१६ चैत्र २०८० शुक्रबार
खेल

युरो कप २०२०ः चारदेखि चौबीस टोली

कोभिड–१९ महामारीका कारण एक वर्ष पछि धकेलिएको युरो कप २०२० शनिबारबाट सुरु हुँदै छ। युरोपेली फुटबलको महाकुम्भ ६०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा युरोपेली फुटबल संघ (युइएफए) ले यस पटक विभिन्न ११ राष्ट्रका ११ सहरमा आयोजना गर्दैै छ। सन् १९६० बाट सुरु भएको युरो कपको यो १६औं संस्करण हो।  

स्पेन र जर्मनी युरो कपका सर्वाधिक सफल टोली हुन्। हालसम्म स्पेन र जर्मनीले समान ३ पटक प्रतियोगिताको उपाधि जितेका छन्। फ्रान्सले दुई पटक युरो कप जितेको छ। त्यस्तै सोभियत युनियन, चेकोस्लोभाकिया, ग्रिस, डेनमार्क, पोर्चुगल, इटाली र नेदरल्यान्ड्सले समान एक पटक युरो कप जितेका छन्। पोर्चुगल युरो कपको साबिक विजेता हो।

प्रतियोगिताको पहिलो पाँच संस्करण (सन् १९६० देखि सन् १९७६) मा ४ टोली सहभागी थिए। सन् १९८० को छैटाैं संस्करणदेखि सन् १९९२ को १२औं संस्करणसम्म प्रतियोगितामा ८ टोली सहभागी थिए। सन् १९९६ बाट युरो कपमा सहभागी टोलीको संख्या बढाएर १६ पुर्‍याइएको थियो। सन् २०१२ सम्म युरो कपमा सहभागी टोलीको संख्या १६ रहेको थियो। सन् २०१६ को फ्रान्स युरो कपबाट भने सहभागी टोलीको संख्या २४ पुर्‍याइएको थियो।

१५औं संस्करणसम्मका आयोजक र विजेता

पहिलो संस्करण, सन् १९६०, फ्रान्स

युरो कपको पहिलो संस्करण सन् १९६० मा फ्रान्समा आयोजना भएको थियो। युरोपियन नेसन्स कपको रूपमा खेलाइएको पहिलो संस्करणमा चार टोलीको सहभागिता थियो। पुनरागमनमा युगोस्लाभियालाई २–१ ले हराउँदै सोभियत युनियनले उपाधि जितेको थियो। पेरिसमा भएको फाइनल खेलमा १७ हजार ९ सय ६६ दर्शक उपस्थित थिए।

दोस्रो संस्करण, सन् १९६४, स्पेन

साबिकको विजेता सोभियत युनियनलाई २–१ ले पराजित गर्दै आयोजक स्पेनले सन् १९६४ मा दोस्रो संस्करणको युरो कप जितेको थियो। मड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको फाइनल खेलमा ७९ हजार १ सय १५ दर्शकले अवलोकन गरेका थिए। जुन युरो कपको फाइनलमा उपस्थित भएको अहिलेसम्मकै सर्वाधिक दर्शक संख्या हो।

तेस्रो संस्करण, सन् १९६८, इटाली

इटालीले सन् १९६८ मा घरेलु मैदानमा भएको युरो कपको तेस्रो संस्करणको ताज पहिरिएको थियो। यस संस्करणको फाइनल खेल दुई पटक खेलाइएको थियो। १–१ को बराबरीमा सकिएपछि दोस्रो पटक फाइनल खेल खेलाइएको थियो। रोममा भएको फाइनलमा इटालीले युगोस्लाभियालाई २–० ले हराएको थियो  

चौथो संस्करण, सन् १९७२, बेल्जियम

४ संस्करणमध्ये सोभियत युनियन प्रतियोगितामा तेस्रो पटक फाइनल प्रवेश गरे पनि फाइनलमा भने पश्चिम जर्मनीसँग ३–० ले निराश भएको थियो।

पाँचौं संस्करण, सन् १९७६, युगोस्लाभिया

सन् १९७६ मा युगोस्लाभियामा भएको युरो कपको पाँचाैं संस्करणको उपाधि चेकोस्लोभाकियाले जितेको थियो। फाइनल खेलमा चेकोस्लोभाकियाले साबिक विजेता पश्चिम जर्मनीलाई पेनाल्टी सुटआउटमा ५–३ ले हराएको थियो। निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

छैटौं संस्करण सन् १९८०, इटाली

स्टाडियो ओलम्पियाकोमा भएको सन् १९८० को युरो कप पश्चिम जर्मनीले जितेको थियो। छैटाैं संस्करणमा दोस्रो पटक युरो कप विजेता बन्ने क्रममा पश्चिम जर्मनीले फाइनलमा बेल्जियमलाई २–१ ले हराएको थियो।

साताैं संस्करण, सन् १९८४, फ्रान्स

पहिलो संस्करणको आयोजक फ्रान्सले सन् १९८४ मा दोस्रो पटक प्रतियोगिताको आयोजना ग¥यो। पहिलो पटक उपाधि जित्ने क्रममा फ्रान्सले स्पेनलाई २–० ले हराएको थियो।

आठौं संस्करण, सन् १९८८, जर्मनी

जर्मनीमा सम्पन्न युरो कप १९८८ को विजेता नेदरल्यान्ड्स बनेको थियो। पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने क्रमममा नेदरल्यान्ड्सले सोभियत युनियनलाई २–० ले हराएको थियो।

नवौं संस्करण, सन् १९९२, स्विडेन

पहिलो पटक युरो कपको विजेता बन्ने क्रममा डेनमार्कले सन् १९९२ मा जर्मनीलाई २–० ले निराश पारेको थियो। युगोस्लाभिया प्रतियोगिता खेल्न अयोग्य साबित भएपछि डेनमार्कले प्रतियोगितामा सहभागिताको अवसर पाएको थियो।

दशौं संस्करण, सन् १९९६, इङ्ल्यान्ड

सन् १९९६ को इङ्ल्यान्ड युरो कपको ताज चेक रिपब्लिकले पहिरिएको थियो। वेम्बली रंगशालामा भएको फाइनलमा चेक रिपब्लिकले जर्मनीको चुनौती २–० ले पन्छाएको थियो।

११औं संस्करण, सन् २०००, नेदरल्यान्ड्स

सन् २००० को युरो कप फ्रान्सले जितेको थियो। दोस्रो पटक युरो कपको विजेता बन्ने क्रममा फ्रान्सले इटालीलाई २–१ ले हराएको थियो।

१२औं संस्करण, सन् २००४, पोर्चुगल

ग्रिसले सन् २००४ मा आयोजक पोर्चुगलाई १–० ले हराउँदै पहिलो पटक युरो कपको उपाधि जितेको थियो। ग्रिसको यो नै पहिलो अन्तर्राष्ट्रिय उपाधिसमेत थियो।

१३औं संस्करण, सन् २००८, अस्ट्रिया र स्विट्जरल्यान्ड

फर्नान्डो टोरेसको निर्णायक गोलमा स्पेनले जर्मनीलाई हराउँदै सन् २००८ को युरो कप जितेको थियो। स्पेनले प्रतियोगिता जितेको यो दोस्रो पटक थियो।

१४औं संस्करण, सन् २०१२, पोल्यान्ड र युक्रेन

पोल्यान्ड र युक्रेनले संयुक्त रूपमा आयोजना गरेको युरो कप २०१२ मा साबिक विजेता स्पेनले उपाधि रक्षा गरेको थियो। पहिलो पटक युरो कपको उपाधि रक्षा गर्ने टोली बन्ने क्रममा स्पेनले इटालीमाथि ४–० को सानदार जित हात पारेको थियो।

१५औं संस्करण, सन् २०१६, फ्रान्स

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले पहिलो पटक उपाधि जित्ने क्रममा फाइनलमा आयोजक फ्रान्सलाई १–० ले हराएको थियो।

प्रकाशित: २८ जेष्ठ २०७८ ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App