coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कोपा अझै अनिश्चित

कोपा अमेरिकाको मिति पाँच दिन बाँकी रहँदा आयोजक ब्राजिलको सर्वोच्च अदालतले आयोजना रोक्न परेको रिटमा ११ न्यायाधीशको पूर्ण इजलासले फैसला गर्ने निर्णय सुनाएको छ।  

अदालतको यो निर्णयसँगै अर्जेन्टिनाबाट ब्राजिलमा सरेको कोपा अमेरिकाको आयोजना निर्धारित मितिमा हुने आशंका उब्जिएको हो। यसैबीच ब्राजिलका खेलाडीले आयोजनाको विपक्षमा मत राखे पनि प्रतियोगिता बहिष्कार नगर्ने स्पष्ट पारेका छन्। साउथ अमेरिकन फुटबलको आयोजकले कोरोना महामारीका कारण कोपा अमेरिकाको आयोजनामा निकै संघर्ष गरिरहेको छ।  

गत साता कोपा अमेरिकाको आयोजना अन्तिम समयमा ब्राजिललाई सुम्पिएसँगै विभिन्न सकारात्मक र नकारात्मक टिप्पणी भइरहेका छन्। ब्राजिलको सर्वोच्च अदालतमा परेका दुई रिटमाथि बिहीबार छलफल हुने जनाएको छ। १० राष्ट्रले सहभागिता जनाउने प्रतियोगिता आगामी आइतबारबाट जुलाई १० सम्म हुँदै छ। प्रधानन्यायाधीश लुइज फुक्सले असाधारण केश भएकाले ११ न्यायाधीशबीच भर्चुअल पद्धतिबाट निचोड निकालिने बताएका छन्। यसअघि ब्राजिलका खेलाडीले कोपा अमेरिका आयोजनाको विपक्षमा रहे पनि प्रतियोगिता बहिष्कार गर्न नहुने संयुक्त विज्ञप्तिमार्फत जनाएका छन्।

‘हामी कोपा अमेरिकाको विपक्षमा छौं। यद्यपि हामीले प्रतियोगिता आयोजना भए ब्राजिलको टोलीबाट नखेल्ने भनेका छैनौं,’ सामाजिक सन्जालमा ब्राजिलका खेलाडीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्। कोभिड १९ को दोस्रो लहर देशव्यापी रूपमा फैलिएसँगै संक्रमितको संख्या वृद्धि भइरहँदा कोपा अमेरिका आयोजना गर्नु उपयुक्त नहुने खेलाडीले तर्क राखेका थिए। यही विषयलाई लिएर चर्को आलोचना भइरहेको अवस्थामा ब्राजिलले बहिष्कार गर्नु उपयुक्त नभएको भन्दै टोलीले कोपा खेल्ने पक्का गरेको हो।  

कोपा अमेरिका यस्तो अवस्थामा आयोजना गर्नु उपयुक्त समय होइन। आयोजनाको विषयमा हामी विपक्षमा उभिएका हौं भन्दै नेइमार र टोली तथा प्रशिक्षक टिटेले त्यहाँका सञ्चारमाध्यममा बताएका छन्। साथै उनीहरूले साउथ अमेरिकन फुटबल कन्फडेरेसन कन्मेबलमाथि आलोचना गरेका छन्।  

‘कन्मेबलले कोपा अमेरिका आयोजना गर्न लिएको निर्णयमा हामी असन्तुष्ट छौं,’ उनीहरूले भनेका छन्, ‘विषम परिस्थितिमा आयोजना गर्नु उपयुक्त समय होइन। महमारी अझै नियन्त्रणमा आउन सकेको छैन। संक्रमणदर निकै फैलिने क्रममा छ।’

विश्वभर फैलिएको कोरोना भाइरसका कारण कोपा अमेरिका एक वर्ष पछि धकेलिएको थियो। अर्जेन्टिनामा तय भएको प्रतियोगिता कोरोनाकै कारण ब्राजिलमा सारिएको हो। ब्राजिलले आयोजना स्थलको पनि टुङ्गो लगाइसक्दा सर्वोच्चको अदालतमा परेको मुद्दाले थप अन्योल बनाएको छ। २०१४ को विश्वकप आयोजक ब्राजिलमा पनि कोरोना भाइरसको संक्रमण दर उच्च गतिमा फैलिने क्रममा छ। त्यहाँका एक विशेषज्ञका अनुसार प्रतियोगिता आयोजना भए कोरोनाको भयावह थप बढ्न सक्ने बताएका छन्। महामारीले ब्राजिलमा ४ लाख ७५ हजारभन्दा बढीको ज्यान गइसकेको छ। यसै कारण प्रतियोगिता आयोजना गर्नु गौण विषय भएको कति विशेषज्ञले बताएका हुन्।

प्रकाशित: २७ जेष्ठ २०७८ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App