युरो कप २०२० मा आइतबार तीन खेल हुँदै छन्। समूह ‘सी’ का दुई र समूह ‘डी’ का एक खेल। समूह ‘डी’ मा युक्रेनविरुद्धको खेलसँगै नेदरल्यान्ड्सले ७ वर्षपछि प्रमुख प्रतियोगितामा पुनरागमन गर्दैै छ। यता समूह ‘सी’ मा इङ्ल्यान्ड र क्रोएसियाबीचको खेलले भने सन् २०१८ को रूस विश्वकपको सेमिफाइनलको झल्को दिनेछ।
इङ्ल्यान्डविरुद्ध क्रोएसिया (समूह ‘डी’,बेम्बली,६ः४५ बजे)
इङ्ल्यान्ड र क्रोएसिया मुख्य प्रतियोगितामा धेरै पटक आमनेसामने हुँदै आएका छन्। सन् २०१८ मा रूस विश्वकपको सेमिफाइनलमा क्रोएसियाले उत्कृष्ट पुनरागमनमा २–१ को जितका साथ इङ्ल्यान्डको विश्वकप लक्ष्यमा पूर्णविराम लगाइदिएको थियो। यी दुई टोली आइतबार पुनः आमनेसामने हुँदै छन्। लन्डनस्थित वेम्बली रंगशालामा हुने खेलमा गारेथ साउथगेटको टोलीले क्रोएसियाको सामना गर्दा दुवै टोली जितको खोजीमा हुनेछन्।
दुवै टोलीका लागि एकअर्काविरुद्धको प्रतिस्पर्धा नै समूहमा कठिन मानिएको छ। यस समूहमा स्कटल्यान्ड र चेक रिपब्लिक पनि छन्। उनीहरूलाई इङ्ल्यान्ड र क्रोएसियाको तुलनामा कमजोर मानिन्छ। त्यसैले यी दुई टोलीबीचको खेलनतिजाले समूहचरणको अन्त्यमा समूहविजेताको टुङ्गो लगाउन अर्थ राख्नेछ। रूस विश्वकपमा क्रोएसियासँग निराश बनेको इङ्ल्यान्डले युइएफए नेसन्स कपमा भने जित हात पारेको थियो।
क्रोएसियाविरुद्ध साउथगेटको युवा टोली कुन रणनीतिमा मैदान उत्रन्छ, सबैको चासो बनेको छ। ह्यारी म्याग्वेरबिना प्रतियोगिताकै दाबेदार मानिएको टोलीका प्रशिक्षक साउथगेटले कसरी इङ्ल्यान्डको रक्षापंक्ति उतार्छन् चासोको विषय बनेको छ। इङ्ल्यान्डले प्रतियोगिताको १६औं संस्करणसम्म आइपुुग्दा अहिलेसम्म युरो कपको उपाधि जितेको छैन। सन् १९९६ को युरो कपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको इङ्ल्यान्ड त्यसपछि अहिलेसम्म प्रतियोगिताको क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेको छैन। ‘हामी तीन वर्षअघि मस्कोमा क्रोएसियासँग निराश भएका थियाैं,’ साउगथेटले भने, ‘त्यसपछि पनि हामी दुई पटक आमनेसामने भइसकेका छौं। क्रोएसिया अनुभवी खेलाडीले भरिएको टोली हो। उनीहरूका खेलाडी रणनीतिक रूपमा अब्बल छन्। हामी पहिलो खेलमै सुखद सुरुआत गर्न चाहन्छाैं।’
क्रोएसियाका कप्तान लुका मोडरिच भने इङ्ल्यान्ड प्रतियोगिताकै दाबेदार टोली भए पनि रूस विश्वकपकै सफलता दोहोर्याउनेमा विश्वस्त छन्। यद्यपि तीन वर्षको अन्तरालमा अवस्था फरक भएकाले दुवै टोलीका लागि खेल कठिन बन्न सक्छ। क्रोएसिया इङ्ल्यान्डविरुद्ध रक्षात्मक खेल्दै काउन्टर अट्याकको रणनीतिमा उत्रने प्रबल सम्भावना छ। ‘इङ्ल्यान्ड टोली निकै बलियो छ। उत्कृष्ट खेलाडीले भरिएको छ,’ क्रोएसियाका प्रशिक्षक जाल्टकोले भने, ‘हामी शतप्रतिशत अंक लिन चाहन्छौं।’
अस्ट्रियाविरुद्ध नर्दन मेसेडोनिया (समूह ‘सी’, बुखारेस्ट,९ः३० बजे)
नर्दन मेसेडोनिया सन् २००८ र सन् २०१६ को युरो कपमा छनोट भए पनि दुवै संस्करणमा जितविहीन बनेको थियो। युरो कप २०२० को छनोट चरणमा यी दुई टोली आमनेसामने भएका थिए। दुवै पटक अस्ट्रियाले बाजी मार्दै युरो कपका लागि स्वतः छनोट भएको थियो। मेसेडोनिया भने प्लेअफमार्फत युरो कपमा छनोट भएको थियो। मार्चमा विश्वकपको युरोपेली छनोटमा जर्मनीविरुद्ध जित हात पारेको नर्दन मेसेडोनिया अस्ट्रियाविरुद्ध आइतबार मैदान उत्रँदा सोही लय कायम गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ। अस्ट्रियाको यो तेस्रो युरो कप सहभागिता हो तर टोलीले अहिलेसम्म आशातीत प्रदर्शन भने गर्न सकेको छैन। रक्षापंक्तिमा बलियो भए पनि अस्ट्रियाको अग्रपंक्ति भने चल्न सकिरहेको छैन। अस्ट्रिया नर्दन मेसेडोनियाविरुद्धको सफलतालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।
नेदरल्यान्ड्सविरुद्ध युक्रेन (समूह ‘सी’,आम्स्टर्डम, १२ः३० बजे)
सन् २०१६ को फ्रान्स युरो कप र सन् २०१८ को रूस विश्वकपमा छनोट हुन असफल नेदरल्यान्डस्ले ७ वर्षपछि मुख्य प्रतियोगितामा पुनरागमन गर्दै छ। घरेलु समर्थकमाझ युक्रेनको सामना गर्दा नेदरल्यान्ड्स यो पुनरागमन सुखद पार्न चाहन्छ। युक्रेन र नेदरल्यान्ड्स मुख्य प्रतियोगितामा आमनेसामने हुन लागेको यो पहिलो पटक हो।
छनोट चरणमा युक्रेनले साबिकको विजेता पोर्चुगल सम्मिलित समूहको शीर्ष स्थानमा बस्दै युरो कप २०२० को टिकट काटेको थियो। फ्रांक डी बोयरको टोली लयमा रहेको युक्रेनविरुद्ध ५–३–२ को संरचनामा मैदान उत्रनेछ। ‘युक्रेन उत्कृष्ट खेलाडीले भरिएको टोली हो,’ डी बोयरले भने, उनीहरूविरुद्ध खेल्न निकै कठिन छ। पहिलो खेलमा हामी स्पष्ट ३ अंक जोड्न चाहन्छौं। त्यसैले युक्रेनविरुद्धको नतिजाले टोलीको नकआउट चरणमा विशेष अर्थ राख्छ। यता युक्रेनका प्रशिक्षक आन्द्रे सेभचेन्को भने आफूहरूको लक्ष्य समूहचरणबाट माथि उठ्ने भएका बताए। नेदरल्यान्ड्स प्रतियोगिताको दाबेदार टोली भए पनि आपूmहरू उत्कृष्ट लयमा रहेको र त्यो लयले आइतबारको खेलमा पनि निरन्तरता पाउने बताए।
रूस विश्वकपमा क्रोएसियासँग निराश बनेको इङ्ल्यान्डले युइएफए नेसन्स कपमा भने जित हात पारेको थियो। क्रोएसियाविरुद्ध साउथगेटको युवा टोली कुन रणनीतिमा मैदान उत्रन्छ, सबैको चासो बनेको छ।
प्रकाशित: ३० जेष्ठ २०७८ ०२:४० आइतबार