coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

खोप बिना मैदानमा कसरी उतार्नु खेलाडीलाई?

खेलाडी राष्ट्रका गहना हुन्। अन्तर्राष्ट्रिय एरिनामा राष्ट्रिय झण्डा बोक्ने खेलाडी नै हुन्। तर तिनै राष्ट्रका गहनाले भने कोरोना विरुद्धको खोप पाउन सकेका छैनन्। सरकारले अग्रपंक्तिका (फ्रन्टलाईन) मा कार्यरतलाई मात्र कोरोना विरुद्धको पहिलो र दोस्रो डोजको खोप उपलब्ध गराईसकेको छ। त्यसपछि वृद्धवृद्धलाई खोप दिइएको छ । विभिन्न क्षेत्र एवं संघसंस्था एवं कर्मचारीले समेत खोप लगाईसकेको अवस्था छ । यद्यपी राष्ट्रका गहना भनिएका खेलाडीको हकमा भने खोप सरकारले उपलब्ध गराउन सकेको छैन ।  

पहुँच भएकाले लगाईसके। गण्डकी प्रदेशका सदस्यहरुले आफन्तलाई समेत खोप लगाईसकेको सामाजिक सञ्जालमा चर्चा छ। तर खेलाडीलाई खोप लगाउने तर्फ सम्बन्धीत निकाय एवं सरकारको गम्भीर ध्यान नगएको खेलाडीहरुको आरोप छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागि हुने खेलाडीले कोरोना परीक्षण गरेर मात्रै सहभागि हुने गरेका छन्।  

‘खेलाडी राष्ट्रका गहना हुन् । यो केवल शब्दले मात्रै हुदैन्। खेलाडीलाई पनि सरकारले खोप उपलब्ध गराउनुपछ,’ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले भने, ‘खेलाडीलाई खोप दिईएको भए विस्तारै खेलकुद क्षेत्र चलायमान हुने तर्फ उन्मुख हुन्थ्यो ।’ उनका अनुसार सरकारले ढिला नगरी खेलाडीलाई खोप उपलब्ध गराई खेलकुद क्षेत्रलाई सक्रिय बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि पनि खेलाडीलाई कोरोना विरुद्धको खोप दिई प्रतिस्पर्धाको लागि तयारी गर्नुपर्ने उनको जोड थियो । अर्को महिनादेखि टोकियो ओलम्पिक शुरु हुदैं छ । ओलम्पिकमा सहभागि हुने खेलाडीदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागि भईसकेका खेलाडीहरुलाई खोप उपलब्ध गराउनुपर्ने उनको भनाई थियो।  

यतिबेला कोरोनाको दोस्रो लहर छ । सबै क्षेत्र त्राही बनेका छन् । त्यसबाट खेल क्षेत्र पनि अछुतो छैन् । धेरैले ज्यान गुमाईसकेका छन् । पूर्व खेलाडी तथा प्रशिक्षकहरुले पनि कोरोनाकै कारण ज्यान गुमाईसकेका छन् । विभिन्न जिल्लाका विभिन्न खेल क्षेत्रका खेलाडी तथा प्रशिक्षकको निधनले खेलक्षेत्र स्तब्ध बन्न पुगेको थियो । ‘खेलाडीको रक्षार्थ पनि खोप जरुरी छ,’ उनको भनाई थियो ।  

कोरोनाकै कारण पोखराका पूर्व खेलाडी एवं फुटबल प्रशिक्षक विल तामाङ, पूर्व राष्ट्रिय हक्की खेलाडी रमेश कर्माचार्यको निधन भएको छ । पुर्व कुस्ती खेलाडी विद्यासागर पोखरेल, क्योकुशिन कराँतेका पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षकद्वय रामजीप्रसाद बज्राचार्य, बैजनाथ यादव, नेपाल ह्याण्डबल संघका सचिव समेत रहेका पूर्व राष्ट्रिय खेलाडी महेन्द्रजंग कार्की, पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष मणि लामा, अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी राम बरुण, भारोत्तोलनका प्रशिक्षक सकिल अहमद हलवाई लगायतको कोरोना संक्रमणबाट निधन भईसकेको छ।  

गण्डकी प्रदेशबाट बोर्ड सदस्यमा भएका श्रेष्ठले गण्डकी प्रदेश सरकारसँग गण्डकी प्रदेशबाट १३ औं सागका पदक विजेता खेलाडी तथा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई कोरोना खोप उपलब्ध गराउनुपर्ने बताए । ‘सबै प्रदेश सरकारले आफनो क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई खोपको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘गण्डकी प्रदेश सरकार एवं स्थानीय तहले पनि खेलाडीलाई प्राथमिकतामा राखेर खोप दिनुपर्छ ।’  १३ औं सागमा गण्डकी प्रदेशबाट साग विजेता र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी झण्डै तीनसयको हाराहारीमा खेलाडीहरु रहेका छन्। 

गण्डकी खेलकुद परिषदले पनि कोभिड १९ का कारण ठप्प रहेको खेलकुद गतिविधिलाई चलायमान गर्न खोपका लागि पहल शुरु गर्ने निर्णय गरेको छ। गण्डकी प्रदेशबाट आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सहभागी र १३ औं सागमा पदक विजेता गण्डकी प्रदेशका खेलाडीलाई कोभिड विरुद्धको खोपका लागि यूवा तथा खेलकुद मन्त्रालय मार्फत पहल गर्ने भएको बैठकमा औंल्याईएको थियो। 

प्रकाशित: २८ जेष्ठ २०७८ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App