coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

खेल हारे पनि मृत्युलाई जित्याैं

डेनमार्कको एउटा पत्रिकाले युरो कप २०२० मा आइतबार फिनल्यान्डविरुद्धको हारपछि लेख्यो, डेनमार्कले हार्‍यो। तर मृत्युलाई जित्याैं।

आँसु र चिन्ताले सताएको रातमा अन्ततः कोपनेहेगनसहित सारा विश्वले राहतको सास फेर्‍यो। फिनल्यान्डविरुद्ध आइतबार डेनमार्कका क्रिस्टियन एरिक्सन मध्यान्तर हुन तीन मिनेट बाँकी हुँदा मैदानमा लडेसँगै अचेत भएका थिए। तर अस्पताल पुर्‍याइएपछि उनी होसमा आइसकेको र उनको अवस्था स्थिर रहेको खबर सार्वजनिक भयो। राहतको सास, जसले जुन तीव्रताका साथ एउटा जीवन फिर्ता ल्याउन सफल भए। त्यही तीव्रताले टोटेनह्यामका पूर्वमिडफिल्डर एरिक्सनको जीवन बाँच्यो।

आफ्ना खेलाडीको थ्रो इन रिसिभ गर्ने क्रममा एरिक्सन मैदानमा ढले, जुन दृश्यले कोपेनहेगनस्थित पार्केन रंगशाला स्तब्ध बन्यो। डेनमार्कका कप्तान सिमोन केजारले लडिरहेका एरिक्सनको गर्धन उठाउँदै कार्डियो पल्मोनरी रिसस्सिटेसन सिपिआरको पहिलो डोज दिए। त्यति बेलासम्म मेडिकल टिम एरिक्सनसम्म पुगिसकेको थियो। मैदानमा अधिकांश खेलाडीका साथै दर्शकहरू रुँदै एरिक्सनको जीवनको रक्षाका लागि प्रार्थना गरिरहेका थिए। कप्तान केजार र गोलकिपर कास्पर स्माइकलले एरिक्सनकी पत्नीलाई सान्त्वना दिइरहेका थिए।  

१५ मिनेटको प्राथमिक उपचारपछि एरिक्सनलाई अस्पताल पुर्‍याइयो, त्यति बेलासम्म जारी खेल भने केही समयका लागि स्थगन गरिएको थियो। एरिक्सन होसमा आएको खबरसँगै खेलः पुन सुचारु भयो, जहाँ फिनल्यान्डले १–० को जित हात पार्‍यो। ‘सबैलाई थाहा थियो, एरिक्सन अचेत अवस्थामा मैदानमा ढलेका छन्,’ पोस्ट म्याच कन्फरेन्समा डेनमार्क टोलीका चिकित्सक मार्टिन बोइसेनले पार्केन रंगशालाले अनुभव गरेको त्यो कहालीलाग्दो १५ मिनेटको प्राथमिक उपचारको बारेमा भने, ‘मैदानमा पुगेपछि मैले हेर्दा एरिक्सनको सास चलिरहेको पाएँ। उनको नाडी चलायमान थियो तर त्यो एक्कासि घट्यो र हामीले उनलाई सिपिआर सुरु गर्‍यौं। मेडिकल टोलीले तत्काल काम सुरु गर्‍यो। सबैको सहकार्य र धैर्यतामा हामी एरिक्सनको जीवन जोगाउन सफल भयांै। उनले अस्पताल जानुअघि मसँग केही बोलेका थिए।’

‘डेनमार्कका खेलाडी केही समयका स्थगित खेलको पूर्णताका लागि मैदान उत्रिए, तर उनीहरू खेल्न इच्छुक भने देखिएका थिएनन्। डेनमार्कका खेलाडीसामु दुई विकल्प दिइएको थियो, खेल शनिबार नै सम्पन्न गर्ने अथवा आइतबार दिउँसो बाँकी रहेको खेल खेल्ने। एरिक्सनको अवस्था ठीक भएको खबरसँगै उनीहरू मैदान उत्रन तयार भएका थिए। खेल रोकिएको दुई घण्टापछि पुनः सुरु भयो। पहिलो हाफको अन्तिम ५ मिनेट खेलाइयो। पाँच मिनेटको विश्रामपछि दोस्रो हाफ सुरु गरिएको थियो।

‘हामीसामु आइतबार दिउँसो खेल सम्पन्न गर्ने विकल्प थियो,’ डेनमार्कका मुख्य प्रशिक्षक कास्पर हाजुल्मान्डले भने, ‘तर हामी कसरी आजको राति निदाउन सक्थ्यौं। हामी कसरी भोलि पुनः त्यही टोली बसमा मैदान पुग्दै फेरि खेल्न सक्थ्याैं ? यो हाम्रो कल्पनाभन्दा बाहिरको कुरा थियो। त्यसैले शनिबार राति नै बाँकी रहेको खेल पूर्ण गर्ने निर्णय लियाैं।’

प्रकाशित: ३१ जेष्ठ २०७८ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App