१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फेडेररको अघिल्लो चरण शंकामा

चार दशकनजिक उमेर पुगेका रोजर फेडेररले चोटका कारण फ्रेन्च ओपनको करियर समाप्त गर्दै विम्बल्डनको नवौं उपाधि लक्ष्य राख्ने सम्भावना बढेको छ।

३९ वर्षे फेडेररले आफ्ना थकित घुँडालाई विश्राम दिँदै सम्भवतः विम्बल्डनलाई करियरको अन्तिम ग्रान्ड स्लाम बनाउनेछन्। दुई महिनाभित्र ४० वर्ष पुग्ने फेडेरर तेस्रो चरणमा तीन घन्टा ३० मिनेटको प्रतिस्पर्धा गरेर अन्तिम १६ मा पुगेका छन्। यद्यपि, २० ग्रान्ड स्लाम विजेता फेडेररका लागि आगामी चरणमा प्रतिस्पर्धा गर्न कठिन हुने देखिएको छ। उनले सोमबार क्वार्टरफाइनल चरण प्रवेशका लागि इटालीका माटियो बेरेट्टिनीविरुद्ध चुनौती प्रस्तुत गर्दै छन्। तर, सन् २०२० मा दुई पटक घुँडाको सर्जरी गरेका स्विस स्टार फेडेररले आगामी चरणको खेल खेल्नेप्रति द्विविधा प्रकट गरेका छन्।  

‘आगामी खेल खेल्न सक्छु कि सक्दिनँ भन्ने मलाई अहिलेसम्म थाहा छैन,’ फेडेररले भने, ‘मैले खेल्ने की नखेल्ने भन्ने निर्णय गर्नुपर्छ। अभैm घुँडालाई दबाब दिनु ठूलो जोखिम हुन सक्छ। आराम गर्नका लागि यो उपयुक्त समय पनि हुन सक्दछ।’ सम्भवतः यो संस्करणको फ्रेन्च ओपन उनका लागि अन्तिम हुन सक्ने अनुमान गरिएको छ। उनले विम्बल्डन खेलेपछि संन्यास घोषणा गर्न सक्ने चर्चा पनि चलिरहेको छ। ‘हरेक खेलपछि आफ्नो अवस्थाबारे ध्यान दिनुपर्ने आवश्यकता छ। मेरो घुँडाको अवस्था कस्तो हुन्छ, त्यसले नै फ्रेन्च ओपनको यात्रा निर्धारण गर्नेछ,’ फेडेररले भने, ‘आजको खेलपछि केही गाह्रो परिस्थिति सिर्जना भएको पक्कै हो।’  

उनले ५९औं वरीयताका डोमिनिक कोइपफेरसँग ७–६(७–५), ६–७(३–७), ७–६ (७–४)  र ७–५ को निकै संघर्षपूर्ण जित निकाले। जसको कारणको उनले घुँडामा निकै दबाव महसुस गरेका छन्। फ्रान्सेली सरकारले कोभिड–१९ का कारण कफ्र्यु लगाएकाले समर्थकबिना खेल सञ्चालन भएको थियो। गत वर्षको सुरुआतमा अस्ट्रेलियन ओपन खेलेपछि फेडेररले तेस्रो प्रतियोगिता मात्र खेलेका छन्। उनले विम्बल्डन आफ्ना लागि मुख्य लक्ष्य हुने पनि स्पष्ट पारेका छन्।  

जुन २८ देखि सुरु हुने विम्बल्डनमा उनको नवौं उपाधि लक्ष्य रहेको छ। सन् १९९९ मा फ्रेन्च ओपनमा डेब्यु गरेका फेडेररले सन् २००९ मा पहिलो पटक यस प्रतियोगिताको उपाधि जितेका थिए। राफाइल नाडालसँगै समान २० ग्रान्ड स्लाम जितेका फेडेरर पनि अर्को उपाधि थप्ने योजनामा छन्।  

स्लोभानियालाई सफलता

टमरा जिदानसेकले आइतबार रोमानियाकी सोरना किस्ट्र्यालाई ७–६ (७–४) र ६–१ ले हराउँदै ग्रान्ड स्लामको क्वार्टरफाइनलमा पुग्ने पहिलो स्लोभानियाकी महिला खेलाडी भइन्। ८५औं वरीयतामा रहेकी २३ वर्षीया टमराले पहिलो चरणमा युएस ओपनकी पूर्वविजेता बियान्सा एन्ड्रिस्क्युलाई स्तब्ध बनाएकी थिइन्। उनी ठूला प्रतियोगितामा अहिलेसम्म दोस्रो चरण पार गर्न असफल रहँदै आएकी थिइन्।

त्यस्तै रसियाकी एनास्टासिया पाभिलुचेनकोभा पहिलो सेटमा पछि परे पनि उत्कृष्ट पुनरागमनका साथ क्वार्टरफाइनलमा पुगेकी छन्। आइतबार भिक्टोरिया अजारेन्कालाई ५–७, ६–३ र ६–२ ले हराउँदै एनास्टासिया सन् २०११ पछि पहिलो पटक फ्रेन्च ओपनको क्वार्टरफाइनलमा पुग्न सफल भइन्। उनले अन्तिम चारको यात्राका लागि सेरेना विलियम्स र इलिना रिबाकिनाबीचको विजेतासँग खेल्नेछिन्।

प्रकाशित: २४ जेष्ठ २०७८ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App