coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

क्रेचिकोभालाई फ्रेन्च ओपन उपाधि

बार्बोरा क्रेचिकोभाले फ्रेन्च ओपनको उपाधि उचाल्दै चेक रिपब्लिकका लागि ४० वर्षपछि पेरिसमा ग्रान्ड स्लाम जित्ने महिला खेलाडी बनेसँगै आफ्नो जित विम्बल्डनकी पूर्वच्याम्पियन याना नोभोत्नाप्रति समर्पित गरेकी छिन्।

शनिबार फ्रेन्च ओपनको फाइनलमा रसियन खेलाडी एनास्टासिया पाब्लियुचेनकोभालाई हराउँदै सिंगल्सतर्फ करियरको पहिलो ग्रान्ड स्लाम जितेकी क्रेचिकोभाले जित चार वर्षअगाडि निधन भएकी चेककी नोभोत्नाप्रति समर्पित गरेकी हुन्। विश्व वरीयतामा ३३औं स्थानमा रहेकी क्रेचिकोभाले सिंगल्सतर्फ आफ्नो पाँचौं प्रतियोगितामा नै सफलता प्राप्त गरिन्। त्यस क्रममा उनले फाइनलमा एनास्टासियालाई ६–१, २–६ र ६–४ ले स्तब्ध बनाउँदै करियरको दोस्रो उपाधि जितिन्। सन् १९८१ मा आफ्नै देशी हाना मान्डलिकोभाले पेरिसमा दिलाएको सफलता क्रेचिकोभाले ४० वर्षपछि दोहोर्‍याएकी हुन्।  

मेन्टरका रूपमा रहेकी नोभोत्नालाई आफ्नो जित समर्पित गर्ने भन्दै क्रेचिकोभा भावुकसमेत भइन्। नोभोत्नाको क्यान्सरका कारण सन् २०१७ मा ४९ वर्षको उमेरमै निधन भएको थियो। ‘मलाई शब्द चयन गर्न नै कठिन भइरहेको छ। किनकि आज मैले ग्रान्ड स्लाम जितेको बारे विश्वास गर्न नै सकिरहेको छैन,’ उनले भनिन्, ‘मैले याना नोभोत्नासँग धेरै समय बिताएको छु। मेरा लागि उनको अन्तिम शब्द टेनिससँग रमाऊ र ग्रान्ड स्लाम जित्ने प्रयास गर भन्ने थियो।’ सन् २०२० को डिसेम्बरमा फ्रेन्च ओपन हुँदा उनी विश्व वरीयताको सयभित्र पनि थिइनन्। यद्यपि, उनले एक वर्षभित्र नै ठूलो सफलता निकालिन्। ‘मलाई थाहा छ, उनले मलाई हेरिरहेकी छन्। यो जित निकै विशेष छ, किनकि उनले पनि हेरिरहेकी छन्,’ भावुक हुँदै क्रेचिकोभाले भनिन्, ‘उनी मेरी आदर्श हुन्। उनलाई धेरै सम्झिरहेको छु।’

उनले आइतबार नै तेस्रो महिला डबल्स ग्रान्ड स्लामको सफलता पनि चुमिन्। काटरिना सिनिकोभासँग मिलेर उनले फ्रेन्च ओपनको डबल्सको फाइनलमा बेथानी माटेक सान्ड्स र इगा स्विटेकको जोडीलाई ६–४ र ६–२ ले हराइन्। सन् १९८२ र १९८४ मा फ्रेन्च ओपन विजेता चेकमा जन्मिएकी मार्टिना नाभ्रातिलोभाले क्रेचिकोभालाई च्याम्पियनको ट्रफी हस्तान्तरण गरिन्। क्रेचिकोभाले यसअघि सन् २०१८ मा फ्रेन्च ओपन र विम्बल्डनको महिला डबल्सको उपाधि जितेकी थिइन्। पेरिसमा पहिलो पटक ठूला सफलता हात पारेकी क्रेचिकोभा अब विश्वको १५औं वरीयतामा पुग्नेछिन्।

सन् २०१७ जेलिना ओस्टापेन्का र सन् २०२० इगा स्विटेकले फ्रेन्च ओपन जितेपछि उनी पछिल्ला पाँच वर्षमा पेरिसमा ग्रान्ड स्लाम जित्ने तेस्रो गैरवरीयताकी खेलाडी भइन्। सन् २००० मा म्यारी पिइर्सले पेरिसमा दुई ग्रान्ड स्लाम जितेकी थिइन् र त्यसयता त्यो सफलता दोहोर्‍याउने क्रेचिकोभा पहिलो खेलाडी भइन्। 

प्रकाशित: ३१ जेष्ठ २०७८ ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App