७ वैशाख २०८१ शुक्रबार
खेल

नतिजाभन्दा प्रदर्शनलाई प्राथमिकता

अस्ट्रेलियाविरुद्धको खेलसँगै नेपालले शुक्रबार कतार विश्वकप २०२२ र चीन एसियन कप २०२३ को छनोट चरण अन्त्य गर्दै छ। यस्तोमा नेपालको लक्ष्य छ, छनोट चरणको सुखद बिदाइ गर्नु।

४ अवे र १ होम म्याचमा मात्र १ जित हात पारेको नेपालले कुवेतमा गत साताबाट सुरु समूह ‘बी’ को छनोट चरणमा कम्तीमा चौथो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा पर्दै एसियन कप २०२३ को तेस्रो चरणको लक्ष्य लिएको थियो। गत बिहीबार पहिलो खेलमा चाइनिज ताइपेईविरुद्ध २–० को जितका साथ नेपालले चौथो स्थानको टोलीमध्ये उत्कृष्ट ४ मा बस्दै तेस्र्रो चरण प्रवेशको सम्भावना जीवित राखेको थियो। तर सोमबार जोर्डनविरुद्ध ३–० को हार बेहोरेसँगै नेपालको त्यो सम्भावना न्यून बनेको थियो। नेपालले एसियन कप २०२३ छनोटको प्लेअफ खेल्नुपर्ने पक्का भएको थियो।

कोभिड १९ महामारीको दोस्रो लहरका कारण एएफसीले छनोट चरणका बाँकी सबै खेल सेन्ट्रल भेन्युमा गराउने निर्णय गरेसँगै नेपालले बाँकी रहेका तीन म्याच सेन्ट्रल भेन्युका रूपमा कुवेतमा खेल्न बाध्य भएको हो।

त्यसैले अस्ट्रेलियाविरुद्धको अन्तिम छनोट खेल नेपालका लागि प्रतियोगितामा सुखद अन्त्य गर्ने अवसर बन्न सक्छ। सन् २०१९ को अक्टोबर १० मा भएको पहिलो लेगमा नेपालले अस्ट्रेलियालाई ५–० को नतिजा सुम्पिएको थियो। नेपाल ७ खेलको समाप्तिमा २ जित र ५ हारको नतिजापछि समूह ‘बी’ को चौथो स्थानमा छ। अस्ट्रेलिया भने ६ खेलमा शतप्रतिशत नतिजाका साथ १८ अंक हासिल गरेर शीर्ष स्थानमा छ र टोलीले शीर्ष स्थानमा बस्दै विश्वकपको तेस्रो चरण प्रवेश गर्ने सम्भावना बलियो पारिसकेको छ। समान ६ खेलमा क्रमशः १३ र १० अंक जोडेका जोर्डन र कुवेत क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। चाइनिज ताइपेईले भने ६ खेलमा अंक खाता खोल्न सकेको छैन। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियाली पावर हाउस अस्ट्रेलियाविरुद्धको उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन्।  

‘अस्टेलियाविरुद्ध नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा म विश्वस्त छु,’ अलमुताइरीले भने, ‘हामी नतिजाभन्दा पनि राम्रो प्रदर्शनमा केन्द्रित छाैं। पछिल्लो तीन खेल (इराकविरुद्धको मैत्रीपूर्ण खेल र चाइनिज ताइपेई तथा जोर्डनविरुद्धको विश्वकप छनोट खेल) मा राम्रो प्रदर्शन गरेका छाैं। हाम्रो रणनीति र खेल्ने शैलीमा धेरै परिवर्तन आइसकेको छ। छनोट चरणको अन्तिम खेलमा हामी अस्ट्रेलियाविरुद्ध उत्कृष्ट प्रदर्शनका साथ नेपाली समर्थकलाई खुसी दिन चाहन्छाैं।’

अल्मुताइरीले अस्ट्रेलियाविरुद्धको खेलमा पनि युवा खेलाडीलाई अवसर दिने संकेत गरेका छन्।

‘अस्ट्रेलिया बलियो प्रतिद्वन्द्वी हो,’ अल्मुताइरीले थपे, ‘हाम्रो टोली युवा जोसले भरिएको छ। त्यसैले शुक्रबार युवा टोलीले अर्को एउटा खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्नेमा म आशावादी छु।’ एसियाको पावर हाउसका रूममा रहेको अस्ट्रेलिया फिफा वरीयतामा ४१औं स्थानमा छ भने नेपाल १ सय ७१ औं स्थानमा। अस्ट्रेलियाको टोलीमा अधिकांश युरोपका विभिन्न देशमा लिग खेल्ने खेलाडी छन्, त्यसैले उनीहरूको आक्रमण रोक्नु नेपालको रक्षापंक्तिका लागि कठिन बन्न सक्छ।

प्रकाशित: २८ जेष्ठ २०७८ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App