८ वैशाख २०८१ शनिबार
खेल

नेपालको खेलशैलीमा परिवर्तन

अस्ट्रेलियाविरुद्धको हारसँगै नेपालले शुक्रबार कतार विश्वकप २०२२ र चीन एसियन कप २०२३ को छनोट चरणको अन्त्य गर्‍यो।

छनोट चरणको सुरुआती पाँच खेल (४ अवे र १ होम म्याच) गरी नेपालले तत्कालीन प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा खेलेको थियो। पाँच खेलमा मात्र १ जित हात पार्दै नेपालले अंक खाता खोलेको थियो। कुवेतसँग दुवै लेग गुमाएको नेपालको लक्ष्य थियो, घरेलु मैदानमा हुने बाँकी तीन खेलमा राम्रो नतिजाका साथ कम्तीमा चीनमा सन् २०२३ मा आयोजना हुने एसियन कप छनोटको तेस्रो चरणको टिकट काट्नु।  

यस्तोमा नेपालको लक्ष्य थियो, चाइनिज ताइपेईविरुद्ध जितको यात्रालाई निरन्तरता दिने र जोर्डन र अस्ट्रेलियाविरुद्ध कम्तीमा एक अंक हात पार्ने। त्यसका लागि नेपाल सामु एक मात्र विकल्प थियो, आठ समूहमा चौथो स्थानमा रहने टोलीमध्ये उत्कृष्ट ४ मा बस्दै एसियन कप छनोटको तेस्रो चरणमा स्वतः प्रवेश गर्नु। नेपालको एसियन कप छनोटको दाबेदारीलाई मूर्त रूप दिने जिम्मा कुवेतका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पाए।

नेपाल सुपर लिग (एनएसएल) पछि ३२ हुँदै २३ सदस्यीय अन्तिम टोलीको घोषणा गर्दा अल्मुताइरीले राष्ट्रिय टोलीमा व्यापक परिवर्तन गर्दै ६ नयाँ अनुहारलाई स्थान दिए। अनुभवी खेलाडीलाई छनोटमा स्थान नदिएको भन्दै आलोचित बनेपछि अल्मुताइरीले विश्वकप छनोटको तेस्रो चरण प्रवेशको व्यावहारिक सम्भावना अन्त्य भइसकेकाले आफूले एसियन कप छनोटको तेस्रो चरण र विशेष गरी साफ च्याम्पियनसिपको उपाधि लक्ष्य लिएकाले युवा खेलाडीलाई अवसर दिएको प्रतिक्रिया दिएका थिए। छनोट खेलअघि नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्यो। 

सो खेलमा नेपालले अग्रता जोगाउन नसक्दा अन्तत ६–२ को हार व्यहोर्‍यो। इराकजस्तो बलियो टोलीविरुद्ध नेपालले आक्रामक रणनीति अपनाएको भन्दै समग्र टोली र प्रशिक्षक अल्मुताइरीले प्रशंसा बटुले। इराकबाटै नेपाल विश्वकप छनोटका बाँकी तीन खेलका लागि कोरोना महामारीका कारण तय भएको स्थल कुवेततर्फ प्रस्थान गर्‍यो। पहिलो खेलमा नेपालले चाइनिज ताइपेईलाई हराउँदै एसियन कप तेस्रो चरणको सम्भावना जीवित राखेको थियो। दोस्रो खेलमा भने नेपाल जोर्डनविरुद्ध पराजित भयो।  

संयोग के रह्यो भने नेपालको पहिलो लेगमा चाइनिज ताइपेई र जोर्डनविरुद्ध जुन नतिजा र स्कोरलाइन थियो, कुवेतमा त्यही दोेहोरियो। चाइनिज ताइपेईविरुद्धको जितले हौसिएको नेपाललाई जोर्डनविरुद्धको हारले भने प्लेअफको सहारा लिनुपर्ने भयो। त्यसैले अस्ट्रेलियाविरुद्धको खेल नेपालका लागि प्रतियोगिताको सुखद अन्त्य गर्नुबाहेकको कुनै लक्ष्य थिएन। पहिलो लेग ५–० ले गुमाएको नेपालले शुक्रबार १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरे पनि अस्ट्रेलियालाई ३–० को नतिजामै रोकेको थियो।

अत्मुताइरीले प्रशिक्षण सम्हालेदेखि नै टोलीको दीर्घकालीन योजनाको सुरुआत मात्र भएकाले टोलीको नतिजाको सबै सम्पूर्ण जिम्मेवारी आफूले लिने बताउँदै खेलाडीमाथि दबाब नदिन आग्रह गरेका थिए। जोर्डन र अस्ट्रेलियाका प्रशिक्षकहरूले नेपालविरुद्ध सजग हुँदै खेल्ने प्रतिक्रियाले पनि नेपालको खेलशैलीमा परिवर्तन आएको प्रमाणित गर्छ। ‘म मेरा खेलाडीलाई धन्यवाद दिन चाहन्छु,’अस्ट्रेलियाविरुद्धको खेलपछि अल्मुताइरीले भने, ‘आज नेपाली टोलीले गोर्खालीले जस्तै खेल्यो। १० खेलाडीमा सीमित हुँदा पनि केही फरक परेन। खेलको अन्तिमसम्म पनि खेलाडीको मिहिनेतमा कमी आएन।’

छनोट चरणमा ८ खेलमा ६ अंक जोडेको नेपालले कुल २२ गोल खायो भने ४ गोल गर्न सफल रह्यो। यसअघि नेपालले सन् २००२ को विश्वकप छनोट चरणमा इराक, काजकिस्तान र मकाउ सम्मिलित टोलीमा दुई खेल जित्दै ६ अंक जोडेको थियो। प्रशिक्षक अल्मुताइरीले यस पटक राष्ट्रिय टोलीमा अवसर दिएका ६ मध्ये ५ खेलाडी (मनीष डाँगी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र सुरजज्यू ठकुरी) लाई राष्ट्रिय टोलीबाट डेब्यु गराए। जसमध्ये मनीष डाँगीले गोल गर्दै आफ्नो औचित्य प्रमाणित गरे।

विश्वकप छनोटमा नेपालको नतिजा जस्तो भए पनि अत्मुताइरीले युवा खेलाडीमाथि विश्वास गर्दै लिएको दीर्घकालीन योजनाले आगामी दिनमा कस्तो रूप लिन्छ, त्यो हेर्न बाँकी छ। तर उनको आगमनमा नेपाली टोलीले देखाएको आक्रामक रणनीति र युवा जोसले भने नेपाली फुटबलको भविष्य सकारात्मक रहेको संकेत गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग निर्देशक तथा फुटबल विश्लेषक सञ्जीव मिश्रले नेपालले प्रतियोगितामा लिएको लक्ष्य पूरा नभए पनि टोलीले यस पटक विश्वकप छनोटमा समग्रमा राम्रो प्रदर्शन गरेको बताए।

‘नेपालका लागि यस पटकको छनोट चरण सकारात्मक नै रह्यो,’ मिश्रले भने, ‘नयाँ प्रशिक्षकको रणनीतिसँग खेलाडी घुलमिल भएको देखियो। सबैभन्दा महत्वपूर्ण कुरा भनेको खेलाडीले आफैंमा विश्वास गरेको पाइयो। यो सकारात्मक पक्ष हो। विगतमा हामी छनेट चरणमा धेरै गोल खान्थ्यौं, यस पटक त्यो परम्परा तोडिएको छ।’ यद्यपि नेपालले अझै आफ्नो राणनीतिमा पूर्ण रूपमा जान सुधार आवश्यक रहेको मिश्रले बताए। नेपालले सेप्टेम्बरमा एसियन कप २०२३ को प्लेअफमा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ३० जेष्ठ २०७८ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App