध्येको उत्कृष्ट ४ टोली गरी कुल १५ टोली एसियन कप छनोटको तेस्रो चरण प्रवेश गर्ने प्रावधान थियो। चौथो स्थानमा रहने बाँकी ४ टोली र पाचौं स्थानका ८ टोलीले भने प्लेअफमार्फत एसियन कपको तेस्रो चरणका लागि प्रतिस्पर्धा गर्ने प्रावधान थियो।

कतार विश्वकप २०२२ तथा चीन एसियन कप २०२३ को छनोट चरणमा नेपालले समूह ‘बी’ मा ६ अंकका साथ चौथो स्थानमा बस्दै आफ्नो यात्रा टुङ्ग्याएको थियो। टोलीले छनोट चरणको सुरुआती पाँच खेल (४ अवे र १ होम म्याच) मा ३ अंक जोडेको थियो। कोभिड १९ को दोस्रो महामारीका कारण एएफसीले सेन्ट्रल भेन्युमा छनोट चरणका बाँकी खेल खेलाउने निर्णय गर्‍यो। जसअन्तर्गत नेपालले छनोट चरणका बाँकी तीन खेल कुवेतमा खेल्यो। यस्तो अवस्थामा नेपालले लिएको एउटै लक्ष्य थियो चौथौ स्थानमा रहने टोलीमध्ये उत्कृष्ट ४ भित्र पर्दै स्वतः एसियन कप छनोटको तेस्रो चरण प्रवेश गर्ने। कुवेतमा भएको पहिलो खेलम नेपालले पाँचाैं स्थानमा बसेको चाइनिज ताइपेईमाथि जितका साथ आफ्नो खातामा थप ३ अंक जोड्यो। 

६ अंकका साथ चौथो स्थानमा बसेको नेपालको चौथो स्थानको टोलीमध्ये उत्कृष्ट ४ मा पर्दै एसियन कप छनोटको तेस्रो चरण प्रवेशको सम्भावना कायम थियो र नेपालसामु त्यो लक्ष्य पूरा गर्न दुई खेल (जोर्डन र अस्ट्रेलियाविरुद्ध) बाँकी नै थियो। तर समूह ‘एच’ को पाँचाैं स्थानमा रहेको उत्तर कोरियाले अन्तिम समयमा छनोट चरणका बाँकी खेल नखेल्ने घोषणा गरेसँगै एएफसीले पाँचौं स्थानको टोलीविरुद्धको नतिजालाई एसियन कप छनोटका लागि मान्यता नदिने जनाएपछि नेपालको तेस्रो चरण प्रवेश सम्भावना क्षीण बनेको थियो।

छनोटका बाँकी रहेका जोर्डन र अस्टे«लियाविरुद्धको खेल गुमाएपछि नेपालको उत्कृष्ट ४ भित्र बस्दै स्वतः एसियन कप छनोटको तेस्रो चरण प्रवेशको सम्भावना लगभग सकिएको थियो। नेपालले एसियन कप छनोटको तेस्रो चरणका लागि प्लेअफमार्फत जानुपर्ने समीकरण बनेको थियो। बुधबारबाट विश्वकप २०२२ तथा एसियन कप २०२३ का छनोट खेल समापन भए। समूह ‘ए’ बाट सिरिया यसअघि नै शीर्ष टोलीका रूपमा विश्वकप छनोटको अन्तिम चरणमा प्रवेश गरेसकेको थियो। चीनले बुधबार समूह ‘ए’ को उपविजेता र कतारले समूह ‘ई’ को विजेताका रूपमा विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाएका थिए। यससँगै एएफसीले २०२३ को एसियन कप छनोट तेसो चरण प्रवेश गर्ने टोली संरचनामा परिवर्तन गरेको हो।

एएफसीको नयाँ संरचनाअनुसार दोस्रो स्थानमा बस्ने अन्तिम ३ टोलीका साथै तेस्रो र चोथो स्थानमा बस्ने समान ८ टोली र पाँचाैं स्थानमा बस्ने ३ टोली गरी २२ टोलीले एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन्। कुल २४ टोलीबीच हुने तेस्रो चरणको प्रतिस्पर्धामा २ टोली प्लेअफ पार गर्दै आउनेछन्। तेस्रो चरणमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिनेछ। जसअन्तर्गत प्रत्येक समूहमा समान ४ टोलीले होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक समूहका शीर्ष टोली र दोस्रो स्थानमा बस्ने उत्कृष्ट ५ टोली गरी ११ टोली एसियन कपमा छनोट हुनेछन्। यसअघि १३ टोली भने एसियन कपमा छनोट भइसकेका छन्। तेस्रो चरण छनोटको तालिका जुन २४ मा सार्वजनिक गरिनेछ।

२०२३ को एसियन कप छनोटअन्तर्गत तेस्रो चरण प्रवेश गर्ने टोली

दोस्रो स्थानको पुछारमा रहने तीन टोली– ताजकिस्तान, किर्गिस्तान र कुवेत  

तेस्रो स्थानका टोली– फिलिपिन्स, जोर्डन, बहराइन, प्यालेस्टाइन, मलेसिया, तुर्कमेनिस्तान, भारत र किर्गिस्तान  

चौथो स्थानका टोली– माल्दिभ्स, नेपाल, हङकङ, सिंगापुर, अफगानिस्तान, मंगोलिया, थाइल्यान्ड र श्रीलंका  

पाँचाैं स्थानमा रहने टोलीमध्येका उत्कृष्ट तीन टोली– म्यानमार, यमन, बंगलादेश  

एसियन कप २०२३ छनोट तेस्रो चरण प्रवेशको प्लेअफ

इन्डोनेसिया, कम्बोडिया, ग्वाम र चाइनिज ताइपेई

प्रकाशित: ३ असार २०७८ ०१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App